काठमाडौं- तिहार भन्ने बित्तिकै हामी सेल रोटी, मिठाई अनि माछा मासु सम्झिन्छौं। गुलियो अनि चिल्लो पदार्थले जिब्रोको स्वाद त बढाँछ नै। तर तिहार जस्तो चाडपर्वमा अनियन्त्रित मात्रामा गरिने खानपिनले स्वास्थ्य समस्या पनि उत्तिकै बढाउँछ।
तिहारमा कस्तो खानपिन गर्ने? कसले कुन कुरामा ध्यान दिने लगायत विषयमा हामीले पोषणविद् बिनिता पन्तसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
तिहारमा कस्तो खानपिन हुनुपर्छ?
– तिहार भन्ने बित्तिकै हामी सेलरोटी, चिल्लो र गुलियो खानेकुरा सम्झन्छौं।
– दसैंपछि मासु खाने पर्वको रुपमा पनि तिहारलाई मानिन्छ।
– चाडपर्व भन्ने बित्तिकै हामी खानमा अनियन्त्रित हुन्छौं। खाना सधैं सन्तुलित हुनुपर्छ।
– सेलरोटी र मासु खाइरहँदा फलफूल र सागपातमा उत्तिकै जोड दिनुपर्छ।
– बजारमा उपलब्ध मिठाईमा प्रयोग गर्ने चिल्लो, गुलियो र रंगप्रति उत्तिकै सचेत रहनुपर्छ।
– खाद्य निर्देशिका अनुसार एक किलो मिठाईमा शून्य दशमलव शून्य पाँच मिलिग्राम प्राकृतिक रंग राख्न सकिने भनिएको छ।
– बजारमा पाइने मिठाईमा यो मात्रा मिलाएर हालिएको नहुन पनि सक्छ।
– सकेसम्म बोसो नभएको मासु खाने, सेतो मासु खानुपर्छ।
– एक दिनमा सय ग्रामभन्दा बढी मासु नखानु उपयुक्त हुन्छ।
तिहारमा कुन समूहले बढी खानपिनमा ध्यान दिनुपर्छ ?
– चाडपर्वको बेलामा सामान्यतया बच्चा र वृद्ध अवस्थाका व्यक्ति र बढी रोगीहरुले ध्यान दिनुपर्छ।
– अन्न, गेडागुडी, फलफूल, तरकारी र माछा मासु खानामा मिलाएर खानुपर्छ। चिल्लो कम गर्नुपर्छ।
– मधुमेह, उच्च रक्तचाप, मिर्गौला, क्यान्सर लगायत दीर्घ रोगीहरुले खानपिनमा विशेष सावधानी अपनाउनुपर्छ।
तिहारमा बनाइएको सेल रोटी कति समयसम्म भण्डारण गरेर खान मिल्छ ?
– सेल रोटी कसरी भण्डारण गरिएको छ, त्यसमा भर पर्छ।
– सही तरिकाले फ्रिजमा भण्डारण गर्यौं भने १५/२० दिनसम्म खान मिल्छ।
– पातलो पिठो र राम्रोसँग पकाइएको छ भने लामो समयसम्म भण्डार गर्न मिल्छ।
– राम्रोसँग नपकाइएको र भण्डारण नगरिएको रोटी छिट्टै बिग्रन पनि सक्छ।
– पटक पटक तताइरहेको तेलमा पकाइएको रोटीमा गन्ध आउन सक्छ।
– एउटा सेल रोटीले ५ देखि १० ग्राम चिल्लो लिएको हुन्छ।
– सामान्य व्यक्तिलाई दैनिक ५० देखि ६० ग्राम चिल्लो आवश्यक हुन्छ।
– चिल्लो पदार्थ खाइरहँदा अन्य रेसादार खानेकुराहरुलाई समावेश गर्नु पनि उत्तिकै आवश्यक छ।
बजारमा उपलब्ध मिठाइको विकल्पहरु के के हुन सक्छन् ?
– बजारमा पाइने मिठाईमा भन्दा घरमा बनाइने मिठाई स्वास्थ्यका हिसाबले राम्रो हुन्छ।
– दूधको कुरौनीबाट खुवा, अर्सा, अनरसा, फिनी जस्ता पनि मिठाईका रुपमा प्रयोग गर्न सक्छौ।
तिहारमा गरिने खानपिनमा ध्यान दिन नसके कस्तो स्वास्थ्य समस्या निम्तन सक्छ ?
– अत्यधिक मात्रामा माछा मासु र चिल्लो पदार्थ खाँदा शरीरको तौल बढ्न सक्छ।
– दीर्घ रोगीहरुको समस्या थप बढेर जान सक्छ।
भिडियो – मनिष अर्याल