काठमाडौं- ‘२०८०/६/२ गते !’
काठमाडौंकी २८ वर्षीया एक महिलाले वीर अस्पतालमा शल्यक्रियाका लागि पालो पाएको मिति हो यो।
पेट दुख्ने, फुल्लिने र असहज हुने समस्याले सताएपछि उनी १५ चैतमा देशको जेठो वीर अस्पताल पुगेकी थिइन्। परीक्षणका क्रममा पित्तथैलीमा पत्थरी देखियो। चिकित्सकले शल्यक्रिया गरेर पत्थरी निकाल्नुपर्ने सुझाव दिए। तर उनले शल्यक्रियाका लागि अर्को वर्ष अर्थात् ६ महिनापछि मात्र पालो पाएकी छिन्।
आफूले ढिलो पालो पाएकोबारे उनी भन्छिन्, ‘पित्तथैलीमा पत्थरीको अपरेसन गर्नुपर्ने हो। हामीलाई ६ महिनापछि पालो दिएका छन्। खै, के कारणले ढिला भएको हो !’
उनी अस्पतालबाट आउने फोनको पखाइमा छिन्। कारण, उनलाई छिटो गर्न सके अगाडि बोलाउँछौ भनेर अस्पतालले आश्वासन दिएको रहेछ।
‘छिटो भयो भने हामी अगाडि पनि बोलाउँछौ भनेका छन्। म अहिले पनि वीर अस्पतालजाँदै छु,’उनले भनिन्।
वीर अस्पतालको युरोलोजी विभागमा उनी जस्तै शल्यक्रियाका लागि पालो पर्खनेको लामो लाइन छ। डेढ सयजना बिरामी शल्यक्रियाका लागि पालो कुरिरहेका छन्। मेडिसिनपछि धेरै व्यस्त र बिरामीको भीड लाग्ने विभाग हो यो।
देशको पुरानो र बिरामीको आसाको केन्द्र हो वीर अस्पताल। सर्वसुलभ र गुणस्तरीय सेवा पाउने आसामा ७७ जिल्लाबाट उपचार पाउन बिरामीहरू वीर अस्पताल धाउने गर्छन्। तर सर्वसुलभ उपचार पाउन सोचेजति सहज पक्कै छैन।
विभागमा शल्यक्रियाका लागि ९ महिनासम्म कुर्ने बिरामीहरु रहेको विभागका प्रमुख प्राडा रविनबहादुर बस्नेत बताउँछन्। शल्यक्रियाका लागि अस्पताल पुग्ने बिरामीहरुलाई वीरले दुई भागमा वर्गीकरण गरेको छ।
पहिलो, इमरजेन्सी अपरेसन,जुन तत्काल र केही घण्टाको फरकमा गरिहाल्नुपर्छ। तत्काल शल्यक्रिया नगरे बिरामीको ज्यान जान सक्छ।
दोस्रो, सेमी इमरजेन्सी अपरेसन,जुन एक-दुई सातामा शल्यक्रिया गरिहाल्नुपर्छ। यी मिर्गौलाको क्यान्सर, एउटा मात्र मिर्गौला भएका लगायत बिरामीहरु हुन्। पिसाब रोकिएर आउने बिरामीहरु पनि यस अन्तर्गत पर्छन्। कुर्न मिल्ने बिरामीहरुलाई समय दिएर पठाउने गरिन्छ।
पर्खने बिरामीहरु सबैको सम्पर्क नम्बर राख्ने र शल्यक्रिया गर्ने दिन आएपछि फोन गरेर बोलाउने गरेको उनले बताए। प्रशासनिक रुपमा हुनुपर्ने प्राविधिक सहयोगहरु नपाउने गरेको उनको गुनासो छ। आवश्यक उपकरणको अभाव भएका पनि पुराना भएको उनले सुनाए।
‘कुनै सामानहरु तीन/चार वटा केसपछि प्रतिस्थापन गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ सानो एउटा औजार नभएर पनि डेढ-दुई महिनासम्म अपरेसन रोकिन्छ। तीन महिनाअघि जुन समस्या थियो, अहिले पनि यही समस्या छ,’ उनले भने।
युरोलोजी विभागमा दैनिक १५० देखि २०० जना ओपीडीमा आउँछन्। जसमध्ये ७० देखि ७५ प्रतिशत काठमाडौं बाहिरका हुन्छन्। उनीहरुमा पनि ७५ प्रतिशत बिरामी काठमाडौं आउन नपर्ने खालका हुन्छन्।
अर्थात् काठमाडौं बाहिर उपचार हुने बिरामीहरु पनि वीर अस्पताल आउने गरेको डा बस्नेतले बताए। उनका अनुसार युरोलोजीसम्बन्धी सेवा झापा, धनगढी, वीरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज लगायत जिल्लामा उपलब्ध छ।
उनले भने, ‘वीर अस्पताललाई रिफरल सेन्टर भनेपछि रिफर भएका बिरामी मात्र आउनुपर्छ। बाहिर उपचार नभएका बिरामी मात्र आएपनि हामीलाई ७५ प्रतिशत भार कम हुन्छ। ’
