जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको करार सेवाका कर्मचारीका लागि लिइएको परीक्षामा अनियमितताको आरोप लगाइएको छ।
अनेरास्ववियुका विद्यार्थीले प्रतिष्ठानको असोज २१ गते भएको परीक्षा परीक्षा अमर्यादित रुपमा चलेको र अनियमितता भएको आरोप लगाएका हुन्।
परीक्षा केन्द्रीय कार्यालय जुम्लामा मात्र गर्ने भनी सार्वजनिक सूचना जारी गरे पनि प्रतिष्ठानले काठमाडौंमा पनि परीक्षा लिएपछि अनेरास्ववियुले अनियमितता भएको भन्दै विरोध गरेको हो । अनेरास्ववियु जुम्लाका सचिव भरत नेपालीले काठमाडौं र जुम्लामा लिइएको दुवै परीक्षा रद्द गरेर नयाँ परीक्षा मिति घोषणा गर्नुपर्ने बताए । उनले परीक्षार्थीलाई प्रतिष्ठानले क्षतिपूर्तिको व्यवस्था समेत गर्नुपर्ने माग गरे।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले विद्यार्थीको आग्रहमा काठमाडौंमा परीक्षा सञ्चालन गरिएको बताए । ‘सूचनामा एकै ठाउँमा गर्ने भनेका थियौं, तर विद्यार्थीको समस्यालाई ध्यान दिँदै दुई ठाउँमा परीक्षा गर्न बाध्य भयौं’, उनले भने।
प्रतिष्ठानले ल्याव, फार्मेसी, जुनियर क्यासियर, एचए सेवाका लागि करारमा कर्मचारीको दरखास्त आह्वान गरेको थियो । काठमाडौंमा मात्रै ७० जना विद्यार्थी सहभागी थिए । जुम्लामा जुनियर क्यासियरमा १ सय २५ जना, अफिस सेक्रेटरीमा ५१ जना, एचएमा ४१ र बाँकी पदका लागि ४० जनाको दरखास्त परेको थियो।
यसैबीच परीक्षा रद्द गर्नुपर्ने मागसहित अनेरास्ववियु जुम्लाले कर्णाली शिक्षण अस्पतालको प्रशासनमा चार दिनयता लगाएको ताला अझै खुल्न सकेको छैन । विद्यार्थीको तालाबन्दीका कारण प्रशासनिक कार्य ठप्प छन्।
परीक्षा खारेजीका मागसहित विद्यार्थीले पदाधिकारीले अभ्यास शिक्षण नगराई पाउँदै आएको ननप्राक्टिस भत्ता खारेज हुनुपर्ने, सुगममा बसेर दुर्गम भत्ता असुल्ने कार्य बन्द गर्नुपर्ने, लामो समयअघि ल्याइएको आइसियु मेसिन तत्काल जडान गर्नुपर्ने लगायत माग गरेका छन्।