काठमाडौं- जनकपुरका सुशान्त मुरारकालाई पहिलेदेखि नै व्यवसायमा रुचि थियो। त्यही रुचिका कारण उनले प्लस टुपछि भारतमा बीकम पढे। एमबीए अष्ट्रेलियामा गर्ने सपना थियो। त्यसैले भारतमा पढेर आएपछि उनी काठमाडौंमै बसेर आइएलटीएसको तयारीमा लागे। नाम पनि निस्कियो।
तर एक्लो छोरालाई अष्ट्रेलिया पठाउन अभिभावकले सहजै मानेनन्। उनी पनि परिवारको स्वीकृति बिना अष्ट्रेलिया जान सकेनन्। त्यसपछि उनी केही समय घर फर्किएनन्। काठमाडौंमै बसेर कुनै व्यवसाय सुरु गर्ने तयारीमा जुटे। ‘प्लस टुपछि पढ्न अष्ट्रेलिया जान खोजेको थिएँ। परिवारले नमानेपछि घर फर्किन्न बरु व्यवसाय गर्छु भनेर काठमाडौंमा व्यवसाय सुरु गरेंं,’ सुशान्तले भने।
व्यवसाय सुरु गर्न उनलाई ठूलो रकम आवश्यक थियो। परिवारबाट आर्थिक सहयोग मागेनन्। आफैँ रकम जुटाउन लागे। सुरुमा उनले एउटा कल सेन्टरबाट जागिर सुरु गरे। त्यसबाट पनि धेरथोर आर्थिक रकम जुट्यो। तर व्यवसाय सुरु गर्न पुग्ने रकम थिएन। व्यवसाय सुरु गर्न बुवाको नजिकको साथीबाट ५० लाख रुपैयाँ आर्थिक सहयोग पाए। परिवारको इखले भन्दा पनि अष्ट्रेलिया जान नपाएको इखमा व्यवसाय सुरु गरेको उनी बताउँछन्।
‘अष्ट्रेलिया जान नपाएको इखमा व्यवसाय सुरु गरें,’ सुशान्तले हाँस्दै भने, ‘एक वर्षपछि परिवारले पनि साथ दिनुभयो।’
औषधिकै व्यवसाय सुरु गर्छु भन्ने सोच उनमा झट्टै आएको होइन। व्यवसाय सुरु गर्ने भन्ने मात्र थियो। तर कुन व्यवसाय गर्ने भन्नेमा अन्योल थियो। यही क्रममा उनको चिनजान एक नजिकका दाइसँग भयो। उनी फर्मास्युटिकल्स क्षेत्रमा काम गर्थे। उनले पनि आफ्नो व्यवसायलाई थप विस्तार गर्न विश्वासिलो पार्टनर खोजिरहेका थिए। चिनजान र नजिकको भएकाले पनि उनलाई व्यवसाय सुरु गर्न थप सहज बन्यो।
औषधि व्यवसाय निकै संवेदनशील क्षेत्र हो। यो व्यवसाय सुरु गर्न औषधिको बारेमा बुझ्नुपर्ने भन्दै उनलाई ती दाइले औषधिको सबै जानकारी भएको पुस्तक थमाइदिए। सुशान्तले रातभरि त्यो पुस्तक पढ्न थाले। र, तीन महिनाभित्र लगभग सबै पुस्तक पढेर सके।
‘उहाँले मलाई फर्मास्युटिकल्ससम्बन्धी सिटामोल भनेको के हो? कसरी काम गर्छ भनेर लेखिएको किताब मलाई थमाइदिनुभयो,’ उनले भने, ‘म एमबीए पढेको मान्छे, २-३ महिना लगाएर पढें। कुन मेडिसिनले कसरी काम गर्छ ?, जेनरिक नाम के छ भनेर लगभग सबै घोकियो।’
अनि सुरु भयो ट्रु डर्माको यात्रा
सुशान्तलाई सुरुदेखि नै जीवनमा केही गरेर देखाउने हुटहुटी थियो। त्यो हुटहुटी अहिले पनि छ। औपचारिक रुपमा उनले सन् २०१० देखि ट्रु डर्माको व्यवसाय सुरु गरे।
सुरुमा उनले औषधि र सप्लिमेन्टबाट व्यवसाय सुरु गरेका थिए। यसै क्रममा उनलाई एक जना छाला रोग विशेषज्ञले छालासम्बन्धी औषधिको व्यवसाय सुरु गर्न सुझाव दिएका थिए। उनकै सुझावका आधारमा सन् २०१५ बाट छालासम्बन्धी औषधिको व्यवसाय सुरु गरेको उनी बताउँछन्। हाल उनले मद्रास फर्मास्युटिकल्स र ट्रु डर्माको औषधि नेपाल निर्यात गर्छन्।