शल्यक्रियाको लागि बिरामीको चाप घटाउने हो भने सरकारी र नीतिगत तहबाटै पहल हुनुपर्ने उनको भनाइ छ। युरोलोजीको लागि दुई वटा अपरेसन थिएटर छन्। र,७७ शय्या छुटयाइएको छ। तर २२ शय्या मात्र सञ्चालनमा छन्। बाँकी शय्या कोभिडको लागि भनेर राखिएको छ। कन्सल्टेन्ट ६ र रजिडेण्ट ५ जना छन्। युरोलोजीका लागि तालिम प्राप्त नर्सिङ स्टाफ दुई जना मात्र छन्। जनशक्तिर उपकरण अभावको समस्या झेलिरहेको उनले बताए।
सबै विभागमा उही समस्या
वीर अस्पतालको युरोलोजी विभाग मात्र होइन, अन्य विभागको समस्या पनि उस्तै छ। जसमध्ये एक हो– नाक, कान, घाँटी विभाग।
स्वयम्भु, काठमाडौंकी ६१ वर्षीया चेतना तामाङ केही समयअघि वीर अस्पतालको नाक, कान, घाँटी विभाग पुगिन्। आँखाबाट आँसु धेरै बग्ने समस्या भएपछि उनी नातिनीसँग अस्पताल पुगेकी थिइन्।
चिकित्सकले उनलाई शल्यक्रिया गर्न सुझाव दिए। उनले पालो त पाइन् तर चार महिनापछि ४ साउन, २०८० सालमा।
यसबीच आँखाको दुखाइ कम भएन। त्यसैले उनले तिलगंगा अस्पताल पुगेर आँखाको शल्यक्रिया गराइन्।
‘हजुरआमाको आँखा दुखिरहेको थियो। चार महिनापछि मात्र पालो पायौँ। धेरै दुखेपछि तिलगंगामा गएर अपरेसन गर्यौँ,’ तामाङककी नातिनीले भनिन्।
वीरमा हाल यस विभागमा मात्रकरिब तीन सय जना बिरामी छन्, जो शल्यक्रियाका लागि पालो कुरेर बसेका छन्। दैनिक पाँच बिरामी शल्यक्रियाको पालो लिन मात्र विभाग पुग्छन्।
कुर्ने बिरामीको चाप बढेपछि विभागले चार महिनायता कसैलाई समय दिन छाडिसक्यो।
‘शल्यक्रियाका लागि दैनिक बिरामी आउन थालेका छन्। बिरामीको चापले गर्दा चार महिनाभन्दा पछि समय दिन छाडिएको छ,’ विभागका एक चिकित्सकले स्वास्थ्य खबरलाई बताए, ‘आउने जति सबै बिरामीलाई समय दिने हो भने पर्खने समय वर्षौं पुग्न सक्छ। हामीले चार महिनापछिका बिरामीलाई सूचीमा राख्नै छोडिसक्यौँ।’
पूर्व विभागीय प्रमुख एवं नाक, कान घाँटी रोग विशेषज्ञ प्राडा दिपेन्द्र श्रेष्ठ ३ देखि ६ महिनासम्म बिरामीले पालो कुर्नुपरेको बताउँछन्। उनका अनुसार आकस्मिक उपचारको आवश्यकता नभएका बिरामीलाई मात्र पालोमा राख्ने गरिएको छ।
उनी भन्छन्, ‘पालो पाएर पर्खने बिरामी मात्र तीन सय जति छन्। पालो नपाउने त झन् कति होलान् ?’
विभागमा चिकित्सक, नर्सिङ स्टाफ गरी २९ जनशक्ति छन्। तर जनशक्तिअनुसार आवश्यक उपकरण र अपरेशन थिएटर नभएको डा श्रेष्ठको गुनासो छ। हाल विभागको लागि दुई वटा अपरेसन थिएटर उपलब्ध छन्। सातामा पाँच दिन शल्यक्रिया हुन्छ, तीन दिन मेजर र दुई दिन माइनर।
यसअघि १६ वर्षसम्म यस विभागले एउटा अपरेसन थिएटरबाट मात्र सर्जरी गर्दै आएको थियो। नयाँ सर्जिकल भवन बनेपछि दुई महिनादेखि दुई वटा थिएटरबाट सर्जरी सुरु भएको हो। चिकित्सकको संख्याअनुसार आवश्यक उपकरण र अपरेसन थिएटरको संख्या बढाउन सके पालो पर्खने बिरामीको संख्या कम गर्न सकिने श्रेष्ठ बताउँछन्।
‘सर्जरीको संख्या बढाउने हो भने पाँच वटा अपरेसन गर्नसक्ने सामानहुनुपर्छ। चिकित्सक मात्र भएर अपरेसनको संख्या बढ्दैन,’उनी भन्छन्, ‘नयाँ सर्जिकल भवन बनेपछि पहिलाभन्दा सर्जरी बढेको छ। तर यो पर्याप्त छैन। ’
