काठमाडौं– काठमाडौंका सुमन श्रेष्ठ (नाम परिवर्तन) सन् २०१४ मा एमबिबिएस अध्ययनका लागि चीन गए।
सन याट सेन युनिभर्सिटीमा एमबिबिएस अध्ययन पुरा गरी इन्टर्नसिप गर्दै थिए। सन् २०१९ को डिसेम्बरमा चीनमा कोरोना संक्रमण देखियो। कोरोना संक्रमण व्यापक रुपमा फैलिएपछि चीनका विभिन्न मेडिकल कलेजहरुमा अध्ययन गरीरहेका तथा इन्टर्नसिप गरिरहेका विद्यार्थीहरुको पढाइ र इन्टर्नसिप दुवै रोकियो।
त्यतिबेला श्रेष्ठको इन्टर्नसिप पुरा हुन ४ महिनामात्र बाँकी थियो। इन्टर्नसिप नै रोकिएपछि श्रेष्ठ नेपाल फर्किए।
विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण फ्रेबुअरी २०१९ मा नेपाल आएका श्रेष्ठले ८ महिनाको इन्टर्नसिप भने पुरा गरेका थिए।
उनले गत सेप्टेम्बरमा नेपाल मेडिकल काउन्सिको चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा दिए र उत्तिण पनि भए।
तर चीनमा ४ महिनाको इन्टर्नसिप बाँकी रहेकाले उनको शैक्षिक प्रमाणपत्र र चिकित्सक प्रमाणपत्र भने छैन।
कोरोना संक्रमणपछि चीन सरकारले गत वर्ष देखि नै विद्यार्थी भिसा बन्द गरेको छ। श्रेष्ठको भिसाको समयअवधि पनि सकिएको छ।
उता चीनका मेडिकल कलेजहरुले अनलाइन कक्षा चलाए। यस्तै इन्टर्नसिप गराइरहेका विद्यार्थीहरुलाई पनि अनलाइनबाटै इन्टर्नसिप गर्ने व्यवस्था गरे।
तर, नेपाल मेडिकल काउन्सिलले प्रयोगगात्मक र अस्पतालमा गई बिरामीको हेरचाह गर्नुपर्ने विषयमा कलेज वा अस्पतालमा उपस्थित भई हाजिर भएर गरिएको अध्ययनलाई मात्र मान्यता दिने निर्णय भएको सुनायो।
नेपालमा पनि २०७६ चैतदेखि झण्डै ७ महिना लकडाउन र निषेधाज्ञा भयो। अवस्था सामान्य भएपछि शैक्षिक गतिविधिहरु संचालन भए।
तर, एमबिबिएस अध्ययन पुरा गरी नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षा समेत उत्तिण गरिसकेका श्रेष्ठसँग ४ महिनाको इन्टर्नसिप बाँकी रहेकाले चिकित्सा अभ्यास भने गर्न पाएका छैनन्।
‘कोरोना महामारीको कारण गत वर्षको फागुनमा इन्टर्नसिप गर्दागर्दै छोडेर नेपाल आइयो,’ श्रेष्ठले स्वास्थ्यखबरसँग भने, ‘४ महिना मात्र बाँकी भएको इन्टर्नसिप पुरा गर्न नपाएको अब १३ महिना भइसक्यो।’
उनका अनुसार कोरोना महामारी नभएको भए इन्टर्नसिप जुलाइमा पुरा हुने थियो। यस्तै इन्टर्नसिपका लागि चीनमा रहन भिसा सेप्टेम्बरसम्मका लागि मात्र थियो ।
श्रेष्ठको जस्तै समस्या भएका सन् २०१४ ब्याचमा नेपाली विद्यार्थी १५२ जना छन्। जो चीनका विभिन्न मेडिकल कलेजहरुमा एमबिबिएस अध्ययन पुरा गरी ८ महिनाको इन्टर्नसिप समेत पुरा गरिसकेका छन्। ४ महिनामात्र इन्टर्नसिप गर्न बाँकी रहेपनि उनीहरुको भिसाको समयअवधि सकिएको छ। ती १५२ जना विद्यार्थीमध्ये करिव ५५ जना विद्यार्थी २०७६ सालको फागुनमा सरकारले नै उद्धार गरि ल्याइएको विद्यार्थीहरु छन्।
