काठमाडौं– नेपालमै इन्टर्नसिप गर्न नपाएको भन्दै चीनमा एमबिबिएस अध्ययन गरेका सन् २०१५ र २०१६ ब्याचका विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन्।
शुक्रबार माइतीघरमा प्रदर्शन गर्दै उनीहरुले 'अझै कति कुर्ने हामी', 'इटर्नसिप कहिले?' 'हे सरकार सुनिदेउ हाम्रो पुकार', 'डा पढ्न चीन गाका छोराछोरीको हाल देखि रुन्छिन् हाम्री आमा' लेखिएका प्लेकार्ड देखाएका थिए।
आफ्नो इन्टर्नसिपको विषयमा नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयमा पटक पटक धाउँदा पनि आफूहरुको पक्षमा कुनै निर्णय नआएको भन्दै आन्दोलनमा उत्रिएको एक विद्यार्थीले बताए। चिकित्सा शिक्षा आयोगले माग सम्बोधन गर्न शिक्षा मन्त्रालयमा एक कमिटि गठन गरिएको जानकारी दिएपनि उक्त कमिटिले कुनै निर्णय नगरेको विद्यार्थीहरुको गुनासो छ।
उनले भने, ‘सन् २०१४ ब्याचका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गर्न प्रक्रिया अघि बढेको छ। तर हाम्रो विषयमा सरकारले कुनै निर्णय गरेन, हामी अन्यौलमा छौं।’
कोरोना महामारी सुरु भएपछि आफु अध्ययनरत कलेज छाडेर नेपाल आएका मेडिकल विद्यार्थीहरु पढाइ सकेर इन्टर्नसिप गर्न नपाउँदा अन्यौलमा छन्।
चीनमा अध्ययन गरेका सन् २०१५ र २०१६ ब्याचका केही विद्यार्थीहरुको पढाइ कोरोना संक्रमण अगावै सकिएको थियो भने केहीको अनलाइन मार्फत पढाइ पुरा भएको हो।
पढाइ पुरा भएपनि इन्टर्नसिप गर्न नापाएपछि उनीहरु चिन्तामा परेका हुन्।
सरकारले सन् २०१४ ब्याचका विद्यार्थीहरलाई भने नेपालमै इन्टर्नसिप गराउन प्रक्रिया अघि बढाइसकेको छ।
सन् २०१५ र २०१६ ब्याचका मेडिकल विद्यार्थीहरुले पनि आफुहरुलाई नेपालमै इन्टर्नसिप गर्ने वातावरण बनाउन माग गरेका छन्। सो ब्याचका करिब १३६ जना मेडिकल विद्यार्थीहरु नेपालमै अलपत्र छन्।
तस्बिर : निमेष जंग राई