विभागमा दैनिक करिब चार सय बिरामी ओपीडीमा आउँछन्। जसमध्ये १५० देखि २ सय नयाँ बिरामी हुन्छन्।
वीर अस्पतालको डेण्टल विभागमा शल्यक्रियाका लागि पालो पर्खने बिरामीको संख्या पनि ठूलो छ। दाँत भर्नका लागि एक वर्ष, दाँत बाँध्ने, सिधा गर्ने अर्थोण्डिक उपचारका लागि तीन वर्षसम्म कुर्नुपर्ने बाध्यता छ। कृत्रिम दाँत बनाउन चाहनेले ६ महिनादेखि एक वर्षसम्म पालो पर्खनु परेको दन्त विभागले जानकारी दियो।
ग्याष्ट्रो इन्टरलोजी विभागमा पनि शल्यक्रियाका लागि पालो पर्खनुपर्छ। आकस्मिक शल्यक्रियाको आवश्यक नभएका बिरामीलाई मात्र पालोमा राख्ने गरिएको डा जैनेन्द्र बताउँछन्। उनका अनुसार पर्खन मिल्ने बिरामीलाई चार सातासम्म मात्र लाइनमा राख्ने गरिएको छ।
अस्पतालका एक चिकित्सक पहुँचवालाले मात्र समयमा शल्यक्रियाको उपचार पाउने गरेको कटुसत्य उजागर गर्छन्। उनी भन्छन्, ‘पहुँचवाला व्यक्तिले तत्काल शल्यक्रियाको समय पाउँदा गरिब र साधारण जनताले पालो कुर्नुपरेको छ। ’
१६ मध्ये ९ वटा मात्र अपरेसन थिएटर सञ्चालनमा
वीर अस्पतालमा हाल दैनिक ओपीडीमा आउने बिरामीको संख्या दुई हजार बढी छ। यहाँ जनरल सर्जरी, ग्यास्ट्रो, युरो, इएनटी, न्युरो, भास्कुलर, प्लास्टिक, अर्थोपेडिकलगायत विभिन्न सर्जरी विभागछन्। यीमध्ये सबैभन्दा बढी युरोलोजी, जनरल सर्जरीमा बिरामीको चाप हुने गरेको अस्पतालका कार्यकारी निर्देशक डा सन्तोष पौडेल बताउँछन्।
यी सबै विभागमा कति बिरामी शल्यक्रियाका लागि पर्खिरहेका छन् भन्ने तथ्यांक वीर अस्पतालले महत्वका साथ राख्ने गरेको छैन। तर विभागले बिरामीको संख्या व्यवस्थित रुपमा अभिलेखमा राख्ने तयारी गरिएको पौडेलको दाबी छ।
वीर अस्पतालमा १६ वटा अपरेसन थिएटर छन्। जसमध्ये हाल ९ वटा मात्र सञ्चालनमा छन्। अन्य सात वटा अपरेसन थिएटर सञ्चालनमा आउन बाँकी छ। ९ वटा अपरेसन थिएटरबाट विभिन्न सर्जरी विभागको गरी दैनिक ५० जनाको शल्यक्रिया (मेजर, माइनर सबै किसिमको) हुँदै आएका छन्।
सात वटा अपरेसन थिएटर सञ्चालन गर्न आवश्यक उपकरणको समस्या छैन। केही उपकरण खरिद गर्न बाँकी रहेपनि समस्या उपकरणको होइन। मुख्य समस्या भनेको जनशक्ति अभाव हो।
नर्सिङ जनशक्ति र एनेस्थेसियोलोजिस्ट जनशक्तिको अभावका कारण यी सात वटा अपरेसन थिएटर सञ्चालन गर्न समस्या बनेको छ।
नर्सिङ जनशक्तिको अभाव पूर्तिका लागि लोकसेवाबाट तीन सय जनशक्ति थप्ने तयारी भइरहेको डा पौडेल बताउँछन्। वीर अस्पतालमा अहिले २१ जना एनेस्थेसियोलोजिस्ट छन्। तर यी पनि पर्याप्त नभएको उनको भनाइ छ।
‘उपलब्ध नर्सिङ र एनेस्थेसियोलोजिस्टले ९ वटा अपरेसन थिएटरको मात्र नभई १८ शय्याको आइसीयू, इमरजेन्सी, एमआरआईलगायत अन्य उपचारमा पनि संलग्न हुनुपर्ने बाध्यता छ। त्यसैले यो जनशक्तिको अभाव छ,’ उनी भन्छन्, ‘यी जनशक्तिको पूर्ति गरेपछि अबको तीन महिनामा सात वटा अपरेसन थिएटर पनि सञ्चालन गर्न सक्छौं कि भन्ने छ। ’
१६ वटै अपरेसन थिएटर सञ्चालनमा आएपछि शल्यक्रियाको समय पनि बढाउने वीर अस्पतालको योजना छ। ९–४ बजेसम्मको समयलाई बढाएर बिहान ८ देखि साँझ ६–७ बजेसम्म पु¥याउने आफ्नो योजना रहेको डा पौडेलले सुनाए।