यस्तै ४५ जना विद्यार्थीहरुले नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता परीक्षा समेत पास गरिसकेका छन्।
तर, उनीहरुको बाँकी रहेको इन्टर्नसिप भने कहिले पुरा गर्न पाउने भन्ने अझै यकिन भएको छैन। जसले गर्दा नेपाली विद्यार्थीहरु अन्यौलमा छन्।
‘त्यो समयमा चीनमा कोरोनाको महामारी भएकाले सरकारले नै हामीलाई उद्धार गरेर नेपाल ल्याएको थियो, सरकारले उद्धार गरेकोमा खुसी भएर आयौ,’ नाम नबताउने सर्तमा अर्की एक विद्यार्थीले भनिन्, ‘अहिले भिसा पनि सकियो, चीनले विद्यार्थीका लागि भिसा दिएको छैन, हाम्रो इन्टर्नसिप अन्यौल भयो।’
कोरोना संक्रमणको कारण रोकिएको इन्टर्नसिप पुरा गर्नको लागि नेपालमै इन्टर्नसिप गर्न पाउने व्यवस्था गरिदिनुपर्ने वा चीन सरकारसँग पहल गरी चीनमा पठाउन पहल गर्न आग्रह गर्दै उनीहरु नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पटक–पटक पुगेका छन्।
तर उनीहरुको समस्या भने कुनै निकायले सुनुवाइ नगरेको विद्यार्थीहरुको गुनासो छ।
‘हामीले मेडिकल काउन्सिल, चिकित्सा शिक्षा अयोग, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पनि हाम्रो समस्या पटक–पटक राखिसकेका छौं,’ नाम नबताउने सर्तमा अर्का एक विद्यार्थीले भनिन्, ‘सरकारले हाम्रो समस्यालाई वेवास्ता गरेको छ, हाम्रो भविष्य के हुने हो हामी अन्यौलमा छौं।’
नेपाल मेडिकल काउन्सिलले २०६४ साल बैशाख २५ गते इन्टर्नसिप सम्बन्धी निर्णय गरेको छ।
जसमा जुन संस्थाले एमबिबिएस तथा बिडिएस वा सो सरहको कोर्ष अध्ययन गराउँछ सोही संस्थाले अनिवार्य रुपमा इन्टर्नसिपको व्यवस्था गर्नुपर्ने उल्लेख छ।
‘जुन संस्थाले एमबिबिएस वा बिडिएस वा सो सरहको कोर्ष अध्ययन गराउँछ सोही संस्थाले अनिवार्य रुपमा इन्टर्नसिपको व्यवस्था गर्नुपर्नेछ। अब उप्रान्त न्यूनतम ४.५ वर्षको मेडिकल/डेन्टल विषयको अध्ययन पश्चात आफ्नै संस्थामा १ वर्षको इन्टर्नसिपको व्यवस्था भएका नेपाल त्रि वा बाहिरका मेडिकल कलेजहरुमा मात्र विद्यार्थी पढ्न जानुपर्ने वा पठाउनु पर्नेछ।’
काउन्सिलले यही नियम अनुसार चीनमा एमबिबिएस अध्ययन गरेका विद्यार्थीलाई सम्बिन्धत देशको सम्बन्धित कलेजमा नै इन्टर्नसिप गर्नुपर्ने भन्दै आइरहेको छ।
तर काउन्सिलको २०६४ कै इन्टर्नसिप सम्बन्धि निर्णयको बुँदा नम्बरमा ३ मा ‘विदेशमा अध्ययन गरेर नेपालमा नै इन्टर्नसिप गर्नुपर्ने कुनै विशेष वा बाध्यात्मक परिस्थिती भएमा सो परिस्थितीको जानकारी दिदै विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसिप गर्न पाउने छ। यसप्रकारको इन्टर्नसिप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेको छ।
काउन्सिलको यही निर्णयलाई आधार मान्दै कोरोना संक्रमणको अवस्थालाई बाध्यात्मक परिस्थिती मानि नेपालमै इन्टर्नसिप गर्न पाउने व्यवस्था गरिदिनुपर्ने विद्यार्थीहरुको माग छ।
