काठमाडौं- यतीबेला नेपालमा कोरोना भाइरसको संक्रमणको दोस्रो लहर फैलिरहेको छ। संक्रमणका कारण छोटो समयमा नै धेरैले ज्यान गुमाएका छन् भने हजारौं बिरामी भएका छन्।
अस्पताल र स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था देखिएपछि धेरै संक्रमितले अक्सिजन र उपचार अभावमा ज्याज गुमाउनु परेको छ।
जनस्वास्थ्य विज्ञले विगतको वर्षको अनुभव र भइरसको फैलावटलाई हेरेर अब कात्तिक र मंसिर महिनामा तेस्रो लहर आउने चेतावनी दिइरहेका छन्।
तर सरकारले भने त्यही समयमा नै देशमा निर्वाचन गर्ने घोषणा गरेको छ। जनस्वास्थ्य विज्ञहरुको सुझाब र चेतावनीलाई नजरअन्दाज गर्दै सरकारको ध्यान भने राजनीतिक खेलमा नै सिमित भइरहेको देखिन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण देखिएयता कहिले पनि यो विषयलाई गम्भीर रुपमा नलिएको स्वास्थ्य मन्त्रालयका कर्मचारीको आरोप छ। जनस्वास्थ्य विज्ञले पनि प्रधानमन्त्रीले कोरोना महामारीले निम्त्याइरहेको समस्यालाई गम्भीर रुपमा नलिएको भन्दै आलोचना गरिरहेका छन्।
प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा व्यक्त गरेको धारणाले पनि यो कुरालाई पुष्टि गरिरहेको छ।
झन् पछिल्लो समयमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दै कात्तिक र मंसिरमा निर्वाचन घोषणा गरेपछि जनस्वास्थ्य विज्ञहरु थप चिन्तित बनेका छन्।
पहिलो लहरमा विश्वका अन्य मुलुकको तुलनामा मानवीय क्षति कम भएको र संक्रमितमा गम्भीर खालका लक्षण कम देखिएकाले नागरिकहरुले यसलाई त्यती गम्भीर रुपमा लिएका थिएनन्। अझ यसमा झन् प्रधानमन्त्री ओलीले अम्बाको पात र बेसार पानीको कुरा गरेर हल्का टिप्पणी गरेपछि आम रुपमा थप लापरबाही बढ्दै गएको थियो।
अघिल्लो वर्षको लकडाउनले संक्रमण कम फैलिएपनि दसैं तिहारमा खुलेको लकडाउनको असर कात्तिक र मंसिरमा देखियो। १० हजार भन्दा संक्रमित हुँदैन भन्ने सरकारको अघिल्लो पटकको प्रक्षेपण गलत साबित भयो। लकडाउन खुलेसँगै मानिसको चलहपलह र एक ठाउँबाट अर्को स्थानमा जानेआउने क्रम बढ्दा र जनस्वास्थ्यको मापदण्ड नअपनाउँदा नियन्त्रण उन्मुख रहेको संक्रमणले फेरि रफ्तार लिएको देखिन्छ।
संक्रमणको दोस्रो लहरसँगै भारतमा पनि निर्वाचनका गतिविधिले छोटो समयमा संक्रमण र मृत्युदर ह्वात्तै बढेको देखिन्छ। नेपालमा पनि अहिले त्यस्तै गल्ती गर्ने तयारीमा सरकार रहेको देखिन्छ।
