काठमाडौं- यमकुमारी थापा भेरी अस्पतालको कोभिड वार्डमा सेवारत स्टाफ नर्स हुन्। उनी कोराना संक्रमण सुरु भएदेखि कोभिड वार्डमा काम गरिरहेकी छिन्।
नर्सिङ सेवाको जागिरे जीवन चार वर्षअघि भेरीबाट नै सुरु गरेकी २३ वर्षे यमकुमारीले कोभिडले पछिल्लो समय स्थिति भयाभह भएको देखिरहेकी छिन्।
नेपालगन्जको गर्मी र सुरक्षाको लागि टाउकोदेखि खुट्टासम्म छोपिने गरी लगाउनुपर्ने पिपिइ। यो समयमा कहिँकतैबाट हावा नछिर्ने पिपिइले बेहोस बनाउला जस्तो हुने उनी सुनाउँछिन्। तर, कोभिडका कारण श्वास फेर्न नसकेर सिकिस्त भएका बिरामी देखेपछि यमकुमारी र उनका नर्स साथी आफ्ना पिडा बिर्सेर संक्रमितको सेवामा खटिन्छन्।
आफू र आफूजस्तै नर्सिङ साथीहरुले दिनरात सेवा गर्दा पनि कोभिड बिरामीका आफन्तले गर्ने नराम्रो व्यवहारले महामारीका समयमा थप मानसिक तनाव दिने गरिरहेको उनी बताउँछिन्। कोभिड वार्डमा एक वर्षभन्दा बढी समयदेखि सेवारत उनले स्वास्थ्यखबरसँग आफ्नो अनुभव साटेकी छिन्। उनको अनुभव उनकै शब्दमाः
पहिले त एकदमै डर लाग्यो
कोरोना भाइरस भर्खर भर्खर नेपालमा देखिँदा त एकदमै डर लाग्यो। अस्पतालमा बिरामी आउँदा पनि अब हामीलाई सर्छ कि? के होला कस्तो होला भन्ने एकदमै डर लाग्थ्यो। डरैडरमा काम गरिन्थ्यो। पछि आफूलाई पनि संक्रमण भयो। त्यो समयमा पनि काम गर्यौं। घरका सदस्यहरु संक्रमित भई निको हुनुभयो। अनि डर पनि कम हुँदै गयो। पहिले धेरै लक्षण सहितका संक्रमित पनि थिएन। भएका पनि निकै कम थिए। धेरै बिरामी निको पनि भए।
सुरुसुरुमा पिपिइहरु पनि थिएन। नर्मल गाउन, प्लाष्टिकको र्यापर लगाएर बिरामीको सेवा गरेका थियौँ। जसले गर्दा मानिसहरुले कोरोना केही होइन भन्ने गलत बुझे। यसलाई हल्लाका रुपमा पनि लिएका थिए। कोरोना भन्ने ज्वरो आउने, रुघाखोकी लाग्ने त हो नि भनेर गलत बुझेका थिए।
बिरामीको मृत्यु नहोस् भन्ने कामना
हरेक दिन घरबाट ड्युटीमा निस्कदा आज त कुनै पनि बिरामीको मृत्यु नहोस् भन्ने कामना गर्दै निस्कन्छु। मृत्यु संख्या घट्दै जाओस् भन्ने हो। अस्पतालको गेटमा पुग्दा कमसेकम आजको ड्युटी बिरामीलाई केही नहोस् भन्ने कामना गर्छु। तर, पछिल्लो समयमा हामीले कामना गरेको जस्तो भएको छैन। धेरै बिरामीले श्वास सदाका लागि छोडिरहनु भएको छ। हरेक दिन कोभिडसँग हार्नेहरुको संख्या बढ्दो छ। यो अवस्थाले हामी उहाँको सेवामा खटिरहेका नर्सहरुलाई निकै दुखी बनाउँछ।
पहिलो भन्दाअहिले कोभिडका गम्भीर लक्षण सहितका बिरामी बढेका छन्। अस्पतालमा आएका धेरै सिकिस्त बिरामीको मृत्यु भइरहेको छ।
अहिले अस्पतालमा आउने बिरामीहरु धेरैलाई निमोनिया भइसकेको, श्वास फेर्न गाह्रो भइरहेको र अक्सिजन लेभल पनि निकै कम भइरहेकाहरु नै हुनुहुन्छ। सिकिस्त बिरामीको सख्ंया बढ्दा पछिल्लो समय अस्पतालका बेड भरिएका छन्। हाम्रो अस्पतालका सबै बेड पनि बिरामीले भरिएका छन्।
