काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले सबै जिम्मेवार नभए केही हप्तामै कोरोना संक्रमितको उपचार व्यवस्थापनमा स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आउनसक्ने बताएका छन्।
स्वास्थ्यखबरको कार्यक्रम स्वास्थ्य संवादमा कुराकानी गर्दै डा अधिकारीले संक्रमण रोक्न सबै निकाय जिम्मेवार नभए केही हप्तामै स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आउन सक्ने बताएका हुन्।
कोरोना संक्रमणको दोस्रो लहर फैलिसकेको भन्दै डा अधिकारीले संक्रमण फैलिएका शहरी क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित हुनसक्ने पनि बताए।
कोरोना संक्रमणको दर कम गर्न सरकारले तोकेका मापदण्ड तथा आदेश पूर्ण रुपमा पालना गर्नु अपरिहार्य रहेको डा अधिकारीको भनाइ छ।
नयाँ प्रकार (भेरियन्ट)को कोरोना भाइरस यसअघिको कोरोना संक्रमण भन्दा जटिल भएको डा अधिकारीले बताए। उनका अनुसार अघिल्लो भन्दा नयाँ भेरियन्टको संक्रमण लहरमा कूल परीक्षणमध्ये संक्रमित हुने दर, संक्रमितमा लक्षण र सिकिस्त हुने तथा मृत्युदर समेत बढी देखिएको छ।
डा अधिकारीले संक्रमितको उपचार तथा व्यवस्थापनका लागि सरकारले सम्भव भएसम्मको तयारी गरिरहेको समेत जानकारी दिए।
उनले अहिलेको अवस्थामा आफू बाहेक सबै व्यक्तिलाई संक्रमित हुनसक्ने आशंका गरी सोही अनुसार ‘एसएमएस’ अर्थात सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने र हातको सरसफाइ तथा स्यानिटाइजरको प्रयोगमा विशेष ध्यान दिन आवश्यक रहेको बताए।
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था तथा संक्रमितको उपचार र व्यवस्थापन कसरी भइरहेको छ ? के कारणले नेपालमा कोरोना संक्रमण फैलियो ? कोरोना संक्रमण नियन्त्रणमा हामी कहाँ चुक्यौ ? कोरोना परीक्षणका लागि किट तथा संक्रमितको उपचारका लागि औषधिको पर्याप्तता कस्तो छ ? कोरोना संक्रमण रोकथामका लागि सर्वसाधारणले कस्तो भूमिका निवार्ह गर्न जरुरी छ ? भन्ने लगायत विषयमा स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर कुमार अधिकारीसँग स्वास्थ्यखबरका लागि रिता लम्सालले कुराकानी गरेकी छिन्।
प्रस्तुत छ डा अधिकारीसँग गरिएको भिडियो वार्ताः