‘विस्तारित अस्पताल सेवा सुरु गर्न सके बिरामीको संख्या घटाउन सकिन्छ,’ उनले बताए, ‘१६ वटा अपरेसन थिएटर सञ्चालनमा आउन सके दैनिक हुने शल्यक्रियाको संख्या बढेर ८० सम्म पुर्याउन सकिनेछ। ’
डा पौडेल कार्यालयको समय पाँच घण्टा बढाउन सके अर्को ५० वटा जति अपरेसन गर्न सकिने कुरामा आसावादी छन्। ‘यसलाई पनि विस्तारित अस्पताल सेवासँग जोड्यौ भने हामी १३० देखि १५० सम्म पुग्न सक्छौं,’ उनको योजना छ।
तत्काल शल्यक्रिया आवश्यक भएका बिरामीलाई पालोमा राख्ने नगरिएको उनको दाबी छ। ‘कुर्न मिल्ने र कुर्दा शरीरलाई असर नगर्ने खालका बिरामीलाई मात्र पालोमा राख्ने गरिएको छ,’ उनले बताए,‘ पालो पर्खने अवधि विभागअनुसार फरक छन्। ’
५५ आइसीयूसहित हाल वीर अस्पतालको शय्या क्षमता एक हजार पुगेको छ। यहाँ १६ सय बढी जनशक्ति कार्यरत छन्।
कान्तिमा एक वर्षसम्म पालो पर्खन्छन् बिरामी
देशको एक मात्र केन्द्रीय बाल अस्पताल हो, कान्ति बाल अस्पताल। यहाँबाल शल्यचिकित्सा गर्नुपर्ने ७७ जिल्लाकै बिरामी रिफर भएर आइपुग्छन्। सबैको आसाको मियो पनि हो बाल अस्पताल। तर उपचारका लागि पुग्ने सबैले सहज सेवा पाउँदैनन्। चाहे त्यो ओपीडीमा होस् या कुनै शल्यक्रियाको पालो पाउने सवालमा नै किन नहोस्।
ओपीडीमा घन्टौं लाइन बस्नुपर्छ भने शल्यक्रियाका लागि महिनौं पर्खनुपर्छ। कान्तिमा शल्यक्रियाका लागि ६–९ महिना पालो पर्खनु परेको अस्पतालका निर्देशक डा युवानिधि बसौला बताउँछन्।
‘कुरेर पनि गर्न सकिने अपरेसनलाई हामीले ६ देखि ९ महिनाको ग्यापमा राखेका छौं,’ उनले भने, ‘कुनै युनिटको समय अलि छिटो आउँछ, कुनैको ढिलो। कुनैको एक वर्षसम्म पनि पुग्न सक्ने स्थिति हुन्छ। ’
एक घण्टा लाग्ने माइनर शल्यक्रिया दिनमा ८ देखि १० र घन्टौं लाग्ने मेजर शल्यक्रिया भने ३ वटा जति हुने गरेको अस्पताल प्रशासनले जानकारी दियो। कान्तिमा २ वटा मेजर र १ वटा माइनर शल्यक्रिया गरी तीन वटा अपरेसन थिएटर छन्। र, यहाँ ६ दिन नै शल्यक्रिया हुन्छ।
कान्तिमा एक सातामा १० देखि १५ जना बिरामीलाई शल्यक्रियाको पालो दिएर पठाउने गरेको प्रमुख कन्सल्टेन्ट पेडियाट्रिक सर्जन एवं सर्जिकल विभाग प्रमुख डा बालमुकुन्द बस्नेतले जानकारी दिए। नेपालमा पेडियाट्रिक सर्जन निकै कम भएकाले शल्यक्रिया गर्नुपर्ने बिरामीले पालो कुर्नु परेको उनी बताउँछन्।
‘देशभर पाँच जना पेडियाट्रिक सर्जनको मात्र दरबन्दी छ। त्यो कान्तिमा छ। देशभरका बिरामीहरु कान्तिमा आउँछन्। मिति दिएर पर्खाउनु हाम्रो बाध्यता पनि हो,’ उनले भने।
तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीलाई कहिले पनि नकुराएको उनी बताउँछन्। तर केही साता र केही महिना पर्खन मिल्ने बिरामीले मात्र पालो पर्खनु परेको उनले बताए। उनका अनुसार बिरामीको चापअनुसार भएका अपरेसन थिएटर पनि पर्याप्त छैनन्। काठमाडौं बाहिरका प्रादेशिक अस्पतालहरुमा पनि पेडियाट्रिक सर्जनको दरबन्दी खुलाए मात्र शल्यक्रियाको लागि पालो पर्खनेहरुको संख्या कम गर्न सकिने उनी बताउँछन्।
‘१४ वर्ष मुनिका करिब ८० लाख बालबालिका छन्। १० देखि १५ प्रतिशतलाई शल्यक्रियाको आवश्यकता पर्छ। तर सोही अनुपातमा पूर्वाधार र जनशक्तिको तयारी नै गर्दैनौं,’ उनले भने, ‘नेपालभरिका बिरामी यहाँ आउँदा हामी पाँच जनाले मात्र कसरी धान्ने ?’
