काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले मंसिर ८ गते प्रमाणपत्र तह नर्सिङ लागि भर्ना खुलायो। जसमा ४५ वटा कलेजका लागि सिट निर्धारण गरिएको छ। सिटिइभिटीले ती ४५ वटा कलेजहरुमा भर्नाका लागि मंसिर २५ गतेभित्र आवेदन दिन भन्यो।
तर सिटिइभिटीको भर्ना सम्बन्धी सूचना प्रकाशित भएको ५ दिन पछि मंसिर १३ गते चिकित्सा शिक्षा आयोगले अर्को सूचना जारी गर्दै सिटिइभिटीको मंसिर ८ गतेको सूचना आयोगको ऐन प्रतिकुल गरहेको जनायो। यस्तै १४ गते अर्को सूचना निकाल्दै थप एक कलेजको भर्ना पनि रोक्न आयोगले भनेको छ।
सिटिइभिटीले सार्वजनिक गरेको ४५ कलेज मध्ये १६ वटामा विद्यार्थी भर्ना सम्बन्धी भएका सूचना रद्द गर्न आयोगको निर्देशन छ।
आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीका अनुसार ती १६ वटा कलेजलाई पिसिएल नर्सिङ कार्यक्रमका लागि भर्ना अनुमति दिनु चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ प्रतिकुल छ।
सो ऐनको दफा ४२ मा प्रमाणपत्र तहको कार्यक्रम सञ्चालन नहुने व्यवस्था उल्लेख गरिएको छ।
‘यो ऐन प्रारम्भ भएपछि विश्वविद्यालयले कुनै पनि शिक्षण संस्थालाई चिकित्सा शिक्षातर्फ प्रमाणपत्र वा सोभन्दा तल्लो तहका कार्यक्रम सञ्चालन गर्न अनुमति दिने छैन,’ ऐनमा उल्लेख छ।
यस्तै उक्त दफाको उपदफा २ मा ‘यो ऐन प्रारम्भ हुँदाका बखत उपदफा १ बमोजिमका कार्यक्रम सञ्चालन गरिरहेको विश्वविद्यालय वा प्रतिष्ठानले यो ऐन प्रारम्भ भएको पाँच वर्षभित्र त्यस्तो कार्यक्रम फेज आउट गर्नुपर्नेछ,’ उल्लेख छ।
आयोगको उपाध्यक्ष डा गिरीका अनुसार २०७५ सालमा ऐन बनेको हुनाले २०८० सालसम्ममा विश्व विद्यालय वा प्रतिष्ठानमा प्रमाणपत्र तह नर्सिङको फेज आउट हुनुपर्छ।
पिसिएल नर्सिङको कार्यक्रम ३ वर्षको हुने भएकाले अब विश्वविद्यालय र प्रतिष्ठानमा पिसिएल नर्सिङ नयाँ कार्यक्रम सञ्चालन गर्न मिल्दैन।
‘हामीले आयोगको ऐनलाई हेरेर काम गर्ने हो, २०७५ सालमा बनेको ऐन भएकाले ८० सालमा कार्यक्रम फेज आउट हुनुपर्छ,’ डा गिरीले भने, ‘पिसिएल नर्सिङको कार्यक्रम ३ वर्षको हो, ०८० मा ३ घटाउँदा त ०७७ साल सम्म मात्र हुन्छ। त्यसैले २०७७ सालदेखि भर्ना गर्न नपाउने भनेर आयोगको बैठकले निर्णय गरेको थियो।’
यदी ती १५ वटा कलेजमा पिसिएल नर्सिङको कार्यक्रम सञ्चालन भएका ऐनको दफा १४ आकर्षित हुने समेत आयोगले जनाएको छ। अर्थात ती १६ वटा कलेजले सिटिइभिटीको नर्सिङ कार्यक्रम चलाएमा विश्वविद्यालयको कार्यक्रम खारेज गरिदिने अधिकार आयोगलाई छ।
‘अब ती १६ वटा कलेजहरुमा विश्वविद्यालयको कार्यक्रम चलिरहेको छ, कलेजहरुले सिटिइभिटीको कार्यक्रम पनि चलाउछन् भने त अब उनीहरुले विश्वविद्यालयका कार्यक्रमहरु लिँदैनन् भन्ने बुझ्नुपर्छ,’ डा गिरीले भने, ‘त्यसमा पनि आफ्नो खुसीले गर्न पाइँदैन, विश्वविद्यालयसँग सम्बन्ध तोडेर सिटिइभिटीको कार्यक्रम चलाउन पाइन्छ।’
