नेपाल सरकारको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन संस्थान (न्याम्स)बाट सामान्य चिकित्सामा विशेषज्ञता (एमडीजीपी) गरे डा आदर्श लिम्बुले । छात्रवृत्तिमा पढेका चिकित्सकले दुई वर्ष सरकारले खटाएको ठाउँमा अनिवार्य सेवा दिनुपर्ने हुन्छ । उनलाई सेवा दिने ठाउँ रोज्न भनियो । उनको रोजाइमा पर्यो– ताप्लेजुङ ।
पूर्वी पहाडको यो दुर्गम जिल्ला रोज्नुको कारण थियो, आफ्नै पुख्र्यौली थातथलो । उनका पिता लगायत पूर्वजको ठाउँगाउँ त्यही भए पनि उनले महसुस गर्न पाएका थिएनन् । शिक्षक पिताले गोर्खामा पढाउँथे । त्यहीँ जन्मिए । कक्षा ७ सम्म त्यहीँ पढे । त्यसपछि काठमाडौँ बसाइँ सरेका उनलाई उपचार सेवाका साथै गाउँठाउँ, भाषा–संस्कृति र बोलीचालीको परख गर्न मन थियो ।
स्वास्थ्य मन्त्रालयका अधिकारी समक्ष उनले आफ्नो भित्री चाहना बताउने कुरा भएन । बताए पनि सुनुवाइ हुने कुनै ग्यारेन्टी थिएन । उनको चाहनाभन्दा पनि सरकारको आवश्यकता अनुसार दुई वर्ष सेवा दिनुपथ्र्यो । त्यही सहीछाप गरेरै पढेका थिए । मन्त्रालयले उनको रोजाइभन्दा ठ्याक्कै विपरीत दिशाका लागि नियुक्ति थमायो । त्यो थियो, सुदूरपश्चिम दार्चुलाको जिल्ला अस्पताल ।
उनले नाइँनास्ती गरेनन् । जहाँ पुगे पनि सेवा नै दिने हो भन्ने उनलाई लाग्यो । त्यसबाहेक सुदूरपश्चिमका पहाडी जिल्ला अविकास, अशिक्षा र गरिबीका रुपमा प्रतिविम्बित थिए । उनको अनुमान त्यस्तै थियो । त्यसैले त्यहाँ पुगेर सेवा दिन पाउने कुरालाई पनि अवसरकै रुपमा स्वीकारे । झन्डै चार वर्षअघि उनी लागे दार्चुला जिल्ला अस्पताल।
फरक भाषा, फरक परिवेश । उनका लागि त्यो भूगोल नौलो थियो । त्यहाँका आमजनका लागि पूर्वको ‘लिम्बु’ नयाँ !
उनी त्यहाँ पुगेर अवस्थाबारे जानकारी लिँदा अस्पतालमा के छ ? होइन, के छैन ? भन्ने सूची लामो हुने देखियो । इनप्यासेन्ट (भर्ना गरेर उपचार) सेवा थिएन । कुनै पनि प्रकारको शल्यक्रिया सेवा थिएन । शल्यक्रियाका क्रममा सघाउने जनशक्ति समेत थिएन । अल्ट्रासाउन्ड सेवा सही सलामत थिएन । आपतकालीन रगतदानका लागि कुनै जुगाड थिएन । समग्रमा जिल्ला अस्पतालमा ‘हुनैपर्ने’ कुरा थिएनन् । त्यहाँका स्थानीयहरु सामान्यभन्दा सामान्य उपचारका लागि कि महाकाली तरेर भारतको यात्रा तय गर्थे । कि गाडीमा ६ देखि ७ घन्टा लाग्ने दूरी पार गरेर डडेलधुरा पुग्थे।
डा लिम्बुले जिल्ला अस्पताल पुनर्संरचनाको सुरुवात भर्ना गरेर उपचार गर्ने सेवाबाट सुरु गरे । आमजनमा भरोसा बढ्न थाल्यो । अप्रेसन थिएटरको सेटअप थियो तर त्यसलाई सञ्चालन गर्ने जनशक्तिको अभाव थियो । अप्रेसनमा सघाउन चाहिने जनशक्तिका लागि निक साइमन्स इन्स्टिच्युटले सहयोग ग¥यो । बन्द अवस्थामा रहेको शल्यकक्षमा उनले सुरक्षित प्रसूति सेवा, एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, हाडजोर्नी र आकस्मिक जीवन रक्षा गर्ने केही जोखिपूर्ण शल्यक्रिया सेवा समेत दिए । अल्ट्रासाउन्ड सेवाको जिर्णोद्धार गरे । त्यसपछि हरेक महिना १५ जनासम्मलाई शल्यक्रियाबाट प्रसूति सेवा र अन्य १० गरी २५ जनासम्मलाई शल्यक्रिया सेवा दिएको तथ्यांक अस्पतालमा छ।