धेरै संक्रमित घरमै आइसोलेसनमा बस्नुभएको छ। अलिअलि गाह्रो हुँदा समेत अस्पतालमा आउने अवस्था अहिले छैन। अस्पतालमा गम्भीर बिरामीमात्र राख्दा समेत अपुगभएको छ। अलिअलि गाह्रो हुँदा अस्पताल नआएका बिरामी रोग च्यापे पछि मात्र ढिलो अस्पताल आउँदा मृत्यु भइरहेको छ।
अर्को कुरा संक्रमण यति भयाभह हुँदा पनि अझै मानिसहरुले लापरवाही गरिरहनु भएको छ। मेरै टोल वरपर पनि यस्तो छ। कति व्यक्ति पोजिटिभ भएर पनि आइसोलेनमा नबस्ने, गाउँ डुल्ने कारणले संक्रमण फैलिएको छ। जसले दीर्घ रोगीमा संक्रमण सर्दा उनीहरुलाई समेत गाह्रो भएको छ।
पछिल्लो समय मृत्यु हुनेमा दीर्घरोग सुगर, सिओपिडि, दम भएका संक्रमित पनि धेरै छन्।
अर्को मैले व्यक्तिगत रुपमा अनुभव गरेको कुरा तौल धेरै भएका मोटा व्यक्तिहरुलाई पनि धेरै गाह्रो भएको छ। शरीरमा अक्सिजनको मात्रा कम हुँदा घोप्टो परेर सुत्न भन्छौँ। मोटो ज्यान भएका व्यक्तिलाई लामो समय घोप्टो परेर सुत्न पनि समस्या हुन्छ।
कोही बिरामी बेडबाट तल खस्नु भयो भने पनि हामी पाँच, सातजना नर्सले उठाएर बेडमा राख्न सक्ने अवस्था हुँदैन कहिलेकाँही।
त्यसैले अस्पताल आउनुभएका वा संक्रमित हुनुभएका मोटोपन भएका व्यक्तिले झन् ख्याल राख्नुस भनेर काउन्सिलिङ पनि गरिरहन्छु।
कोभिड वार्डको ड्रेस फेर्यौं
यो समय बाँकेमा अत्याधिक गर्मी हुन्छ। ५,६ घण्टा पिपिइ लगाएर काम गर्दा शरीर नुहाए सरह निथ्रुक्क भिजेको हुन्छ। एक वर्षदेखि पिपिइ लगाएकाले हामीलाई बानी परेको छ। भर्खरभर्खर आउनुभएको बहिनीहरुले श्वास फेर्न गाह्रो भयो, चक्कर आयो भन्नुहुन्छ। अहिले हार्ड कभरको पिपिई आएको छ, त्यसमा हावा कहीँबाट जाँदैन त्यसले सास फेर्न गाह्रो हुन्छ।
महिनावारी भएको समयमा ड्युटी अन्य समयमाभन्दा बढी कष्टकर हुन्छ। त्यो पिपिइ लगाएर बिरामीलाई औषधि दिएर भ्याउँदा ब्लड ड्रेस बाहिर पिपिइमा समेत लागिसकेको हुन्छ। हाम्रो ड्रेस पनि सेतो छ। ब्लड लाग्ने र बिरामी, कुरुवाका अगाडि असजिलो भएपछि हामीले मेट्रोन म्यामलाई भनेर कोभिड वार्डको ड्रेस फेर्यौँ।
अहिले गाढा निलो ड्रेस छ। सेतोमा जस्तो गाढा निलोमा ब्लड लागिहाले झट्ट देखिदैँन भनेर चेन्ज गरेका हौँ। म्यामले पनि यो कुराम सहयोग गर्नुभयो।
अहिले भेरी अस्पतालका नर्सहरु मात्र होइन, मेसु सर, डाक्टरहरु समेत खटिरहनुभएको छ। हामी नर्सको संख्या कम भएकोले उहाँहरुले पनि हाम्रो काममा सहयोग गर्नुहुन्छ। तर, समस्या बिरामीको कुरुवाबाट हुन्छ।
हामीलाई थाहा छ, उहाँहरुको आफ्न्त बिरामी हुनुहुन्छ। गाह्रो भएको छ। हामी उहाँहरुकै लागि खटिएका छौँ। यो कुरा ९० प्रतिशत कुरुवाले बुझ्नुहुन्न। कि बुझेर पनि नबुझेजस्तो गर्नुहुन्छ।