आयोगले १६ वटा कलेहरुमा भर्ना प्रक्रिया नै रद्द गर्न सूचना जारी गरेपछि सिटिइभिटीले बुधबार फेरि अर्को अपिल गरेको छ। सिटिइभिटीले आयोगले भर्ना रद्द गर्न भनेका कलेजमा भर्ना रद्द नहुने आशयको सूचना सिटिइभिटीले निकालेको छ।
सिटिइभिटीले मंसिर ८ गतेको सूचना अनुसार नै भर्ना लगायका कार्यक्रम सञ्चालन हुने जनाएको छ।
यस कार्यालयबाट मंसिर ८ गते प्रकाशन भएको नर्सिङ कार्यक्रममा आवेदन आब्हानको सूचनामा भएका शिक्षण संस्थाहरु परिषद्को विद्यमान ऐन, नियमावली र चिकित्सा शिक्षा आयोगको मंसिर ८ गते अघिका निर्णयानुसार नै भएको,’ बुधबार सिटिइभिटीले जारी गरेको सूचनामा भनिएको छ।
सिटिइभिटीले आयोगको सूचनामा आधारित समाचारहरु झुट्टा र कपोकल्पित भएको समेत जनाएको छ।
सिटिइभिटीका प्रवक्ता विनोद बडाल सिटिइभिटीको मंसिर ८ गतेको सूचना अनुसार ४५ वटा कलेजले नै विद्यार्थी भर्ना गर्न पाउने बताउँछन्।
‘आयोगले निकालेको १५ वटा कलेज बाहेक अरु कलेजले पनि सिटिइभिटीको कोर्ष स्नातक वा स्नातकोत्तर तहको कक्ष चलाएका छन् कि छैनन्? किन ती कलेजको विषयमा अयोगको निर्णय? यो हाम्रो आयोगलाई प्रश्न,’ सिटिइभिटीको प्रवक्ता बडालले भने, ‘अर्को पाटो सिटिइभिटीको ऐन र आयोगको ऐन हेर्दा पनि चिकित्सा शिक्षा ऐन, नियमावली २०७७ मा सिटिइभिटीको विषयमा केही पनि उल्लेख नै छैन।’
आयोगको ऐनलाई नै आधार मानेर सिटिइभिटीले पिसिएल नर्सिङ अध्ययनका लागि ४५ वटा कलेजलाई मात्र भर्नाका लागि अनुमति दिएको उनी दावी गर्छन्।
तर अयाोगका उपाध्यक्ष डा गिरी भने १६ वटा मेडिकल कलेजहरुमा विश्वविद्यालयको कार्यक्रम समेत सञ्चालन भइरहेकाले ती कलेजहरुले सिटिइभिटीको कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालयको कार्यक्रम त्याग्नुपर्ने बताउँछन्।
सिटिइभिटी र आयोगका पदाधिकारीहरु बीचको जुहारीका कारण नर्सिङ अध्ययनका लागि तयारी अवस्थामा रहेका विद्यार्थीहरुलाई अझै अन्यौलता थपिएको छ।
यी हुन् भर्नामा रोक लगाउने निर्णय भएका कलेज
ओम हेल्थ क्याम्पस, काठमाडौं
नोबल मेडिकल कलेज, विराटनगर
नेसनल मेडिकल कलेज, वीरगञ्ज
कलेज अफ मेडिकल साइन्सेज, चितवन
एनपिआइ नारायणी सामुदायिक अस्पताल, चितवन
काठमाडौं मोडल अस्पताल स्कुल अफ नर्सिङ, काठमाडौं
नागरिक कलेज अफ हेल्थ साइन्स, काठमाडौं
नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
अल्का अस्पताल, ललितपुर
बिएन्डबी मेडिकल इन्स्टिच्युट, ललितपुर
मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा
नेपालगञ्ज नर्सिङ क्याम्पस, बाँके
लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, पाल्पा
देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युट, रुपन्देही