काठमाडौं– कोरोना महामारीले अघिल्लो मात्र नभएर यो वर्ष पनि धेरैको चाडपर्व खल्लो बनायो। धेरै नेपालीले आफन्त गुमाए। अग्रपंक्तिमा रहेर खटिएका स्वास्थ्यकर्मीले पनि आफन्त गुमाउन पुगे।
तर, आफन्त गुमाएरै पनि कतिपय स्वास्थ्यकर्मी महामारीविरुद्ध उपचारमा खटिए। अझै खटिइरहेका छन्।उनीहरुलाई न त दसैंको रौनकताले छोयो, न त तिहारको रमझमले नै। तीमध्ये एक हुन्, त्रिवि शिक्षण अस्पतालकी नर्सिङ सहनियन्त्रक लक्ष्मी केसी।
कोरोना संक्रमणका कारण उनले आफन्त गुमाइन्। त्यसैले पनि उनको यस वर्षको तिहार खल्लो बनेको छ।
उनलाई तिहार निकै रमाइलो लाग्ने र खुशी मान्ने पर्व हो। किनभने, ६ दाजुभाईमा उनी एक्ली बहिनी हुन्। तर,आफन्त गुमाउनुको पीडाले उनलाई यो तिहारको रौनकताले छोएको छैन।
बालापनमा तिहार मनाउँदाको अनुभव उनीनिकै उत्साहका साथ सुनाउँछिन्। ती तिहार आफूले खूबै सम्झने बताउँछिन्।
हामीले उनलाई सोध्यौँ– ‘यस वर्षको तिहारको योजना के छ?’
उनी एकछिन मौन भइन्। उनको मौनता भावुकतामा परिणत भयो। उनको पीडा आँसु मार्फत बग्न थाले।
‘यो वर्षको तिहार.....’रोक्न नसकेका आँसु पुस्दै उनी बोल्न खोजिन्। तरm शब्दहरु उनको गलामा अड्किए। एक छिन मौन भइन्।
‘यो वर्षको तिहार मेरो मात्र होइन। धेरै नेपालीको लागि अँध्यारो भएको होला। यो वर्षमेरो तिहार छैन। माइत र घर दुवैतिर कोरोनाले आफन्त बितेका छन्।’उनले निकै भावुक हुँदैभनिन्।
कोरोना महामारीमा माइततिर उनकीभाइ बुहारीको निधन भयो। घरमा कान्छो सुसरालाई गुमाउनु प¥यो।
तर, यसअघिका वर्षहरुमा उनको घर र माइतमा तिहार रौनकता लिएर आउँथ्यो। त्यो झिलिमिली, पारिवारिक मिलन र उत्साहले खुसी दिन्थ्यो।
तिहार भन्ने बित्तिकै उनलाई चारैतिरको झिलीमिली, सेलरोटी अनि देउसी–भैलोको याद आउँछ। अझ, बालापनको सम्झना उनलाई सबैभन्दा प्यारो लाग्ने क्षण हो। उनी भन्छिन्, ‘बच्चा हुँदा त तिहार असाध्यै रमाइलो लाग्थ्यो। पटाका पड्काउने, भाग्ने, खेल्ने गरिन्थ्यो। त्यस्तो रमाइलो त पछि कहिल्यै पनि भएन।’
एक पटक त उनले पटाका पड्काउँदा नयाँ कपडासमेत जलाएकी छिन्। गाली खाने डरले त्यो कपडा उनले धेरै दिनसम्म लुकाइन्।
उमेर बढ्दै जाँदा तिहार मनाउने शैलीमा पनि परिवर्तन आयो। घरपरिवार अनि बिरामीको सेवा गर्नुपर्ने जिम्मेवारी आयो। आफ्नो जिम्मेवारी पूरा गर्दै तिहार मनाउने गरेको उनी बताउँछिन्। कतिपय तिहार त बिरामीसँग मनाएको सम्झना पनि छ।
संयुक्त परिवार भएकाले उनको परिवारमा बुहारीहरुबीच पालैपालो तिहार मनाउने चलन थियो। ‘हाम्रो संयुक्त परिवार हो। त्यसैले यो वर्ष यो बुहारी माइत जाने र अर्को वर्ष अर्को बुहारी तिहार मनाउने जाने भनेर पालो हुन्थ्यो। जो बुहारी घरमा हुन्थ्यो उसले नै तिहारको सबै व्यवस्थापन गर्ने जिम्मेवारी हुन्थ्यो,’ लक्ष्मीले भनिन्।
उनले कोरोना महामारीलाई नजिकबाट नियालेकी छिन्। त्यसैले पनि कोरोनालाई सामान्य रुपमा नलिन उनको आग्रह छ। मानिसहरुको बढ्दो लापरवाहीका कारण कोरोनाले पुनः महामारीको रुप लिने हो की भन्ने उनको चिन्ता छ।
लक्ष्मीले भनिन्, ‘कतिबेला कोरोनाले महामारीको रुप लिन्छ थाहा छैन। यो बाँध कति बेला फुट्छ त्यो पनि थाहा छैन।’
तिहार मनाउँदा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न उनको आग्रह छ। मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न पनि उनी आग्रह गर्छिन्। ‘तिहार पनि रमाइलो होस् अनि रोग पनि नलागोस्। जनस्वास्थ्यका यी मापदण्डहरु पालना गर्दा हामी कोरोनाबाट सुरक्षित हुन्छौ भने किन नगर्ने?’ उनले भनिन्।
यस वर्ष काठमाडौं उपत्यका बाहिर घर भएका नर्सिङ स्टाफलाई मात्र बिदा दिइएको उनले बताइन्। उनका अनुसार अस्पतालको स्वास्थ्य सेवामा बाधा नपुग्ने गरी नर्सिङ स्टाफको ड्युटी मिलाइएको छ।