शल्यक्रिया थालेपछि रगतको आवश्यकता अनिवार्य हुने नै भयो । उनले ‘वर्किङ ब्लड बैंक’को अवधारणा कार्यान्वयनमा ल्याए । नेपाली सेना र सशस्त्र प्रहरीसँग समन्वय गरेर जवानहरुको रक्त समूह पहिचान गर्न लगाइयो । परिआउँदा खबर गरेपछि उनीहरु रक्तदानका लागि तयार हुन्थे । आफ्नै अस्पतालमा कार्यरत कर्मचारीको पनि रक्तसमूह पहिचान गरेर राखियो । जसले रक्त सञ्चार सेवालाई भरथेग गर्यो ।
कुनै बेला सुरक्षित प्रसूति सेवाका लागि भारततिर लाग्थे त्यहाँका स्थानीय । अब उल्टो हुन थाल्यो । भारतीय सीमाका महिलाहरु अल्ट्रासाउन्ड सेवा र सुरक्षित प्रसूति सेवाका लागि नेपाल आउन थाले । डा लिम्बु सम्झिन्छन्, ‘नेपालको जिल्ला अस्पतालमा अल्ट्रासाउन्ड र प्रसूति सेवा राम्रो रहेको खबर सीमापारिका गाउँमा समेत फैलिएछ ।’
दार्चुलाबासीका लागि ‘नौलो लागेको’ त्यो मान्छे केही समयमै ‘आफ्नै’ लाग्न थालिसकेको थियो । भाषा फरक थियो, लवजमा भिन्नता थियो तर भावनामा सामिप्यता थियो । आफ्नै भाषामा भन्न थालेका थिए– हम्लाई उपचार र बिमारीबारे केही था’ नाइब । यो ज्यान तम्राई हातमाइ छ (हामीलाई उपचार र रोगबारे केही थाहा छैन । यो ज्यान तपाईंकै हातमा छ ।)
डा लिम्बु संगत र बसाइले त्यहाँको लवज खुट्याउन थालेका थिए । ‘बिरामी र उनका आफन्तले गरेको यस्तो भरोसाले आफूलाई थप जिम्मेवार महसुस गराउँदो रहेछ,’ डा लिम्बुले भने, ‘सकेसम्म धेरै समय अस्पतालमा बिताउन थालियो । आफूले जाने÷बुझेसम्मको उपचारका लागि हरपल तयार भइयो ।’
बिरामीको यही भरोसाका कारण उनले सीमित स्रोत–साधनमा पनि केही जोखिम मोलेका थिए । जसको नतिजा सकारात्मक आयो । त्यसमध्ये एउटा केस थियो– गाईले पेटमा हानेर आन्द्राभुँडी बाहिर निस्किएको घटना । जसले उनलाई निकै असमञ्जसमा पारेको थियो । रिफर गर्दा कम्तीमा ६ घन्टाको दूरी पार गर्नुपर्ने थियो । भारत पठाउँदा राति गेट बन्द हुन्थ्यो । त्यहीँ प्रयास गर्दा ज्यान तलमाथि हुने जोखिम थियो । बिरामीले अड्डी कसे, ‘बाँचे यैं बाँच्लो, मरे यैं मर्लो, उपचार गर्देउ (बाँचे पनि यहीँ बाँच्छु, मरे पनि यहीँ मर्छु । उपचार गरिदिनुहोस् ।)’
उनले आँट गरे । अस्पतालको टिमले साथ दियो । ‘आन्द्रामा घाउ भए÷नभएको जाँच गरेपछि हामीले शल्यक्रिया थाल्यौं । शल्यक्रिया सफल भयो । बिरामी निको भएर घर गए । अन्य कामले सदरमुकाम आउँदा कोसेली ल्याइरहन्थे,’ उनको स्मरण छ ।
त्यसैगरी प्रसूतिका क्रममा बच्चा अड्किएर आएका जोखिमदेखि हाडजोर्नीका केही समस्यामा पनि उनले विशेषज्ञता र आँट दुवै संयोजन गरेर ज्यान जोगाएका छन् । दार्चुला बसिरहँदा दोस्रो जुनी दिएको भनेर भेट्न आइरहने अर्को एक जनालाई पनि उनी सम्झिरहेका हुन्छन् ।
कोभिड– १९ कालको कुरा हो । आपतकालीन अवस्थाका लागि भेन्टिलेटरको सेवा थालिएको थियो । त्यही क्रममा एक जना गम्भीर बिरामी आइपुगे । विकल्पविहीन अवस्थामा त्यहाँ पुगेका बिरामीको डा लिम्बुले त्यहीँ उपचारको प्रयास गरे । ९५ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरे । बिरामी निको भए । जाने बेलामा डा लिम्बुलाई दोसल्ला ओढाए । उनीभन्दा पाको व्यक्तिले दोस्रो जुनी दिने भगवान भन्दै खुट्टा ढोगे ।
दुई वर्ष सरकारको अनिवार्य र साढे एक वर्ष निक साइमन्स इन्स्टिच्युट अन्तर्गत ऐच्छिक सेवा दिए त्यहाँ । उनीसँग यस्तै सकारात्मक सम्झना मात्रै छन् । हाल आमघटना जस्तो बनेको बिरामी र उनीहरुको आफन्तबाटको दुव्र्यवहार उनले भोग्नुपरेन । बरु त्यहाँका स्थानीयले उनलाई त्यहाँबाट नगइदिए हुन्थ्यो भन्ने भावना सुनाए । कति भावुक भए । सधैं एकै ठाउँ बसेर पनि साध्य लाग्दैन । आफ्नै परिस्थितिले डा लिम्बुले त्यहाँबाट बिदा मागे । ‘अध्ययनलाई थप अघि बढाउनैपर्ने थियो । पाको उमेरमा पुगेका मातापिताको नजिकै भइदेओस् भन्ने चाहना थियो । त्यसैले म आफैँ त्यहाँबाट बिदा भएर दोलखा आएपुगेँ,’ डा लिम्बुले भने ।
उनको सरुवालाई दार्चुला अस्पताल परिवार र दार्चुलाबासीले नियमित प्रक्रियाका रुपमा लिन सकेनन् । एउटा प्रिय साथी, आफन्त र निकटस्थ परदेशिएको रुपमा लिए । डा लिम्बु आफैँलाई दार्चुला दोस्रो घर महसुस भइरहेको थियो । उनी बिदा हुने दिन ‘बिदाइ समारोह’ जस्तै भयो । सहकर्मी र बिरामीले उनलाई कोसेली दिइपठाए । अबिर, खादा र मालाले छपक्कै बनाइदिए । गाडी चढ्ने ठाउँसम्म पु¥याउन आउनेहरुको लस्कर थियो ।
बिदाइमा केही शब्द राख्ने क्रममा उनले भने, ‘दार्चुला बसाइको क्रममा धेरै कुरा जान्ने, सिक्ने, सिकाउने र हँसिलो यादहरु बनाउने मौका मिल्यो। यसका लागि सम्पूर्णप्रति हार्दिक आभार । दार्चुला जस्तो दुर्गम स्थलमा काम गर्नु वास्तवमै चुनौतीपूर्ण थियो तर अठोट र चाहना भए जस्तोसुकै परिस्थितिमा पनि धेरै कुरा गर्न सकिने रहेछ भन्ने पाठ सिकेर नयाँ ठाउँमा जाँदैछु ।’
दार्चुलाबासीको ‘आदर्श’ बन्दै आफ्नो नामलाई प्रमाणित गरेर उनी फर्किएका छन् । अहिले दोलखाको चरिकोटस्थित पशुपति चौलागाईं अस्पतालमा सेवारत छन् ।
साढे तीन वर्षपछि दार्चुलाबाट बिदा हुँदा उनले जीवनमा धेरै कुरा पाएको महसुस गरेका छन् । त्यति नै उनले त्यहाँ दिएका आएका छन् । जिल्ला अस्पतालमा धेरै सेवा स्थापित गरेका छन् । अहिले जिल्ला अस्पताल भन्न लायक अस्पताल बनेको छ । उनी पछि त्यहाँ पुगेका चिकित्सकहरुले सेवालाई निरन्तरता दिइरहेका छन् । अहिले दार्चुला जिल्ला अस्पतालमा हाडजोर्नी विशेषज्ञ पुगेका छन् । सुरक्षित प्रसूति सेवा (एएसबीए) तालिम लिएका मेडिकल अधिकृत छन् । अस्पतालको सेवा बढ्ने तर कमी नहुनेमा उनी ढुक्क छन् ।
स्वास्थ्यखबरलाई सम्झना सुनाइरहँदा उनी सुदूर–सम्झनामा पुगे । त्यो थियो, अहिले युद्धले थिलथिलो बनाएको देश युक्रेन । जहाँ उनले झन्डै ७ वर्ष बिताए एमबीबीएस अध्ययनका क्रममा । शान्त र समृद्ध उक्त देशबाट डा लिम्बुले मात्रै होइन, धेरै नेपालीले चिकित्सा अध्ययन गरेका छन् । अहिले दृश्यमा आउने त्यो सुन्दर देशका भयावह तस्बिरले उनलाई चसक्क पार्छ । उनलाई पढाउने प्राध्यापकहरुमध्ये केहीसँग सम्पर्क कायम थियो । उनीहरुले सपरिवार अन्य देशमा बसाइँ सारेको बताउँछन् । ज्यान जोगाउने पेसामा रहेका उनी युद्धको अन्त्य होस् भन्ने चाहन्छन् । आफूलाई दीक्षा दिएको देश पुरानै लयमा फर्किएको हेर्ने चाहना उनको छ ।