काठमाडौं- रानीवारी बस्ने चन्द्र तामाङलाई केही दिन अघि मध्यरातमा बिउँझिँदा ज्वरो आयो। साँझ खाना खाएर सुत्दा सामान्य उनलाई बिउँझिँदा भने ज्वरो सँगै अत्यन्तै टाउको दुखी रहेको थियो। साथै, पसिनाले निथ्रुक्कै शरीर भिजेको थियो। एक पटक कोभिड भइसकेका उनलाई फेरि कोभिड भयो की भन्ने शङ्का लग्यो।
उनले नियमित सल्लाह लिने डाक्टरले पोस्ट कोभिडको लक्षण हुन सक्ने बताउँदै आराम गर्न सल्लाह दिए। विस्तारै कोभिडमा नदेखिएका लक्षणहरू वाकवाक लाग्ने, अत्यन्तै शरीर दुख्ने गल्ने जस्ता देखिएपछि उनलाई अरु नै केही भयो की भन्ने शङ्का लाग्यो। उनले शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गएर परीक्षण गराए। उनलाई डेंगुको सङ्क्रमण पुष्टि भयो।
उनीजस्तै अहिले टेकुमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन्। शुक्रराज अस्पतालसहित देशका अन्य अस्पतालमा पनि डेंगुका बिरामीको चाप तीव्र रुपमा बढीरहेको चिकित्सकहरुले बताएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनका अनुसार आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ। कोभिडको समयमा झैँ बिरामीहरू बेड कुर्न बाध्य भएका छन्। कुर्सीमा राखेर उपचार गरिँदै छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म डेंगु ६९ जिल्लामा फैलिइ सकेको छ।
नेपालमा सन् २००४ देखि पुष्टि भएको डेंगु सन् २०१९ मा आएर अत्यधिक बढेको थियो। अब २०१९ फैलिए भन्दा पनि बढी फैलिन्छ भन्ने आशङ्का भएकाले सजग रहनुपर्ने डा पुन बताउँछन्। उनका अनुसार डेंगु भाइरस 'एडिस' जातको लामखुट्टेले सार्ने गर्दछ। यसको शरीर कालो सेतो जेब्राको जस्तै रङ्गको हुन्छ। सङ्क्रमित व्यक्तिलाई टोक्दा रगत मार्फत भाइरस लामखुट्टेको शरीरमा प्रवेश गर्दछ र ८ देखि १२ दिनपछि सो सङ्क्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा भाइरस सर्ने गर्दछ।
अहिले यो लामखुट्टे अत्यधिक सक्रिय र व्यापक अवस्थामा छ। लामखुट्टे नियन्त्रणमा नल्याउँदासम्म डेंगु नियन्त्रणमा ल्याउन नसकिने पुन बताउँछन्। ‘तत्कालै लामखुट्टे नियन्त्रणको लागि काम गर्नुपर्ने जरुरी छ। अब लामखुट्टे खोजेरै मार्नुपर्ने अवस्था आइसकेको छ,’ उनले भने।
‘डेंगुको उपचारमा यही औषधि भन्ने छैन तर बिरामीको अवस्थालाई हेरेर उपचार गर्नुपर्छ’ डा पुन भन्छन्,‘बिरामीको अवस्था कति जटिल छ हेरेर अस्पताल कति दिन बस्नुपर्छ थाहा हुन्छ। जटिलता जोकोहीलाई पनि हुन सक्छ तर दीर्घरोगी, उमेर पुगेका बूढाबूढीलाई बढी जटिल हुने सम्भावना छ।’
डा पुन डेंगु अत्यान्तै पिडादायी रोग भएको बताउँछन्। उनका अनुसार डेंगु भएकाहरुलाई यति धेरै शारीरिक दुखाई हुन्छ की त्यो दुखाई सम्भवतः धेरैले जीवनमा पहिलो पटक अनुभव गरिरहेका हुन्छन्। डेंगु सङ्क्रमण भएको ४ देखि १० दिनसम्ममा लक्षणहरू देखा पर्छ। डेंगुको मुख्य लक्षण नै अत्यधिक शारीरिक दुखाइ हो। ज्वरो आउनु, आँखाको गेडी दुख्नु, वाक-वाक लाग्नु वा बान्ता हुनु, खानामा नरुचाउने, पखाला वा पातलो दिसा लाग्नु, हाल डेंगु सङ्क्रमितहरूमा देखिएका लक्षणहरू हुन्। तारन्तार बान्ता भइरहँदा, अत्यधिक पेटको दुखाई हुँदा, नाक, गिजा वा शरीरका अरु ठाउँबाट (दिसा, पिसाब वा बान्ता) रगत बगेमा, आलस्य वा बेचैन भएमा र श्वास प्रश्वासमा तीव्रता या कठिनाइ भएमा डेंगु सङ्क्रमण जटिलता तर्फ जाँदै गरेको बुझ्नुपर्ने उनले बताए।
डेंगु भएकाहरुले झोलिलो कुरा खाने, सकेसम्म जीवनजल पानी खाने गर्नुपर्छ। पानी सङ्कलन हुने भाँडा, खाल्डो या गमलाहरूमा लामखुट्टेका लार्भा सजिलै विकास हुने भएकोले त्यस्ता ठाउँहरूमा पानी जम्न दिनु हुदैंन। डेंगु फैलाउने लामखुट्टे विशेषतः बिहान तथा बेलुकी (सूर्यास्त अगाडि) बढी सक्रिय र टोक्ने हुनाले कार्यालय समयमा सर्तक हुनुपर्ने पुन बताउँछन्।
उनका अनुसार अहिले देशभर नै डेंगुको जोखिम भएकाले डेंगु नफैलियोस् भन्नका लागि लामखुट्टे नियन्त्रणमा विशेष पहल गर्दै जटिलताका सङ्केतहरू देखिए तुरुन्त अस्पताल जानुपर्दछ।