काठमाडौं– सुर्खेतको बराहताल गाउँपालिकाका २६ वर्षीय भुपेन्द्र चालिसे गत कात्तिक ७ गते वीरेन्द्रनगरबाट बड्डीचौर फर्किँदै थिए। हार्डवेयर पसलका लागि सामान अर्डर गरेर फर्किंदै गरेका भुपेन्द्रले चलाएको मोटरसाइकल बीच बाटोमै दुर्घटना भयो।
जंगलको बाटोमा भुपेन्द्रको बाइकलाई पछाडिबाट आएको फोर्स गाडीले ठक्कर दिएको थियो। उनको उद्दार हुँदासम्म ठक्कर दिने गाडीका चालक फरार भइसकेका थिए। उद्दार गर्नेले उनलाई सुर्खेतको प्रादेशिक अस्पताल लगिदियो। त्यसपछि बल्ल उनको परिवारले दुर्घटना भएको खबर पायो।
परिवार अस्पताल पुग्दा भुपेन्द्रको निधार र छातीमा सानोतिनो चोट देखिएको थियो। हातखुट्टा या शरीरका अन्य अंग केही भएको थिएन। तर टाउकोको सिटी स्क्यान गर्दा उनको दिमागमा चोट देखियो। प्रादेशिक अस्पतालले काठमाडौं लगेर उपचार गर्न सुझायो। कहिल्यै यस्तो दुर्घटना नभोगेको भुपेन्द्रको परिवारले काठमाडौंको कुन अस्पताल जाने भेउ पाउन सकेन।
सुर्खेतमै अस्पतालमा बसिरहँदा धेरैले काठमाडौंको मेडीसिटी अस्पतालमा राम्रो उपचार हुने बताएका थिए। तर उनीहरुलाई सरकारी अस्पताल लैजान पाए सहुलियतमा उपचार हुन्थ्यो कि भन्ने आशा थियो। उता ठक्कर दिने गाडीका चालक पनि दुर्घटना भएकै दिन प्रहरीको सम्पर्कमा आइसकेका थिए।
‘बस चाहिँ दैलेखको मान्छेको रहेछ। सुर्खेतकै देउती नागरिक यातायात समिति (प्रालि)मा आबद्द रहेछ,’ भुपेन्द्रका भिनाजु चेतन काफ्ले भन्छन्।
काठमाडौं लानै पर्ने भएपछि उनीहरुले यातायात समितिलाई खबर गरे। बिरामीलाई भेन्टिलेटरमा राखेर ल्याउनु पर्ने थियो। एम्बुलेन्स या प्लेनमा त्यो कुरा असम्भव जस्तै भयो। परिवारका सदस्यले हेलिकोप्टर मगाए तर यातायात समितिले हेलिकोप्टरको पैसा नतिर्ने भन्न थाल्यो।
‘आधा भए पनि तिरिदिनूस् भन्दा पनि समितिले मानेन। त्यो समयमा जसरी पनि बिरामीको ज्यान बचाउनु थियो। पैसाभन्दा बिरामीको ज्यान महत्वपूर्ण थियो। पैसाको हिसाब नै भएन। उनीहरुले नतिरे पनि हामी आफैंले ६ लाख ६० हजार तिरेर मेडिसिटी हस्पिटल ल्यायौं,’ काफ्ले भन्छन्।
उनीहरु कात्तिक ९ गते मेडिसिटी अस्पताल आइपुगे। अस्पतालको खर्च समिति (कम्पनी)ले नभइ नव कान्तिपुर भलाइ तथा इन्भेस्टमेन्ट प्रालिले तिर्ने रहेछ। नव कान्तिपुरले कात्तिक १३ गते मेडिसिटी अस्पताललाई आफूले उपचारको रकम भुक्तानी गर्ने भन्दै पत्र लेखेको थियो।
बिरामीलाई काठमाडौं ल्याइसकेपछि उता सुर्खेतमा पनि स्थानीय केही र परिवारका व्यक्तिहरु गएर उपचार खर्च बेहोर्ने सहमतिसहित कागज बनाइएको थियो। ‘हामीले पुलिस रिपोर्ट पनि गरेका थियौँ। सहमति कागज बनाएपछि समिति (यातायात कम्पनी)ले गाडी र ड्राइभरलाई छाडिदिन अनुरोध गर्न थाल्यो। जे नहुनु भइसकेको थियो। बस नै गरिखाने बाटो हो भनेर छाडिदिने भनेका थियौं। तर बिरामीको बुवाले मान्नुभएन। त्यसपछि कम्पनीले उपचार नै गर्दिनँ भन्न थाल्यो। बाध्य भएर बस छाड्नुपर्यो,’ काफ्ले सम्झिन्छन्।
