नेपालका दूरदराजका क्षेत्रहरूमा मानसिक स्वास्थ्यको समस्यालाई अझै पनि अज्ञानताले ढाकेको छ। मानसिक रोग भएकाहरूलाई बाँध्ने, थुन्ने, वा कोठामा कैद गर्ने प्रथा आज पनि देखिन्छ। यो लेख केही दिन अघि कोशी प्रदेशको एउटा पहाडी जिल्लामा देखिएको एउटा दुखद घटनाबाट सुरु हुन्छ - एउटा महिलाको बाँधिएको जीवन, र उनलाई मुक्त गर्ने प्रयासहरूको कथा।
एक दुखद दृश्य
केही दिन अघि एउटा मानसिक स्वास्थ्य शिविर को लागि कोशी प्रदेशको एउटा पहाडी जिल्लामा जाँदा एउटा दृश्य नजिकबाट देखें। ३५ बर्षीया एक महिलालाई विगत केही वर्षदेखि एउटा प्रकाश पनि नछिर्ने बन्द कोठामा बाहिरबाट ताला र डोरी लगाई राखिएको थियो। खानाका लागि बेला-बेलामा झ्याल खोलेर दिइन्थ्यो। कपडा, बिस्तारा त्यही भित्र जे थियो, त्यही प्रयोग गर्नु पर्थ्यो। शौचालयको लागि पनि सोही कोठा भित्र जताततै गर्न बाध्य थिइन्।
जब वडा अध्यक्ष, स्थानीय ,स्वास्थ्यकर्मी ज्यूहरूसँग मिलेर त्यो बन्धन तोडेर हेर्दा, दुर्गन्ध बाहिरसम्म फैलिएको थियो। अन्धकार कोठा भरि सामान, फोहोर छरपस्ट थियो। एउटा कुनामा ती महिला एक्लै बर्बराउँदै थिइन्- त्यो दृश्य हृदय विदारक थियो।
पारिवारिक पीडा र उपेक्षा
विवाहित ती महिलाकी ८–९ वर्षकी छोरीले पनि हामीसँगै केही वर्षपछि मात्र आफ्नी आमालाई देखेकी थिइन्। अझ दुखद के भने ती महिलाको मानसिक अवस्था सामान्य औषधि र नियमित उपचारबाट निको हुने प्रकृतिको थियो। तर अज्ञानता र सुविधाको अभावले उनको जीवन नर्क बनाइदिएको थियो।
समस्या: किन बाँधिन्छन् मानसिक बिरामीहरू?
स्वतन्त्र रूपमा बाँच्नु, सामाजिक न्याय पाउनु, स्वास्थ्य सेवामा पहुँच र मानवीय गरिमा प्राप्त गर्नु हरेक नागरिकको अधिकार हो। तर मानसिक समस्या भएकै कारण देशका विभिन्न भागमा आज पनि बिरामीलाई थुन्ने, कोठामा कैद गर्ने, हातखुट्टामा साँग्लो लगाउने वा डोरीले बाँध्ने प्रथा छ। यस्ता दृश्य अमानवीय त छन् नै, साथै परिवारले पनि आर्थिक, सामाजिक र शैक्षिक अभावमा यस्तो गर्न बाध्य हुन्छन्।
यसका प्रमुख कारणहरू यसप्रकार छन्:
१. आर्थिक र ज्ञानको अभाव: बिरामीको आक्रामक व्यवहार, उपचारको जानकारी नहुनु, चिकित्सकको पहुँच नहुनु, र आर्थिक समस्या।
२. सामाजिक अज्ञानता र कलंक: भूत-प्रेत, पूर्वजन्मको पाप, मानसिक रोगलाई लाजको विषय मान्ने सोच, र परम्परागत उपचारमा निर्भरता।
समाधानका उपायहरू
१. उपचार र सहयोग: अधिकांश मानसिक समस्याहरू औषधि र उपचारात्मक पद्धतिबाट नियन्त्रण गर्न सकिन्छ। नेपालका केन्द्रीय र प्रदेशस्तरीय अस्पतालहरूमा मनोचिकित्सक र मानसिक स्वास्थ्य सेवा उपलब्ध छन्।
२. स्थानीय स्तरमा सिक्षण: स्थानीय स्वास्थ्यकर्मी, चिकित्सक र महिला स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य पहिचान र रेफरल प्रणालीको तालिम दिनुपर्छ।
३. सामुदायिक सहयोग: परिवार, छरछिमेकी, स्थानीय निकाय र संस्थाहरूले बिरामीलाई तत्काल स्वास्थ्य संस्थासम्म पुर्याउन मद्दत गर्नुपर्छ।
४. मानवीय व्यवहार: बिरामीसँग नम्रतापूर्वक व्यवहार गर्दा उनीहरू उपचार स्वीकार गर्न र औषधि सेवन गर्न तयार हुन्छन्।
५. जरुरीमा सतर्कता: यदि बिरामी आक्रामक छन् भने अस्थायी रूपमा सुरक्षा दिने तर तुरुन्त स्वास्थ्य संस्थामा लग्ने व्यवस्था गर्नुपर्छ।
सूचना र सहयोग
मानसिक स्वास्थ्य सेवाको बारेमा नजिकको स्वास्थ्य संस्था, मनोचिकित्सक, वा निःशुल्क फोन नं. ११६६ बाट जानकारी लिन सकिन्छ। यो हेल्पलाइन मनोसामाजिक सहयोग र परामर्शको लागि उपलब्ध छ।
मानसिक रोग कलंक होइन, एक चिकित्सकीय अवस्था हो। बाँध्ने र थुन्ने प्रथाले बिरामीको अवस्थालाई मात्र बिगार्छ, समाधान गर्दैन। सबैको सहयोग, जागरूकता र सेवाको पहुँच नै यस अमानवीय प्रथालाई अन्त्य गर्ने मूल आधार हो। आउनुहोस्, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिऔं, र मानवीय गरिमाको साथ उपचारको बाटो खोलौं।
(डा खनाल कन्सल्टेन्ट साइक्याट्रिस्ट हुन् । उनी मानसिक अस्पताल लगनखेलमा कार्यरत छन्)