काठमाडौं– काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। चिसोले सबैभन्दा बढी प्रभाव पार्ने रोगमध्ये दम पनि एक हो। दम श्वासप्रश्वाससम्बन्धी रोग भएकाले चिसोमा यसका बिरामीलाई झनै गाह्रो बनाउन सक्छ। चिसोमा भाइरल संक्रमण र वायु प्रदूषण दुवै बढ्ने भएकाले दम भएका बिरामीका लागि चिसो जोखिमपूर्ण छ।
चिसो मौसम र दम रोगका बिरामीसँग सम्बन्धित विषयमा हामीले वीर अस्पतालका छाति रोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठसँग भिडियो कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
दम कस्तो स्वास्थ्य समस्या हो?
– दम श्वासप्रश्वास सम्बन्धी समस्या हो।
– फोक्सोमा जाने हावाले अवरोध उत्पन्न भई श्वास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने, खोकी लाग्ने समस्यालाई दम रोग भनिन्छ।
दम रोगीका लागि चिसो मौसम कत्तिको जोखिमपूर्ण मानिन्छ?
– दम रोगीका लागि चिसो मौसम जोखिमपूर्ण नै हुन्छ।
– चिसो मौसममा श्वासप्रश्वासको नलीमा भाइरस संक्रमण हुने संभावना हुन्छ।
– चिसोमा वायु प्रदूषणको समस्या पनि बढी हुने भएकाले जोखिमपूर्ण हुन्छ।
– चिसोमा भाइरल संक्रमण र वायु प्रदूषण बढ्ने भएकाले नियन्त्रणमा भएको समस्या पनि बढ्न सक्छ।
चिसोमा समस्या आफ्नो समस्या बढ्यो भनेर दम रोगीले कसरी आफैँ थाहा पाउन सक्छन्?
– हो, बिरामीहरु आफैँले पनि घरमा बसेर समस्या बढे नबढेको थाहा पाउन सक्छन्।
– साबिकभन्दा बढी खोकी लागे, घ्यारघ्यार बढी भए, खकार बढी आए, खकारको रंगमा परिवर्तन आए विचार गर्नुपर्छ।
– नियमित लिइरहेको औषधिको मात्रा पनि बढाउनुपर्यो भने बिरामीले समस्या बढेको भनेर थाहा पाउनुपर्छ।
चिसोले दम रोगको समस्या किन र कसरी बढाउँछ?
– चिसोमा भाइरल संक्रमण र वायु प्रदूषण बढ्ने कुरा मैले गरिसकेको छु।
– चिसो हावामा आद्रताको कमी हुन्छ। यसले खोकी बढाउने समस्या हुन्छ।
गर्मीको तुलनामा चिसोमा दम रोगका कति बिरामी उपचारका लागि आउँछन्?
– मंसिरको पहिलो हप्तादेखि नै दम रोगका बिरामीहरु बढ्न थाल्छन्।
– ओपिडी, इमरजेन्सीमा पनि दम रोगका बिरामी बढेका छन्।
चिसो मौसममा दम रोगका बिरामीले के गर्नु हुँदैन?
– चिसोमा बिहान र बेलुकी समयमा वाकिङ्गका लागि बाहिर जानु हुँदैन।
– बिहान र बेलुकी वायु प्रदूषण बढ्ने भएकाले दम रोगीका लागि समस्या बढाउन सक्छ।
– दम रोगीले मास्कको अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ।
– चिकित्सकले दिएका औषधिहरु नियमित रुपमा खानुपर्छ।
– चिसोमा एक पटक चिकित्सकलाई परामर्शका लागि भेट्नुपर्छ।
– कुनै पनि किसिमको समस्या बढेको छ भने घरमा बस्नु हुँदैन।
बिरामीले हेलचक्र्याई गर्दा कस्तो किसिमको जटिलता निम्तन सक्छ?
– हेलचक्र्याई गर्दा शरीरमा अक्सिजनको मात्रा कमी हुन्छ।
– आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था हुन सक्छ।
– छातिको संक्रमण बढ्न गए बिरामीको मृत्युसमेत हुनसक्छ।
भिडियो – निमेषजंग राई