कान्तिमा उपचार गराउनका लागि दैनिक७ सयदेखि ८ सय बिरामी ओपीडीमा पुग्छन्। इमरजेन्सीमा पनि सयदेखि १५० सम्म बिरामी जान्छन्। बिरामीको चाप बढ्दै गएपनि अस्पतालको भौतिक पूर्वाधार २७ वर्ष पुरानो रहेको डा बसौलाको भनाइ छ।
‘त्यतिखेरको जनसंख्यालाई हेरेर बनाउँदा ठिक थियो होला। तर २७ वर्षमा कति जनसंख्या बढ्यो होला ? ठाउँ साँघुरो छ। धेरै बिरामीलाई सेवा दिउँभन्दा पनि ठाउँको अभाव हुन्छ,’ उनले रोगको बढ्दो जनघनत्वतर्फ इंगित गर्दै भने।
उनी पुरानो भौतिक संरचना र पुराना उपकरण बाल अस्पतालको मुख्य समस्या रहेको बताउँछन्। ठाउँ अभावको समस्या समाधानका लागि हाल अस्पतालले तीन वटा मोडुलर अपरेसन थिएटर बनाउने तयारी गरिरहेको छ।
कान्तिमा बिरामीलाई किन यति लामो समय पर्खाइन्छन् ? भन्ने प्रश्नमा डा बसौला भन्छन्, ‘पहिलो कुरा, काठमाडौं बाहिरका बिरामी यहीँ आउँछन्। दोस्रो, ठाउँको अभाव छ। चाहेर पनि हामीले अपरेसन बढाउन सकेका छैनौं। नर्सिङ र डाक्टरजस्ता जनशक्तिको अभाव छ। ’
जनशक्ति अभावका कारण कान्तिले पनि करारमा डाक्टर भर्ना गरेको छ। यहाँ बाल शल्यचिकित्सक पाँच जना मात्र छन्। ‘हाइड्रोसिल, हर्निया, जन्मजात दिसाघर नभएको, आन्द्रा बटारिएको, मिर्गौला, पित्तथैली, बाल क्यान्सरको शल्यक्रियाका लागि बिरामी बढी आउने गर्छन्,’ उनी भन्छन्।
कान्तिमा मेडिसिन, सर्जरी, प्याथोलोजी, रेडियोलोजी, नर्सिङ र बाल मनोचिकित्सा विभाग सञ्चालित छन्। करिब ६ सय जनशक्ति हाल कान्तिमा कार्यरत छन्। कान्तिमा ३३० शय्या सञ्चालन भए पनि सरकारबाट स्वीकृत १५० शय्या मात्र हो।
बिरामीको चापलाई सम्बोधन गर्न निकट भविष्यमा नै कान्तिमा एक हजार सय शय्याको बाल अस्पताल बनाउने तयारी भइरहेको छ। यसका लागि डीपीआर भइसकेको छ। र, आगामी आर्थिक वर्ष बजेट प्राप्त भए निर्माण कार्य सुरु गरिने डाबसौला बताउँछन्।
उनी भन्छन्, ‘बिरामीको लाइन घटाउन ओटीको ठाउँ बढाउनुपर्छ। मेसिन थप्नुपर्छ। तीन बजेपछि पेइङ क्लिनिक सेवा सुरु गर्न खोजको छौँ। यसले पनि लाइन कम गर्न मद्दत गर्छ। ’
गंगालालमा एक सय जना पर्खर्दै
गंगालाल हृदय केन्द्रमा पनि शल्यक्रियाका लागि पर्खने बिरामीको चाप उस्तै देखिन्छ। १७ चैतसम्मको तथ्यांकअनुसार शल्यक्रियाको लागि दुई महिनासम्म पालो पर्खने बिरामीको संख्या एक सयको हाराहारीमा छ।
आकस्मिक उपचारको आवश्यकता नभएका बिरामीलाई मात्र मिति दिएर पठाउने गरेको केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी बताउँछन्।
भन्छन्, ‘तुरुन्त नगर्दा मान्छेको ज्यान जान्छ भने रोकेका छैनौं र रोक्दैनौं पनि। तुरुन्त गर्नु नपर्ने, एक-दुई सातापछि गर्दा फरक नपर्नेलाई सोही समयमा शल्यक्रिया गर्छौं। कुनै अपरेसन दुई महिनापछि गर्दा पनि ज्यान नजाने खालको छ भने उनीहरूले कुर्नुपर्ने हुन्छ। ’
गंगालालमा हाल तीन वटा अपरेसन थिएटर छ। तीन वटा थप्ने तयारी भएको निर्देशक डा अधिकारीले बताए। अस्पतालमा दैनिक १ देखि ७ जनाको शल्यक्रिया हुने गरेको छ। भल्भ सर्जरी सबैभन्दा धेरै हुने गर्छ।
गत फागुनमा १३ हजार २ सय ६६ जनाले ओपीडीबाट सेवा लिएका थिए। इमरजेन्सीमा १ हजार ५ सय ८८ जना छन्। गंगालालमा हाल ७ सय जना जनशक्ति उपलब्ध छ। २ सय ८० शय्या सञ्चालित छन्।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा दिनेशकुमार काफ्लेले आकस्मिक शल्यक्रिया गनुपर्ने बिरामीलाई पालोमा पर्खाउने नगरेको बताउँछन्। केही समय पर्खदा स्वास्थ्यमा असर नपर्ने खालका बिरामीलाई मात्र मिति दिएर पालो दिने गरेको उनले बताए।