ट्रु डर्माको औषधि नेपाल निर्यात गर्नुभन्दा पहिले आफूले नेपालमा चाया पोतो, डण्डीफोर, एक्जिामा लगायत छालासम्बन्धी रोगका लागि अध्ययन गरेका थिए। जसमा यो समस्याका लागि के–कस्तो मोलिक्युलर चल्ने रहेछ भनेर उनले जान्न चाहे। त्यसको लागि उनले अमेरिकाबाट स्याम्पस (नमुना) हरु ल्याएर हेरेका थिए। त्यसपछि मात्र आफूले नेपालमा यो उत्पादनहरु निर्यात गरेको उनी बताउँछन्।
सुशान्तले पहिले अमेरिकाबाट यी उत्पादनहरु सिधै नेपाल ल्याउँथे। अमेरिकाबाट नेपाल सिधै आउँदा सामान जति हुन्थ्यो, भाडा पनि त्यति नै लाग्थ्यो। यसले आर्थिक रुपमा दोहोर भार पर्ने भएकाले उनले कम्पनीलाई सहज विकल्प निकाल्न आग्रह गरे।
सुशान्तले भने, ‘भारतमा यूएस एफडीए प्लानमा बनाउन लगाउने भनेर कुरा भयो। र, भारतमा बनाएर ल्याउँछौं।’
ट्रु डर्मा अन्तर्गत ३० र ट्रु मी अन्तर्गत १७ वटा गरी ४७ वटा उत्पादनहरु यस कम्पनीले बिक्री गरिरहेको छ। एक्स्ट्रा भर्जन कोकोनट ओयल, सनस्क्रिन र मेलाम्जाको क्रिमहरु सबैभन्दा बढी बिक्री हुने गरेको कम्पनीले जनाएको छ।
गुणस्तरमा सम्झौता गर्दैनौं
हालसम्म ट्रु डर्माले चिकित्सकले प्रेसक्रिप्सन गरेपछि दिन मिल्ने क्रिम तथा सिरमहरु बिक्री गथ्र्यो। योसँगै ट्रु डर्माले ट्रु मीमार्फत कस्मेटिक उत्पादनहरु पनि बजारमा ल्याएको छ। ट्रु मीलाई सार्वजनिक गरिएको एक महिना भयो।
यस अन्तर्गत केराटिन, स्याम्पु, ट्रिटमेन्ट, हेयर सिरम, वाक्स लगायत कस्मेटिक उत्पादनहरु बजारमा ल्याइएको उनले बताए।
नेपाली बजारमा डर्माको औषधिको बजार राम्रो रहेको उनी बताउँछन्। साना–ठूला कम्पनी गरे कुल चार सयदेखि पाँच सय कम्पनी रहेको उनले बताए। जसमध्ये प्रमुख पाँचमा ट्रु डर्मा पर्ने कम्पनीको दाबी छ।
आफूहरुले बजारमा ल्याउने उत्पादनको गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने उनले बताए। समयअनुसार आफूले ल्याउने उत्पादनमा आवश्यकताअनुसार फेरबदल गर्ने गरेको उनले बताए।
‘हरेक दुई÷तीन वर्षमा वातावरण परिवर्तन हुने रहेछ। त्यो अनुसारको सनस्क्रिन पनि परिवर्तन गर्छौं। पहिला १५ एसपीएफ हुन्थ्यो। ३० आयो र अहिले ५० एसपीएफ सनस्क्रिन हामी बिक्री गर्छौं,’ उनले भने।
ट्रु डर्माको उत्पादन पूर्वदेखि पश्चिमका जिल्लामा पुग्छ। हाल ४३ जना जनशक्ति रहेको कम्पनीमा ट्रु मीको लन्चपछि एक सयको हाराहारी पुग्ने उनले बताए। उनले १३ वर्षअघि उनले पाँच जना कर्मचारीबाट यो कम्पनी सुरु गरेका थिए।
नेपालमा एफडीए हुनुपर्ने माग
ट्रु डर्मा कम्पनीले गुणस्तरलाई प्रमुख प्राथमिकतामा राखे पनि बजारमा गुणस्तरहीन क्रिम तथा उत्पादनहरु छ्यापछ्याप्ती भेटिन्छन्। कस्मेटिक सामग्रीको नियमन औषधि व्यवस्था विभागले गर्दैन। कस्मेटिक सामग्रीको गुणस्तरको नियमन हुन आवश्यक रहेको उनी बताउँछन्।
छाला रोग र कस्मेटिकसम्बन्धी क्रिमहरुको नियमन र गुणस्तर परीक्षणका लागि एफडीए स्थापना हुनुपर्ने उनको माग छ। एफडीए भनेको फुड एण्ड ड्रग एसोसिएसन अर्थात् खाद्य तथा औषधि प्रशासन हो।
‘अहिले दुरुपयोग धेरै भइरहेको छ। कस्तो सामग्री ल्याउने भन्ने थाहा छैन। डर्मा कस्मेटिकले बिरामीको समस्यालाई ठिक पार्छ कि पार्दैन त्यसको निरीक्षण केही पनि भएको छैन,’ उनले भने।
नेपालमा एफडीए स्थापना भए बजारमा उपलब्ध गुणस्तरहीन वस्तुहरुको नियन्त्रण हुने उनको अपेक्षा छ।