नासाका अन्तरिक्षयात्री सुनीता विलियम्स र ब्यारी विलमोर नौ महिना अन्तरिक्षमा बिताएपछि सफलतापूर्वक पृथ्वीमा फर्किएका छन्। उनीहरूलाई बोकेको स्पेसएक्स ड्र्यागन स्पेसक्राफ्ट फ्लोरिडाको कोस्टबाट साँझ ५:५७ बजे (२१:५७ जि.एम.टि) मा समुद्रमा अवतरण भएको थियो। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र बाट बिहान ०५:०५ जि.एम.टिमा यो अन्तरिक्ष यान पृथ्वी आएको थियो।
अन्तरिक्षले शरीरमा पार्ने प्रभाव
लामो समयसम्म अन्तरिक्षमा बस्दा मानव शरीरमा महत्वपूर्ण र कहिलेकाहीँ स्थायी असरहरू पर्ने सम्भावना रहन्छ। माइक्रोग्राभिटीको कारण शरीरको विभिन्न भागमा परिवर्तन देखिन्छ।
अन्तरिक्षमा बस्दा शरीरलाई हुने असरहरू
मांसपेशी र हड्डी कमजोर हुने- अन्तरिक्षमा ग्राभिटी नभएकाले शरीरको तौल धान्न खुट्टाको प्रयोग हुँदैन। यसले मांसपेशी सुक्न थाल्छन्, हड्डीहरू कमजोर हुन्छन् र हरेक महिना एक प्रतिशत हड्डी कम हुँदै जान्छ।
रेडिएसनको असर- अन्तरिक्ष स्टेशन पृथ्वीको चुम्बकीय क्षेत्रभित्र भए तापनि लामो समय बस्दा अन्तरिक्षयात्रीहरूले पृथ्वीमा भन्दा १० गुणा बढी रेडिएसनको प्रभाव झेल्नुपर्छ। यसले क्यान्सरको जोखिम र मानसिक क्षमता घटाउने खतरा बढाउँछ।
शरीरका तरल पदार्थहरू घट्छन्- अन्तरिक्षमा जाँदा शरीरको करिब २० प्रतिशत तरल पदार्थ घट्छ भने शरीरको तौल ५ प्रतिशतले कम हुन्छ।
छाला पातलो र संवेदनशील बन्ने- अन्तरिक्षमा छाला कमजोर हुने कारणले सजिलै च्यात्तिन सक्छ र निको हुन समय लाग्छ।
आँखा र दृष्टिमा असर- माइक्रोग्राभिटीका कारण दृष्टि कमजोर हुन सक्छ र रेडिएसनको प्रभावले मोतिबिन्दुको जोखिम बढाउँछ।
डीएनए परिवर्तन- अन्तरिक्षमा बिताएका केही महिनापछि अधिकांश जीनहरू पुन: सामान्य अवस्थामा फर्कन्छन्, तर करिब ७ प्रतिशत जीनहरू स्थायी रूपमा परिवर्तन हुन सक्छन्।
रक्त संचार र मुटुमा असर- अन्तरिक्षमा रक्त संचार प्रणाली ढिलो चल्छ, रातो रक्तकोषहरू कम उत्पादन हुन्छन्, र मुटुको चाल अनियमित हुन सक्छ।
प्रतिरक्षा प्रणाली कमजोर हुने- अन्तरिक्षमा बिताएको ६ महिनाले पृथ्वीमा वार्षिक रूपमा प्राप्त हुने रेडिएसनको १० गुणा बढी असर पार्न सक्छ, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ।
पृथ्वीमा फर्किएपछि शरीर कसरी सामान्य बन्छ?
अन्तरिक्षयात्रीहरू पृथ्वीमा फर्केपछि तुरुन्तै शरीरले ग्राभिटी अनुसार अनुकूलन गर्न सक्दैन। उनीहरूलाई सन्तुलनमा समस्या, चक्कर लाग्ने र मुटुको रक्तसञ्चार कमजोर हुने जस्ता समस्या हुन सक्छ।
१. अन्तरिक्षबाट तुरुन्त फर्किने बित्तिकै: मेरुदण्ड सामान्य आकारमा फर्कन्छ। पेट फुल्ने समस्या अब हुँदैन, र रक्तचाप सामान्य हुन्छ।
२ . पहिलो साताः चक्कर लाग्ने, अन्योल्ता, सन्तुलन गुमाउने जस्ता समस्या हराउँदै जान्छ र निन्द्रा पुन: सामान्य हुँदै जान्छ।
३ . दुई सातापछि: प्रतिरक्षा प्रणाली पहिले जस्तै हुन्छ, शरीरले हराएका तरल पदार्थ पुन: प्राप्त गर्छ।
४ . एक महिनापछि: मांसपेशीहरू बलियो बन्दै जान्छन् र स्पेस जानु अघि जस्तो अवस्थामा फर्किन थाल्छ।
५ . तीन महिनापछि: छाला पुन: स्वस्थ बन्छ, शरीरको तौल सामान्य अवस्थामा फर्किन्छ र दृष्टि सम्बन्धी समस्याहरु अब हुँदैनन्।
६ . छ महिनापछि: हड्डीहरू कमजोर भइरहन्छन् र क्यान्सरको जोखिम अझै उच्च रहन्छ। करिब ९३ प्रतिशत जीनहरू सामान्य अवस्थामा फर्किए तापनि ७ प्रतिशत परिवर्तनकै अवस्थामा रहन्छन्।
अन्तरिक्षयात्रीहरूका लागि लामो समयसम्म अन्तरिक्षमा बस्नु चुनौतीपूर्ण मात्र नभइ स्वास्थ्यका लागि गम्भीर जोखिमयुक्त पनि छ। तर, वैज्ञानिक अनुसन्धानका कारण भविष्यमा अन्तरिक्ष यात्रालाई अझ सुरक्षित र सहज बनाउने उपायहरू खोजिंदै छन्।