विभिन्न विभागअनुसार बिरामीले पालो पर्खने अवधि फरक हुने उनले बताए। उनका अनुसार जोर्नी फेर्नेले दुई महिना, पित्तथैलीको पत्थरीका बिरामीले पनि केही महिना पर्खनु पर्छ।
त्रिवि शिक्षण अस्पतालमा १ हजार २१० जना कर्मचारीको मात्र दरबन्दी हो। तर करार र स्थायी गरी यस अस्पतालमा हाल १ हजार ८१० बढी कर्मचारी छन्। सीमित जनशक्ति र भौतिक पूर्वाधार अभावका कारण बिरामीहरुले पालो पर्खनले बाध्यता रहेको अस्पतालका एक कर्मचारी बताउँछन्। त्रिवि शिक्षण अस्पतालमा हाल १३ वटा अपरेसन थिएटर छन्।
निजामति कर्मचारी (सिभिल) अस्पतालमा पनि मिर्गौलाको पत्थरी निकाल्न बिरामीहरु ६ महिनासम्म पर्खनुपर्ने बाध्यता छ। अस्पतालका कार्यकारी निर्देशक प्राडा विधाननिधि पौडेलका अनुसार मिर्गौला पत्थरीको शल्यक्रिया गर्ने बिरामीहरु २ महिनादेखि ६ महिनासम्म पर्खनु परेको छ। आकस्मिक उपचारको आवश्यकता पर्ने बिरामीहरुलाई पनि तत्काल शल्यक्रिया गरिएको उनले बताए।
अस्पतालको सेवा सस्तो र गुणस्तरीय भएकाले धेरै बिरामीहरु शल्यक्रियाका लागि सिभिलमै आउने गरेको उनको भनाइ छ। तर आउने सबै बिरामीलाई समयमै सेवा दिन नसकिएको उनी स्वीकार्छन्।
यसको कारण अपरेसन थिएटरको अभाव र भौतिक पूर्वाधारको कमी भएको उनले बताए। सिभिल अस्पतालमा हाल चार वटा मात्र अपरेसन थिएटर छन्। जुन बिरामीको आवश्यकता र चाप अनुसार निकै कम भएको उनले बताए।
‘ओटी बढाउनुपर्छ। भौतिक संरचना बढाउनुपर्छ। ठाउँ पर्याप्त छन्। तर अस्पताल साँघुरो भयो। बिरामीको चाप धेरै छ,’ उनले भने।
अस्पतालमा भएको जग्गालाई प्रयोग गरेर थप भवन बनाउन सकियो भने बिरामीको लाइन घटाउन सकिने उनी बताउँछन्। हाल सिभिल अस्पतालको ओपीडीमा करिब ८ सय जना बिरामी उपचारका लागि पुग्छन्। १५० शय्या सञ्चालनमा रहेको सिभिल अस्पतालमा ५ सय जनाको जनशक्ति छ।
काठमाडौं बाहिरका अस्पतालमा पनि उही समस्या
काठमाडौंको वीर, त्रिवि शिक्षण अस्पताल, कान्ति, गंगालाल हृदय केन्द्रमा मात्र नभई यो समस्या बाहिरका अस्पतालमा उस्तै छ। भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भेरी अस्पतालमा यो समस्या के कस्तो छ भनी हामीले बुझ्ने प्रयास गरेका छौँ:
भरतपुर अस्पताल: केन्द्रीय स्तरको अस्पताल भरतपुरमा पनि बिरामीहरु शल्यक्रियाका लागि लामो समयदेखि पखाइमा छन्। चितवनस्थित भरतपुर अस्पतालमा ल्याप्रोस्कोपीबाट गरिने पित्तथैलीको शल्यक्रियाका लागि बिरामीहरु आठ महिनादेखि पखाइमा छन्।
अन्य शल्यक्रियाका लागि एक महिनाभित्रमा पालो पाएपनि ल्याप्रोस्कोपीबाट गरिने पित्तथैलीको शल्यक्रियाका लागि बिरामीहरु आठ महिनादेखि लाइनमा रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए।
उनले भने, ‘खुला रुपमा गरिने सर्जरी हो भने त पालो छिटो आउँछ। तर धेरै बिरामीहरु दूरबिनबाट गर्न खोज्छन्। त्यसैले आठ महिनासम्म पनि पालो पर्खने बिरामीहरु छन्। ’
भरतपुर अस्पतालमा ९ जना जनरल सर्जन छन्। जसमध्ये एक जना मात्र सरकारी दरबन्दीको हो। बाँकी आठ जना सर्जन अस्पताल विकास समिति र स्थायीका हुन्। सरकारी दरबन्दीकै एनेस्थेसियोलोजिस्ट पनि दुई जना मात्र छन्। ल्याप्रोस्कोपीबाट पित्तथैलीको पत्थरी निकाल्ने उपकरण पनि भरतपुर अस्पतालमा दुई वटा छन्।
सरकारी दरबन्दीको सर्जन कम भएकाले पनि बिरामीको चाप बढ्दै गएको बताउँदै डा पौडेल भन्छन्, ‘सरकारी दरबन्दी सर्जन नै एक जना मात्र छन्। बाँकीहरु कहिले आउने–जाने हुन्छ। ’