भारतमा देखिएको दोस्रो लहरबारे चिकित्सकहरुले पटकपटक सचेत गराएपनि व्यवस्थापनमा देखिएको लापरबाहीले नेपालमा अनपेक्षित रुपमा संक्रमणदर र मृत्युदर बढेको छ। अहिले देखिएको लहर अबको केही दिनमा कम हुँदै गएपनि कात्तिक र मंसिरमा भने फेरि अर्को लहर आउने र त्यो झन् खतरनाक हुने विज्ञहरुको प्रक्षेपण छ। विज्ञहरुले यसका लागि तयारी अवस्थामा रहँदै रोकथामका काम अगाडि बढाउन पनि सुझाब दिइरहेका छन्।
गत वर्षको तथ्यांक हेर्दा कात्तिक र मंसिरको दुई महिनामा नेपालमा संक्रमणदर उच्च विन्दुमा पुगेको थियो। अघिल्लो वर्षको कात्तिक र मंसिर महिनामा मात्र नेपालमा ९६ हजार ११७ जनालाई कोरोना संक्रमण भएको थियो।
२०७६ माघमा देखिएको संक्रमण असोज २३ गतेसम्म एक लाख नाघेको थियो। भने मृत्यु हुने संक्रमितको सख्या ६ सय थियो। तर, उक्त दुई महिनाको अवधि नै झण्डै यो संख्या दोब्बर भयो। दुई महिना करिब एक लाख व्यक्तिमा संक्रमण भयो भने ५८४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। संक्रमण मात्र होइन मृत्युदर पनि दोब्बर भएको थियो।
सो दुई महिनाको अवधिमा नेपालमा ८९ हजार ४०९ संक्रमित निको भएका थिए।
गत वर्ष असोज २८ देखि मंसिर २० गतेसम्म नेपालका कोरोना संक्रमणदर
मिति संक्रमित डिस्चार्ज मृत्यु
असोज २८ २६३८ २१७४ १२
असोज २९ ३७४९ ३५६४ १९
असोज ३० ४२९२ ३५२२ २१
कात्तिक १ ३१६७ १८०० १२
कात्तिक २ २९४२ २३२६ १२
कात्तिक ३ ३७९० २३३५ १८
कात्तिक ४ ३०९३ २१०८ ८
कात्तिक ५ ५७४३ २९९६ २६
कात्तिक ६ ३६३७ ३२१५ २१
कत्तिक ७ ४४९९ २६६८ १७
कात्तिक ८ २२२५ २८४६ १३
कात्तिक ९ २८५६ ३३३६ ५
कात्तिक १० १७४१ ४००५ १५
कात्तिक ११ ५७० ३१६८ १४
कात्तिक १२ १९५४ २९८१ ११
कात्तिक १३ २३६४ ३०३८ १७
कात्तिक १४ ३५१७ ४०९६ १६
कात्तिक १५ २५०८ २२६४ १७
कात्तिक १६ २८२४ ३६२० २३
कात्तिक १७ २९३३ ३१५० २४
कात्तिक १८ ३११४ ३१४२ २०
कात्तिक १९ ३३०९ ३८४४ ३०
कात्तिक २० ३०५१ ३४३० १८
कात्तिक २१ २९०९ ४५०० १८
कात्तिक २२ २७५३ २२०६ १७
कात्तिक २३ २८१७ २८१२ २१
कात्तिक २४ २५७१ १७९८ १८
कात्तिक २५ २७३६ ८५३ २२
कात्तिक २६ २५६९ १६६६ २६
कात्तिक २७ १९१३ २३४९ १५
कात्तिक २८ २१११ ३५३७ १३
कात्तिक२९ १९४६ २५०३ १३
कात्तिक३० १४७७ २७९८ ६
मंसिर १ ११९७ २९३४ ९
मंसिर २ ५०२ २८७८ १७
मंसिर ३ १४४२ ३५३८ १२
मंसिर४ २१०३ २८५८ १७
मंसिर ५ १९४५ ५३६४ २२
मंसिर ६ १६७४ २३२३ ७
मंसिर ७ १६६९ ५६९९ १६
मंसिर ८ १९८० ३०४३ १६
मंसिर ९ १७९० २७९१ २४
मंसिर१० १९४८ ३१४० २८
मंसिर ११ १६१४ १४३७ २३
मंसिर १२ १७०३ १२३६ २३
मंसिर १३ १३८० ५१२ १९
मंसिर १४ १२५५ १४०४ २५
मंसिर१५ १४७४ १९३१ २९
मंसिर १६ १३०४ २०७३ २१
मंसिर१७ १४९० १५६७ ९
मंसिर १८ १३४३ २१११ १३
मंसिर१९ १२७२ १५७५ १६
मंसिर२० १०२४ २२०६ १०
मंसिर २१ १०९६ १७५२ १७