बिरामीलाई गाह्रो हुने बित्तिकै वा बिरामीको मृत्यु भयो भने हामीलाई जे मुखमा आयो त्यो गाली गर्ने, कराउने, हातपात गर्न आउने गर्नुहुन्छ। यो देख्दा एकदमै दुख लाग्छ। किन यस्तो जस नपाउने पेसामा लागेको होला भन्ने पनि दिमागमा आउँछ।
कोही भने निकै कुरा बुझ्ने पनि हुन्छन्। तपाईं नर्सहरुले गर्दा आज मेरो बिरामीले उपचार पाइरहेको छ, हामीलाई तपाईंहरुले हेर्नुभएको छ भनेर ढुक्क हुन्छन्। यस्तो बेला तपाईहरु नर्सहरुले महामारीमा काम गरिदिएर हामीलाई बचाउँन लाग्नु भएको छ भनेर हौसला बढाउनुहुन्छ। यस्ता कुरा सुनेपछि खुसी लाग्छ।
घरपरिवार र आफ्न्तले समेत तिमीले यो समयमा एकदम राम्रो पुण्य गरिरहेका छौँ भनेर हौस्याउनुहुन्छ। समयसमयमा फोन गरेर आफ्नो पनि ख्याल राख, आफैं बिरामी भए बिरामीको सेवा गर्ने अवसर पाइन्न भन्नुहुन्छ। परिवार र आफन्तको सकारात्मक कुरा यो समयमा निकै काम लाग्ने रहेछ।
अहिले पनि संक्रमित छु जस्तो लाग्छ
लामो समय पिपिइ लगारहँदा श्वास फेर्न गाह्रो हुन्छ। अरु समयमा शरीर दुख्ने, थकाइ लाग्ने भइरहन्छ, जसको कारण अहिलेपनि संक्रमित छु झै लाग्ने रहेछ। कमजोरी अनुभव भइरहेको हुन्छ।
धेरै गाह्रो नभएको र यहाँ स्टाफ कम भएकोले पनि परीक्षण गर्दैैनौँ। डाक्टरले धेरै गाह्रो भएको छ भने जाँच गराउनुस भन्नुहुन्छ। धेरे गाह्रो नभएकोले जाँच गरेको छैन।
सबै सचेत रहौँ
अहिले अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ। कतिपय अस्पतालले त बिरामी लिन सक्दैनौँ भनेर सुचना निकालेको पनि समाचारमा देख्छु। हाम्रो भेरीमा अझै यस्तो अवस्था त छैन। हामीले त अस्पताल आएका गम्भीर बिरामी कतिलाई भुईमा राखेर अक्सिजन दिएर बेड खालि भएपछि सिफ्ट समेत गरिरहेका छौँ। सिकिस्त बिरामी भरसक फर्काउन नपरोस्, उनीहरुलाई उपचार गरेर निको बनाउन पाइयोस भन्ने एक मात्र कामना हुन्छ आजकल।
तर, घरमा बसिरहनु भएका सबै व्यक्तिहरु तपाईहरुले पनि सुरक्षा अपनाउनुपर्छ। कोरोना केही होइन भनेर मास्क नलगाउने, दुरी कायम नगर्ने, भीडभाडमा जाने नगर्नुस प्लिज।
अहिले घरमै बसेर कोरोना फैलनबाट रोक्न सहयोग गरौँं। कोरोना भई होम आइसोलेसनमा बस्नुभएको व्यक्तिहरुले पनि ख्याल गराँै। आफूलाई भएको संक्रमण अरुलाई सर्न र जोखिम हुनबाट रोक्न आइसोलसनमा बसौँ। जथाभागी नडुलौँ। यो समय सबै मिलेर कोरोनालाई परास्त गर्नुपर्ने छ।
अस्पतालमा खटिएका हामी नर्सहरु तपाईं हाम्रै बिरामीलाई बचाउन ज्यानको बाजि लगाइरहेका छौँ। तपार्इंहरुको सहयोग र मोटिभेसनले मात्र यो सम्भव छ। यस्तो बेला अस्पतालमा तोडफोड, स्वास्थ्यकर्मी माथिको हातपात जस्ता कार्यले मनोबल घट्ने मात्र होइन। अस्पतालमा उपचाररत बिरामीमा पनि गम्भीर असर पर्छ।