काठमाडौं- काठमाडौंको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएको छ। भाइरस भेटिएपछि सरकारले साउन ९ गतेदेखि १२ सम्म उपत्यकामा विशेष पोलियो खोप अभियान सुरू गर्ने भएको हो।
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललिपुरका जन्म देखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई लक्षित पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको हो । काठमाडौंको टुकुचा नदीको संगम स्थलको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएकाले बालबालिका लक्षित विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी पत्रकार सम्मेलन मार्फत् दिइएको हो ।
बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार फेला परेको उक्त भाइरस ‘भ्याक्सिन डिराईभ्ड पोलियो भाइरस’ हो । ‘जेठ १३ गते संकलन गरिएको उक्त नमुनाको नतिजा २९ जेठमा नतिजा आएको हो,’ उनले भने। ‘नेपालमा २०६७ असोज १४ गते रौतहटमा पोलियोको अन्तिम केस फेला परेको थियो, हाल वातावरणीय निगरानीको क्रममा पोलियोको भाइरस भेटिएको छ,’ उनले भने। विश्व स्वस्थ्य संगठनले नेपालबाट पोलियो उन्मुलन भइसकेको घोषणा समेत गरिसकेको छ ।
उक्त स्थान आसपासबाट ढलको नमूना थप संकलन गरेर परीक्षण गरिने उनले बताए । उपत्यकाका तीन जिल्लामा मात्रै सञ्चालन गरिने उक्त अभियानका लागि करिब ३ लाख खोप ढुवानी गरिने जानकारी उनले दिए। खोप तीनवटै जिल्लाका स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत् घर-घरमा दिइने छ ।
पोलियो कस्तो किसिमको रोग हो ?
पोलियो रोग पोलियो भाइरसरको कारण लाग्ने संक्रामक रोग हो । पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई सामान्य लक्षण जस्तै ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने हुन्छ। यो रोग लाग्यो भने गम्भीर किसिमको लक्षण जस्तै पक्षघात हुने र मृत्यु समेत हुनसक्छ। यो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्काेमा सर्छ । यो रोग जोसुकैलाई पनि लाग्न सक्छ, यद्यपि ५ वर्ष मुनिका बालबालिकाहरु यसको उच्च जोखिममा हुन्छन्।
पोलियो रोगबाट कसरी बँच्ने ?
यो रोगको हालसम्म कुनै निश्चित उपचार छैन । यो रोगबाट सुरक्षित हुने सबैभन्दा उत्तम र प्रभावकारी उपाय नै पोलियो खोप हो । यसबाट जोगिन बालबालिकाहरुलाई राष्ट्रिय खोप तालिका अनुसार पोलियोको नियमित खोप पूर्ण मात्रामा दिनुपर्ने हुन्छ। यसका साथै पोलियो खोप अभियानहरुमा समेत थप मात्रा खोप दिनुपर्दछ। व्यक्तिगत सरसफाई, स्वच्छ पानी र सफा खानेकुरामा विशेष ध्यान समेत दिनुपर्छ।
पोलियो खोप कति प्रकारका छन्, कतिपटक खोप लगाउनुपर्छ ?
पोलियो खोपहरु दुई प्रकार छन्। मुखबाट खुवाइने ओ.पि.भी. खोप नियमित खोप सेवाको माध्यमबाट तीनपटक लिनुपर्छ । त्यस्तै सुईबाट दिइने आई.पि.भी खोप नियमित खोप सेवाको माध्यमबाट दुईपटक लिनुपर्ने हुन्छ।
कस्तो अवस्थामा खोप लिन मिल्दैन ?
यो खोप सिकिस्त बिरामीहरु र रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकाहरु जस्तै एच.आई भी. एड्सका लक्षण देखिएका, केमोथेरापीमा रहेका क्यान्सरका बिरामी र रोग प्रतिरोधी क्षमता कम गराउने औषधि सेवन गरेकाहरुले लिन मिल्दैन। त्यस्तै उच्च ज्वरो,कडा पखाला, तारन्तार वान्ता र अस्पताल भर्ना भएका तथा सिकिस्त बिरामी परेका बालबालिकाहरुलाई यो खोप दिनहुँदैन ।
नियमित खोप सेवामा पोलियो खोप लिएका बालबालिकाहरुले यो खोप लिनुपर्छ ?
लिनुपर्छ। विगतमा नियमित खोप तालिका अनुसार पोलियो खोप लिएको भएपनि यस अभियानमा सबै ५ वर्ष मुनिका बालबालिकाहरुले अनिवार्य रुपमा थप मात्रा पोलियो खोप लिनुपर्छ।