काठमाडौं- नेपालमा रहेका क्यान्सर उपचार हुने सबै अस्पतालमा एकैखालको उपचार पद्धति लागू भएको छ। स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा क्यान्सरको उपचारमा एकरुपता ल्याउन तयार पारेको क्यान्सर उपचार प्रोटोकल (कार्यविधि) लागू भएसँगै बरामीले सस्तोमा एकैखालको उपचार पाउन थालेका हुन्।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले उक्त प्रोटोकल क्यान्सर उपचार हुने सबै अस्पतालमा पठाइसकिएको र त्यही अनुसार उपचार दिन सुरु भएको जनाएको छ। प्रोटोकल अनुसार अब क्यान्सरका बिरामीले विगतमा जस्तो एकैपटक महँगा औषधि, शल्यक्रिया तथा रेडियोथेरापी लिनुपर्दैन भने जुन अस्पतालमा गए पनि एकैखालको उपचार पाउने भएका छन्।
क्यान्सर रोग विशेषज्ञ डा विवेक आचार्यका अनुसार प्रोटोकलमा नेपालमा धेरैलाई देखिने स्तन, पाठेघर, रगत, फोक्सो, आन्द्रा लगायत १३ थरिका क्यान्सरका बिरामीले जुन अस्पतालमा गए पनि एकैखालको उपचार पाउने व्यवस्था गरिएको छ।
‘यो प्रोटोकलमा अस्पतालले बिरामीलाई गुणस्तरीय र सस्तो औषधि दिनुका साथै एकैखालको उपचार सेवा दिनुपर्ने स्पष्ट व्याख्या गरिएको छ,’ उनले भने, ‘त्यही अनुसार अस्पतालहरुले बिरामीलाई सस्तोमा उपचार दिन थालिसकेका छन्।’
क्यान्सर उपचारका क्रममा अस्पतालहरुमा आफूखुसी शुल्क लिने र महँगा औषधि चलाउने गरेको गुनासो आएपछि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले यस विषयमा अध्ययन गर्न टोली खटाएका थिए। अध्ययनका क्रममा अस्पतालहरुले १०-१२ हजारका औषधि चलाउँदा हुने बिरामीलाई पनि ७०-८० हजार रुपैयाँसम्म लिएको, शल्यक्रिया, रेडियोथेरापी तथा केमोमा जथाभावी शुल्क लिने गरेको फेला परेको थियो।
अस्पतालपिच्छे फरक उपचार र बिरामीलाई जथाभावी रुपमा महँगा औषधि भिडाउँदा सरकारले क्यान्सरका बिरामीलाई उपलब्ध गराउँदै आएको एक लाख रुपैयाँ आर्थिक सहयोग यसै खेर गइरहेको भन्दै तत्कालीन मन्त्री थापाले उपचार प्रोटोकल बनाउन लगाएका हुन्। मन्त्री थापाकै निर्देशनमा व्यवस्थापन महाशाखाले विज्ञहरुसँग छलफल गरेर प्रोटोकल तयार पारेको थियो।
प्रोटोकलमा उल्लेखित १३ थरिका क्यान्सरको परीक्षणदेखि, औषधि उपचारसम्मका सबै तहमा एउटै मापदण्डको व्यवस्था राखिएको छ। प्रोटोकल अनुसार उपचार भए/नभएको अनुगमन गर्ने काम व्यवस्थापन महाशाखाकै हो।
महाशाखाका अनुसार प्रोटोकल विपरित अस्पतालले बिरामीलाई महँगो औषधि चलाएमा ती अस्पताल कारबाहीमा पर्नुका साथै बिरामीको उपचार गरेबापत अस्पताललाई दिइने एक लाख रुपैयाँसम्मको अनुदान समेत पाउने छैनन्।
प्रोटोकल अनुसार उपचार गर्दा एक लाख रुपैयाँ धेरै क्यान्सरको उपचारका लागि पर्याप्त हुने डा आचार्य बताउँछन्। ‘स्टेज र क्यान्सर अनुसार खर्चमा तलमाथि हुनेगर्छ,’ उनले भने, ‘तर यो प्रोटोकल अनुसार धेरै क्यान्सरको त्यही एक लाख रुपैयाँ भित्रैबाट र केहीमा ७५ प्रतिशतसम्म उपचार हुन्छ।’