काठमाडौँ- 'होस्टेलमा आएर विद्यार्थीलाई पटक-पटक धम्क्याउँदै मानसिक यातना दिन पाइँदैन।' त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत महाराजगञ्ज क्याम्पस होस्टेलको मुल गेटमा टाँसिएको वाक्य हो यो।
उक्त होस्टेलमा महाराजगञ्ज क्याम्पसमा एमबिबिएस, फार्मेसी लगायत पारामेडिकल अन्तर्गतका विभिन्न संकायमा पढ्ने विद्यार्थीहरु बस्छन्। केही दिनयता होस्टेलको विषयलाई लिएर विद्यार्थी र क्याम्पस प्रशासनबीच विवाद भइरहेको छ। विगत केही समययता होस्टेल सुधार समूह नामको अभियान नै सञ्चालन भइरहेको छ। उक्त समूहले गत हप्ता होस्टेल सुधारको माग राख्दै क्याम्पस प्रमुख र डिनको कार्यालयलाई पत्राचार गरेको थियो।
आफूहरुले पठाएको पत्रको बेवास्ता भएपछि उनीहरुले सोमबारबाट क्याम्पस प्रमुख र डिनको कार्यालय अगाडि आन्दोलन गरेर ताला लगाए। हिजो मंगलबार डिनको कार्यालयमा लगाएको ताला फोर्न प्रहरी आइपुग्यो। प्रहरी र विद्यार्थीबीच झडप भयो। दुई जना विधार्थी पक्राउ परे। त्यसलगत्तै विद्यार्थी र क्यापस प्रशासनबीच छलफलसमेत भयो।
जति विद्यार्थीहरुलाई होस्टेलको व्यवस्था गर्नुपर्ने हो। त्यसको व्यवस्थापन कलेजले गर्न नसकेको विद्यार्थीले आरोप लगाएका छन् भने सबै विद्यार्थीलाई होस्टेलको सुविधा दिन नसक्ने क्याम्पस प्रशासनले बताएको छ। अहिले आन्दोलनरत विद्यार्थीले शतप्रतिशत विद्यार्थीलाई भाडामा बिल्डिङ लिएर भए पनि होस्टेल उपलब्ध गराउनुपर्ने माग राखेका छन्।
९० प्रतिशतभन्दा बढी विद्यार्थी काठमाडौँ बाहिरबाट आउने हुनाले सबैलाई होस्टेलको व्यवस्था हुनुपर्ने एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छात्र गोविन्द भण्डारी बताउँछन्। 'सबैले होस्टेल पाउनुपर्छ। ९० देखि ९५ प्रतिशत बाहिरैबाट आएका विद्यार्थी छन्। बाहिर कोठा पाउनै गाह्रो छ, पाए पनि कम्तीमा मासिक १५ देखि २० हजार खर्च हुन्छ। कहाँबाट ल्याउने त्यत्रो पैसा?,' उनले भने।
उनको कुरालाई साथ दिँदै अर्का विद्यार्थी भन्छन्, 'बाहिर बस्दा कहाँ सस्तोमा बस्न पाइन्छ, त्यतै जानुपर्छ। कहिलेकाहीँ बिहानै पोस्टिङ हुन्छ, आउन-जान गाह्रो हुन्छ।'
यता क्याम्पस प्रमुख अर्जुन लामिछाने भने सबै विद्यार्थीलाई होस्टेल सम्भव नभएको बताउँछन्।
उक्त होस्टेलमा पाँच वटा ब्लक छन्। ए, बी सी डी र ई। हालसम्म ए, बी र सी ब्लक मात्रै होस्टेलको रुपमा सञ्चालनमा आइरहेको थियो। ए र बी ब्लकमा २४३ जनाको क्षमता छ। सी भने छात्राहरु बस्ने ब्लक हो, जहाँ ५५ देखि ६० जनाको क्षमता छ। त्यस्तै ब्लक डी र ई जम्मा ६४ जना क्षमताको हो। करिब चार वर्षअघि निर्माण सम्पन्न भएको डी र ई ब्लक उद्घाटन नै भएको छैन। डी र ई ब्लक छात्रालाई दिन छुट्याइएको थियो।
छात्रालाई छुट्याइएको ब्लकमा विगत २५ दिनदेखि छात्रहरु गएर बसेका छन्। क्याम्पस प्रशासनले लामो समयदेखि होस्टेलमा नयाँ भर्ना नखोलेकाले छात्रहरु जबरजस्ती गएर डी र ई बिल्डिङमा गएर बसेका हुन्।