भरतपुर अस्पतालमा शल्यक्रियाका लागि हाल सात वटा अपरेसन थिएटर छन्। १६० जना चिकित्सक रहेको अस्पतालमा १२६ जना विशेषज्ञ चिकित्सक छन्। ३२० जना नर्सिङ स्टाफ छन्। भरतपुर अस्पतालमा हाल ओपीडी सेवा लिन जाने औसत बिरामीको संख्या १७ सय छ। चितवन, नवलपरासी, मकवानपुर, लमजुङ, गोरखा, तनहुँ लगायत गरी आठ वटा जिल्लाबाट उपचारका लागि भरतपुर अस्पताल पुग्छन्।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल: नेपालको प्रमुख क्यान्सर केयर सेन्टर तथा अस्पतालमध्ये एक हो, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल। यो अस्पतालको स्थापना २२ वर्षअघि भएको थियो।
प्याथोलोजी, बायोस्पी सम्बन्धी सेवा लागि बिरामीहरुले २ देखि ३ महिनासम्म पर्खनु परेको अस्पतालका चिकित्सक डा अनिलबिक्रिम कार्कीले बताए। रेडियसनको १ देखि ३ महिना र सर्जरीको लागि १५ दिनदेखि ३ महिनासम्म पर्खनु परेको उनले जानकारी दिए।
‘विभिन्न विभागमा पर्खने बिरामीको सूची फरक भए पनि समग्रमा १५ दिनदेखि ३ महिनासम्मको यहाँ छ,’ उनले भने।
ओपीडीमा उपचारका लागि पुग्ने दैनिक बिरामीको संख्या ७ सय देखि ८ सय जना छ। चितवनसहित कपिलवस्तु, सप्तरी, सर्लाही, झापा लगायतका जिल्लाबाट बिरामीहरु उपचारका लागि पुग्छन्।
भेरी अस्पताल: नेपालगञ्ज, बाँकेस्थित भेरी अस्पतालको समस्या पनि उस्तै छ। पित्तथैली र मिर्गौला पत्थरीको शल्यक्रियाका लागि ७ महिनासम्म पर्खनु परेको अस्पतालका कार्यकारी निर्देशक डा बद्री चापागाईंले बताए। भेरी अस्पतालमा पाँच वटा अपरेसन थिएटर छन्। यी थिएटर पनि जीर्ण र पुरानो रहेको चापागाईं बताउँछन्।
‘हामीसँग थोरै अपरेसन थिएटर छन्। त्यो पनि जीर्ण अवस्थाका छन्। न्युरोको अपरेसन गर्न ८÷१० घण्टा लाग्छ। अन्य अपरेसनको अवस्था पनि यस्तै हुन्छ। त्यसैले पनि बिरामीहरु पर्खनुपर्ने समय लम्बिन्छ,’ उनले भने।
सेवालाई पारदर्शी बनाउन शल्यक्रियाका लागि पर्खने बिरामीहरुको नाम र मितिसहित अस्पतालको वेबसाइडमा राख्ने तयारी छ। यसो गर्दा सेवा पारदर्शी हुने, बिरामीहरुले धेरै समय पर्खनु नपर्ने र तथ्यांक पनि व्यवस्थित हुने उनी बताउँछन्। अबको एक महिनामा यो काम पनि सुरु गर्ने अस्पतालको तयारी छ।
भेरी अस्पतालको पुरानो भवन १६२ शय्याको हो। यद्यपि, स्वीकृत शय्या भने १५० मात्र हो। हाल यो अस्पतालको सर्जरी विभागमा ६ जना सर्जन विशेषज्ञ छन्। चिकित्सक नर्सिङ स्टाफ गरी ४ सय जना कर्मचारी छन्।
सेवा विस्तारका लागि भेरी अस्पतालले तीन सय शय्याको नयाँ भवन निर्माण गरेको छ। उक्त भवन वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने अस्पतालको तयारी छ।
नयाँ भवनमा थप तीन वटा अपरेसन थिएटर हुनेछन्। भेरी अस्पताललाई ५ सय शय्याको अस्पतालको रुपमा सरकारले घोषणा गरिसकेको छ। ५ सय शय्याको अस्पताल सञ्चालनका लागि १ हजार ३२५ जना दरबन्दी आवश्यक भए पनि सरकारले हालसम्म स्वीकृत गरिनसकेको डा चापागाईं बताउँछन्।
अपरेसन थिएटर थपिएपछि पर्खने बिरामीको संख्या केही कम हुन सक्ने अस्पतालको अपेक्षा छ। जनशक्तिभन्दा पनि हाल आफूलाई भौतिक पूर्वाधारको समस्या रहेको सुनाउँदै उनी भन्छन्, ‘सरकारी अस्पतालमा संरचनागत त्रुटि छ। साँघुरो, सानो हुँदा बिरामीको भीड बढ्यो। जनशक्ति छ तर भौतिक संरचना छैन। त्यसैले पनि जनताको अपेक्षाअनुसार सेवा दिन सकिएको छैन। ’
कति छन् सर्जन ?