तर, आफुहरुको समस्या समाधानका लागि कुनै पनि निकायले सुनुवाइको लागि पहल नगरेको भन्दै आइतबारदेखि उनीहरुले नेपाल मेडिकल काउन्सिलको भवन परिसरमा धर्नामा बसेका छन्।
चीनमा इन्टर्नसिप गर्न छुटाएर नेपालमै रहेका विद्यार्थीहरुको समस्याबारे शिक्षा मन्त्रालयमा छलफल समेत भएको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बताए।
उनले भने, ‘चीनमा पढेका विद्यार्थीको समस्याबारे शिक्षा मन्त्रालयमा करिव दुईसाता अघि नै छलफल त भएको थियो, तर उनीहरुलाई चीनमा पठाउन पहल गर्ने वा नेपालमै इन्टर्नसिप गर्न दिने के गर्ने भनेर कुनै निर्णय भइसकेको छैन।’
नेपाल मेडिकल काउन्सिलका सदस्य डाक्टर शिवजी पौडेलका अनुसार शिक्षा मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई ती १५२ जना विद्यार्थीको समस्या समाधानका लागि नजिर नबस्ने गरी प्रक्रिया अघि बढाउनु भनेर पत्राचार समेत गरिसकेको छ।
तर, चिकित्सा शिक्षा आयोग गठन भइसकेपछि काउन्सिलको कार्यक्षेत्र केही परिवर्तन भएको र चीनमै पढेका अन्य विद्यार्थीहरुको पनि गुनासो आइरहेकाले काउन्सिलले दीर्घकालिन समस्या नपर्ने गरी निर्णय गर्नुपर्ने उनले बताए।
‘उहाँहरुको विषयमा एकचरण छलफल पनि भएको थियो, काउन्सिलले पनि विद्यार्थीहरुसँग अनौपचारीक छलफल पनि गरेको थियो,’ डा पौडेलले भने, ‘शिक्षा मन्त्रालयबाट नजिर नबस्ने गरी निर्णय गर्नु भनेर सन् २०१४ का विद्यार्थीको हकमा आएको छ, यो समस्या काउन्सिलले दीर्घकालिन रुपमा समाधान गर्नुपर्छ। यो समस्या अहिले २०१४ को ब्याचको मात्र छैन।’
डा पौडेलका अनुसार सन् २०१४ ब्याचका विद्यार्थीहरुको हकमा नेपालमै इन्टर्नसिप गर्न दिने वा नदिने विषयमा आगामी सोमबार मेडिकल काउन्सिलको पूर्ण बैठकमा छलफल गरिने जानकारी दिए।
‘विद्यार्थीहरुको चीनमा फर्किने ढोका तत्काललाई बन्द भइसकेपछि अन्यौलमा राखेर पनि हुँदैन, उनीहरुको समस्या समाधान गर्नुपर्छ भन्ने कुरामा दुईमत छैन,’ डा पौडेलले भने, ‘उनीहरुको समस्याको विषयमा हामीले काउन्सिलको पूर्ण बैठकमा छलफल गछौं।’
डा पौडेलका अनुसार ती विद्यार्थीहरुलाई नेपालमै इन्टर्नसिप गराउन विश्वविद्यालय, तथा मेडिकल कलेजमा सिटको व्यवस्थापन गर्ने जिम्मेवारी चिकित्सा शिक्षा आयोगको भएकाले आयोगसँग पनि समन्वय गर्नुपर्ने उनको भनाइ छ।
उनले भने, ‘काउन्सिलले मात्र निर्णय गरेर पनि हुँदैन, उनीहरुको समस्या समाधान गर्न आयोगसँग समन्वय गर्नुपर्छ, यसको विषयमा के गर्ने भनेर पूर्ण बैठकमा नै छलफल हुन्छ।’
सन् २०१४ को ब्याच जस्तै सन् २०१५ मा अध्ययन गरेका विद्यार्थीले समेत इन्टर्नसिपको माग गरेका छन्। तर उनीहरुको हकमा भन्दा मुख्य समस्या सन् २०१४ का विद्यार्थीहरुको भएको भन्दै त्यसको व्यवस्थापनका लागि काउन्सिलले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ।