काठमाडौं- गत शुक्रबार वीर अस्पतालको शल्यक्रिया कक्षमा चिकित्सकमाथि आक्रमण भयो। आक्रमणपछि अस्पताल निर्देशक डा सन्तोष पौडेलले प्रहरीमा पत्र पठाउँदै दोषीमाथि कारबाहीको माग गरेका थिए।
पत्र अनुसार अस्पतालको अप्रेसन कक्षमा शुक्रबार दिउसो साढे ४ बजे प्रमुख कन्सलटेन्ट ग्याष्ट्रो सर्जन प्राडा शरद पोख्रेल र त्यहाँ खटिएकी सानुमाया मगर लगायतमाथि आक्रमण भएको थियो।
ड्युटीमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ घर भएका २१ वर्षीय रामचन्द्र खड्का रहेको पत्रमा उल्लेख थियो।
निर्देशक पौडेलको पत्रपछि आक्रमण गर्नेमाथि के कारबाही भयो त? स्वास्थ्यखबरले यो विषयमा जानकारी लिएको छ। अस्पतालबाट आएको जानकारी अनुसार आक्रमण गरेका भनिएका खड्का ३६ घण्टा प्रहरी हिरासतमा बसेको छन् भने डाक्टरसँग माफी मागेका छन्।
अस्पताल निर्देशक डा पौडेल दोषीमाथि कारबाही गर्ने प्रक्रियाबाट पीडित चिकित्सकनै पछाडि हट्दा मिलेमतोमा छाड्ने अवस्था आएको बताउँछन्।
'निर्देशकको हैसियतले आफूले संस्थागत निर्णय गरी प्रहरीमा पत्र पठाउँदै दोषी उपर कडा कारबाहीको माग गरेको थिएँ। तर पीडित चिकित्सकले नै कारबाही प्रक्रिया अगाडि नबढाई मिलेमतो भएका कारण दोषीमाथि कानुन अनुसार कारबाही अगाडि बढ्न नसकेको हो,' उनले भने।
निर्देशक पौडेलले प्रहरीलाई पठाएको पत्रमा दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५ अनुसार तीन वर्षसम्म कैद र तीन लाखसम्म जरिवानाको सजाय माग समेत गरिएको थियो।
'दोषी उपर कारबाहीका लागि संस्थागत रुपमा गर्ने कार्य जारी छ, पीडित चिकित्सकलाई प्रहरीमा निवेदन दिनका लागि मैले आग्रह गरेपनि पीडित चिकित्सकले आफू तनाव लिन तयार नभएको बताउँदै आउनुभएको छ', उनले भने 'आफूमाथि भएको अमानवीय व्यवहारको सामना गर्नका लागि हामीले उहाँलाई सुझाव दिदैं आएका छौं।'
घटनाबारे के भन्छन् आक्रमणमा परेका डा शरद पोखरेल?
प्यान्क्रियाजको क्यान्सर भएका बिरामीको शल्यक्रिया सकाएर बाहिर निस्केको थिएँ। अर्को विभागले गर्नुपर्ने शल्यक्रिया रद्द भएको रहेछ। बुबाको शल्यक्रिया रद्द भएकोले केही आक्रोशको भावमा ती युवक सामान्य कपडामा आउन नमिल्ने निषेधित क्षेत्रसम्म आइपुगेका थिए।
उनलाई त्यतिबेला उक्त निषेधित स्थानसम्म नआउनका लागि मैले आग्रह गरेपनि नमान्दै चर्को स्वरले कराइरहेका थिए। मैले ती युवकलाई सभ्य भाषामा बोल्न आग्रह गरिरहेको थिएँ, त्यतिबेला हामीबीच सामान्य धकेलाधकेलको स्थिती भए पनि कसैलाई चोटपटक लाग्ने तथा हानी पुग्ने अवस्था भएको हैन।
घटनाको केही समयपछि मेरो नाम किटानी सहितको जाहेरी आयो, युवक मलाई नै मध्यनजर गरेर नियतवश कुटपिट गर्ने गरि त्यहाँ आएका थिएनन्। उनको बिरामी मेरो विभागअन्तर्गत उपचार गराइरहेका पनि होइनन्। उनले प्रवेश अनुमति नभएको स्थानमा प्रवेश मात्रै गरेका हुन्।
उक्त घटनालगतै प्रहरीले ती युवकलाई ३६ घन्टासम्म थुनामा राखिसकेको छ। युवकले नियतवश म माथि हातपात नगरेको तथा माफी मागिसकेकोले २१ वर्षको युवकलाई फौजदारी मुद्दा लगाउनु मलाई मनासिब लागेन त्यसकारण यी प्रक्रियाबाट म पछाडि हट्न चाहें। प्रवेश निषेधित क्षेत्रसम्म जान दिनुमा अस्पतालमा कार्यरत्त गार्डको समेत कमजोरी हो जस्तो मलाई लाग्छ।