क्याम्पस प्रमुख अर्जुन लामिछानेको अनुसार अहिले होस्टेलमा २०० भन्दा बढी विद्यार्थी बस्छन्। तीमध्ये जम्मा ८५ जना मात्रै वैधानिक रुपमा बसिरहेका छन्। 'हामीसँग सीमित होस्टेलको सुविधा छ। सबैलाई पुग्ने होस्टेल छैन। त्यसकारण हामीले व्यवस्थित हिसाबले क्राइटेरिया बनाएर मार्किङ सिस्टम अनुसार भर्ना गरौँ भनेको हो। यहाँ केही वर्षदेखि अनधिकृत रुपमा बस्ने विद्यार्थी छन्। उनीहरुलाई लिगलाइज गरौँ, तिमीहरुलाई क्राइटेरियामा पारौं भन्दा पनि उनीहरु मान्दैनन्,' उनले भने।
विद्यार्थीहरुले होस्टेलको लागि नयाँ भर्ना नखुलेको भनिरहँदा लामिछाने भने १० महिनाअघि नै होस्टेलको नयाँ भर्ना खुलेको दावी गर्छन्। 'नयाँ भर्ना सुरु गरेको १० महिना भइसक्यो। वैशाखमै खुलेको हो। बीचमा विद्यार्थीहरुले नै अनेक कुरा झिकेर कहिले के कहिले के गर्दा ढिला भएको हो। हामीले ओपनिङ नै नगरेको बिल्डिङमा विद्यार्थी बसेका छन्। त्यहाँ क्याम्पसले को-को बसेका छन् भन्ने पनि चिन्दैन। तिनैलाई हटाउन खोजेको हो। त्यो बिल्डिङलाई तयार गरेर बस्न दिनेभन्दा भन्दै उनीहरु आफैं बस्न थाले,' उनले भने।
यता विद्यार्थीहरु भने डी र ई बिल्डिङमा आफूहरु बस्न थालेपछि मर्मत गर्ने भन्दै प्रशासनले दु:ख दिएको बताउँछन्। 'हामी नबसुन्जेल मर्मत-सम्भार गर्ने कुरै थिएन। हामी बसेको केही दिनमै मर्मत गर्ने भन्दै खाली गर्न भनियो। अहिले त पानी र बत्ति पनि काटिदिएको छ,' एक विधार्थीले भने।
क्याम्पस प्रमुख भने उक्त बिल्डिङमा पानी र बत्तिको सप्लाई नै नभएको बताउँछन्।
होस्टेलको सरसफाइमा पनि प्रशासनले केही नगरेको विद्यार्थीहरुको गुनासो छ। 'क्यान्टिनको ढल कोठाको छेउबाटै बग्छ। शौचालय पस्न नसकिने हुन्छ। प्रशासनले केही हेर्दैन,' एक विद्यार्थीले भने। क्याम्पस प्रमुख लामिछाने भने आफू बसेको ठाउँमा आफैंले सफा गर्नुपर्ने बताउँछन्।
'बाहिरको सरसफाइमा कर्मचारीहरुले गरिरहनुभएको छ, भित्र आफैंले गर्नुपर्छ। शौचालयका धाराका टुटी फेरेका छौँ, ढलको व्यवस्था गरेका छौँ, फोहोरको व्यवस्थापन गरेका छौँ। आफ्नो कोठा त आफैं सफा गर्नुपर्यो नि,' उनले भने।
मंगलबार विद्यार्थी र प्रशासनबीच भएको छलफलमा होस्टेलमा बस्नेहरुको सूची छिट्टै सार्वजनिक गर्ने र उक्त सूची सार्वजनिक नहुन्जेल ब्लक डी र ई मा विद्यार्थी बस्न मिल्ने भनिएको छ। 'त्यससँगै क्याम्पससँग भएको भवन अपुग भएमा भाडामा भवन लिएर भए पनि होस्टेलको व्यवस्थापन गर्छौं भन्नुभएको छ,' होस्टेल सुधार समूहका गोविन्द देवकोटाले भने।
प्रशासनले दिएको आश्वासन पूरा नभए विद्यार्थीले फेरि आन्दोलनमा उत्रिने बताएका छन्। नेपाल मेडिकल काउन्सिल (एनएमसी)को मेडिकल कलेजले पूरा गर्नुपर्ने मापदण्ड पुस्तिका ‘एक्रिडेसन स्ट्यान्डर्डस् फर द एमबिबिएस २०१७’मा छात्रवृत्ति पाएकामध्ये कम्तीमा ७५ प्रतिशत विद्यार्थीलाई होस्टल सुविधा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ। उक्त मापदण्ड अनुसार आफूहरुले होस्टेलको सुविधा लिन नपाएको अधिकांश विद्यार्थीको गुनासो छ।