काठमाडौं ल्याए पनि बिरामीको अवस्थामा सुधार आएको थिएन। मेडिसिटीको केही दिनको बसाइपछि फेरि नवकान्तिपुरले धेरै खर्च भयो भन्दै परिवारलाई गनगन गर्न थाल्यो। नव कान्तिपुरका प्रतिनिधिहरु बिरामी अन्तै सारौँ भन्न थाले।
‘सुरुमा हेलिकोप्टरको खर्च बाहेक बिरामी निको नहुन्जेल खर्च गर्छौं भनेकाहरु एकाएक खर्च धान्न सक्दैनौं भन्न थाले। बिरामीलाई कहाँ लैजाने, के गर्ने हामीलाई मेसो थिएन। मेडिसिटीका डाक्टरहरुले पनि प्रालिका मान्छेहरुले हात निकाल्ने दिन आउँछ, खर्च बढी हुन्छ भनेझैँ गर्नुभयो,’ काफ्लेले भने।
त्यसपछि बिरामीलाई ट्रमा सेन्टर सार्ने सल्लाह भयो। बल्लतल्ल बेड मिलाएर कात्तिक ३० गते ट्रमा सेन्टरमा सारियो। काफ्लेका अनुसार अहिले भुपेन्द्रको स्वास्थ्यमा थोरै सुधार आएको छ।
उनी भन्छन्, ‘मेडिसिटीमा हुँदा अब बिरामीले आँखा देख्नु हुन्न होला भनेका थिए। प्यारालाइसिस जस्तै भएको छ भनेका थिए। तर अहिले आँखामा समस्या छैन, हातखुट्टा पनि चलेको थियो। आजभोलि चाहिँ एउटा खुट्टा दह्रो जस्तो भएको छ। बोलायो भने मुख चलाउने, जिब्रो चलाउने गर्छन्। पहिले जस्तो भेन्टिलेटरको पूर्ण सपोर्टमा छैनन्। भेन्टिलेटरको मोडहरु झार्दै गएको छ। जे होस् पहिलेभन्दा सुधार भएको छ।’
नव कान्तिपुरको हेलचेक्र्याइँ: बिरामीको परिवारलाई छुट्टै तनाव
मेडिसिटीमा खर्च धेरै भयो भनेर बिरामी ट्रमा सेन्टर सार्न लगाएको नव कान्तिपुर भने जिम्मेवारीबाट भागेको बिरामीको परिवार बताउँछ। मेडिसिटीमा भर्ना गरेपछि बिरामीको परिवारले नै पनि २ देखि ३ लाखको हाराहारीमा पैसा खर्च गरेको दाबी गरेको छ। यातायात कम्पनीले भने मेडिसिटीमा १७ लाख खर्च भएको काफ्लेलाई बताएको थियो।
ट्रमा सारेपछि गत महिनाको ६/७ गतेतिर केही रकम दिएका कम्पनीका सदस्यहरुले अहिले फोन नै उठाउन छाडेको काफ्लेले बताए। ‘एउटा मान्छेले मात्रै फोन उठाउँछ, म कुरा गर्छु भन्छ। हामीलाई पैसाको अभाव भएको छ। फरकफरक टेस्ट गर्न कहाँकहाँ पुग्नुपर्छ। पैसा चाहिन्छ। यहाँ फार्मेसीबाट उधारोमा औषधि ल्याइरहेका छौँ। अहिले फार्मेसीले पैसा मागिरहेको छ,’ काफ्ले थप्छन्, ‘तर पैसा सकियो भन्दैमा उपचार रोक्न मिलेन, स्वास्थ्य बीमा पनि भर्खरै गरियो। अस्पताल प्रशासनले पनि गर्न सक्ने सहयोग गरिरहेको छ। अहिले उनीहरुको पैसाको भर पर्नुभन्दा पनि कसरी उपचार निरन्तर गर्ने भन्ने कुरा महत्वपूर्ण हो। उपचार रोकिएर बिरामीलाई अफ्ठ्यारो पर्ने अवस्था कसैको नआओस्।’
अहिलेसम्म बिरामीको परिवार आफैँले १३ देखि १४ लाख रुपैयाँ खर्च गरिसकेको छ। उपचार खर्चको कुरा गर्न नव कान्तिपुरको कार्यालय बालाजुसम्मै पुगेका काफ्ले भन्छन्, ‘पैसा दिन्छौं, हुन्छ-हुन्छ भनेर मिठो बोलेर फिर्ता पठाउँछन्। तर आउनूस् कुरा गरौँ भन्दा मान्दैनन्। पैसा तिर्न बाँकी बिलको चाङ भइसक्यो। सडक दुर्घटनामा यसरी यातायात समिति (कम्पनी)ले दु:ख दिने कुरा सम्बन्धित निकायले कहिले थाहा पाउला?’