मंसिर २२ १०१४ १६२८ २०
मंसिर २३ १३८२ १६२१ २३
मंसिर २४ १०५६ १४८३ १४
मंसिर २५ १२१७ १०६४ १२
मंसिर २६ १०४४ १२७१ ११
मंसिर २७ ८९९ १२५९ १५
मंसिर २८ ८३० १५०० ९
मंसिर २९ ८२१ ८४२ १८
मंसिर ३० ९३६ १९९६ १४
जम्मा ९६,११७ ८९४०९ ५८४
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
‘राष्ट्रपतिले आगामी कात्तिक मंसिरमा मध्यवधि निर्वाचनको घोषणा गर्नु र विश्व स्वास्थ्य संगठनले सोही समयमा नेपालमा कोरोना तेस्रो लहर आउने चेतावनी दिनु संयोग होइन। सबै कुरा जानजान जनस्वास्थ्य माथि गरिएको बेवास्ता हो,’ स्वास्थ्य मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने।
मन्त्रालयले अगामी कात्तिक र मंसिर नेपालका लागि थप कष्टकर हुने र संक्रमणको उच्च बिन्दुमा पुग्न सक्नेबारे पटकपटक चेतावनी दिइसकेको छ।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल कात्तिक मंसिरसम्म कुल जनसंख्याको ४१ प्रतिशतलाई कोरोना विरुद्धको खोप दिन नसकिए ठूलो मानवीय क्षति व्यहोर्नुपर्ने बताउँछन्।
भारतमा संक्रमणको दर बढेपछि नेपालले अग्रिम भुक्तानी गरिसकेको १० लाख डोज खोप समेत पाउन सकेको छैन। कोभ्याक्स फ्यासिलिटीको खोप समेत तत्काल आउने सम्भावना नरहेको स्वास्थ्य मन्त्रालयका कर्मचारी बताउँछन्।
नेपालमा दर्ता भएका भारतका दुई खोप कोभिसिल्ड र कोभ्याक्सिन, चीनको भेरोसेल र रुसले बनाएको स्पुतनिक भी मध्ये कुनै पनि खोप ल्याउन पहल भइरहेको स्वास्थ्य मन्त्रालयको भनाई छ।
‘हामीले चैतमा नै महामारी तिव्र हुनेसक्ने कुरालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न र बन्दाबन्दीमा जान आग्रह गर्यौँ तर यो आग्रह बेवास्ता गर्दा अनपेक्षित क्षति भयो। तेस्रो लहर आउने चेतावनी आइरहेको बेला सोही समयमा निर्वाचनको मिति घोषणा गरिएको छ। यो निकै चिन्ताजनक र लापरवाही पूर्ण निर्णय हो,’ स्वास्थ्य मन्त्रालयका एक उच्च कर्मचारीले भने।
जनताको ज्यान जोगाउने कुरा एक्लो स्वास्थ्य मन्त्रालयका वा स्वास्थ्यकर्मीहरुको मात्र नभएको भन्दै उनले राजनीतिक प्रतिवद्धता र संवेनशीलता महत्वपूर्ण भएको बताए।
दोस्रो लहरको संक्रमणले गत वैशाखमा मात्र एक लाख बढी संक्रमित र करिब १६ सय संक्रमितको मृत्यु भइसकेको छ।
पछिल्लो लहरको संक्रमणमा लक्षण सहितका र गम्भीर संक्रमित भएकाले मृत्युदर समेत उकालो लाग्दो छ। यस्तो अवस्था संक्रमितलाई अक्सिजन र अन्य स्वास्थ्य संरचना बलियो बनाउनेतिर लगानी गर्नभन्दा सरकारले जनताको ज्यान जोखिममा पार्ने गतिविधि गर्न उद्देलित हुनु लाजमर्दो विषय समेत भएको टिप्पणी गरिएको छ।