नेपाल मेडिकल काउन्सिलमा १० हजार ८० जना विशेषज्ञ चिकित्सक दर्ता छन्। जसमध्ये १ हजार १४६ जना १० विधाका सर्जन छन्।
१. जनरल सर्जन– ९४७ जना (८९५ पुरुष र ५२ महिला)
२. कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन– १७ जना (१५ पुरुष र २ महिला)
३. कार्डिक सर्जन– ७ जना (८९५ पुरुष र ५२ महिला)
४. ग्यास्ट्रो सर्जन– २ जना (२ पुरुष र २ महिला)
५. हेपाटोबिलरी सर्जन– ६ जना (५ पुरुष र १ महिला)
६. न्युरो सर्जन– ५९ जना (५९ पुरुष)
७. पेडियाट्रिक सर्जन– १९ (१६ पुरुष र ३ महिला)
८. प्लास्टिक सर्जन– १३ (१० पुरुष र ३ महिला)
९. सर्जिकल अंकोलोजी– २१ (२१ पुरुष)
१०. युरोलोजी– ५५ (५४ पुरुष र १ महिला)
अपरेसन थिएटरको ऐन कागजमै सीमित
सरकारले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका–२०७० जारी गरेको छ। यो निर्देशिकाले कति शय्याको अस्पतालमा कति वटा अपरेसन थिएटर हुनुपर्ने विषय उल्लेख गरेको छ।
निर्देशिकाको दफा १७ मा प्रति ५० शय्या क्षमता बराबर एउटा मेजर र एउटा माइनर अपरेसन थिएटर हुनुपर्ने व्यवस्था गरेको छ। यस अतिरिक्त प्रत्येक २५ शय्या सर्जिकल बेडका लागि एक मेजर ओटी र आवश्यक माइनर ओटीको थप व्यवस्था हुनुपर्ने उल्लेख छ।
‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७’ ले पनि प्रति २५ शय्या क्षमता बराबर एउटा मेजर ओटी र एउटा माइनर ओटीको व्यवस्था हुनुपर्ने उल्लेख गरेको छ। यो हिसाबले २५ शय्याको अस्पतालमा १, ५० शय्याको अस्पतालमा २, एक सय शय्याको अस्पतालमा ४, दुई शय्याकोमा ८, तीन सय शय्याको १२ र ५ सय वा सो भन्दा बढी अस्पतालमा २० वटा मेजर ओटीको व्यवस्था हुनुपर्ने देखिन्छ।
यी सबै निर्देशिका र मापदण्डमा अपरेसन थिएटरसम्बन्धी यी व्यवस्थाहरु भए पनि काठमाडौंका ठूला सरकारी अस्पतालमा लागू भएको देखिँदैन।
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्की सरकारी अस्पतालमा पर्याप्त मात्रामा अपरेसन थिएटर, भौतिक संरचनाको अभाव र जनशक्तिको कमीका भीड बढ्ने गरेको बताउँछन्। सरकारले विभिन्न निर्देशिका र ऐन जारी गरे पनि यी तीन विषयहरुमा सुधार नगरेसम्म शल्यक्रियाका लागि लामो समय पर्खनुपर्ने बिरामीको बाध्यता नहट्ने उनले बताए।
‘सरकारी अस्पतालमा पर्याप्त ओटी छैन। एउटा विभागमा १५ देखि ५० भन्दा बढी बेड नहुने र पर्याप्त बजेट नहुने समस्या छ,’ उनले भने।
कतिपय अस्पतालहरुमा भौतिक संरचना र उपकरण थपिए पनि जनशक्तिको अभाव हुने गरेको उनी बताउँछन्। सरकारको प्राथमिकतामा अहिले पनि जनशक्तिभन्दा भौतिक पूर्वाधार र उपकरण मात्र रहेको उनले बताए।
अपर्याप्त छ अपरेसन थिएटर
प्राडा दिपेन्द्र श्रेष्ठ
पूर्व विभागीय प्रमुख एवं नाक, कान घाँटी रोग विशेषज्ञ
वीर अस्पतालमा पालोका लागि बिरामीले लामो समय कुर्नुपर्ने सबैलाई थाहा भएको विषय हो। हाम्रोमा अपरेसन गर्नका लागि बिरामीले मात्र होइन, डाक्टरले पनि कुर्नुपर्ने अवस्था सिर्जना भएको कुरा धेरैलाई थाहा नहुन सक्छ।
वीरमा डाक्टरले पनि अपरेसन गर्नुपर्ने पालो कुर्नुपर्छ। मेरो पनि १५ दिनपछि पालो आउँछ कि महिनापछि भनेर कुर्नुपर्ने अवस्था छ। यस विभागमा खासगरी जुनियर डाक्टरले सबैभन्दा बढी पालो कुर्नु परिरहेको छ।
भौतिक पूर्वाधार, उपकरण र अपरेसन थिएटर बढाउने हो भने हामीले वीरमा अहिले दिइरहेको सेवालाई पाँच गुणा बढाउन सक्छौं। अहिले दुई वटा अपरेसन थिएटरबाट मात्र सेवा दिन सम्भव छ। डाक्टरहरू अपरेसन गर्न नपाएर छट्पटिइरहेको अवस्था छ। मेरो समूहमा आठ जना इएनटी सर्जन छन्। दुई जना डाक्टर अपरेसनमा हुन्छन्, बाँकी ६ जना डाक्टरहरूहल्लिएर बसिरहनुपर्छ ओटीमा। यसले गर्दा दक्ष जनशक्तिको सिपलाई हामीले प्रयोग गर्न सकिरहेका छैनौं।
सर्जरीको संख्या बढाउने हो भने पाँच वटासम्म अपरेसन गर्न सक्ने सामान उपलब्ध हुनुपर्छ। पाँच वटा अपरेसनका लागि नर्सहरू, एनेस्थेसियाको मेसिन, पोस्ट अपरेटिभ बेड इत्यादि आवश्यक पर्छ।
चिकित्सक मात्र उपलब्ध भएर अपरेसनको संख्या बढ्ने होइन। के गर्ने, भुईंमा बसाएर अपरेसन गर्न मिल्दैन। नयाँ सर्जिकल भवन बनेपछि पहिलाभन्दा सर्जरी बढेको छ। तर यो पर्याप्त छैन। जति संख्यामा बढाउन सकिन्थ्यो, त्यसको यो आधा जति मात्र हो। दुई महिनाअघि हामी नयाँ सर्जिकल भवनमा सरेका छौँ। यसअघि १६ वर्षसम्म एउटा मात्र अपरेसन थिएटर थियो। दुई महिनादेखि हामीसँग दुई वटा अपरेसन टेबुल छ। एकै पटक हामी दुई वटा अपरेसन गर्न सक्छौं। अपरेसन धेरै भयो भने मात्र अपरेसनका लागि पर्खने बिरामीको संख्या पनि कम हुन्छ। बिरामीले छिटोछिटो पालो पाउँछन्।