पोखरा– अस्पताल भर्ना गरेको एक हप्तापछि सुत्केरीको निधन भएपछि तनावग्रस्त बनेको पोखराको गण्डकी मेडिकल कलेजमा आकस्मिक बाहेकका सेवा अवरुद्ध भएको छ।
स्याङ्जाको अर्जुन चौपारी-१ की १९ वर्षीया गीता अर्यालको मृत्युपछि सम्बन्धित चिकित्सकलाई कारबाहीको माग गर्दै आफन्तले कलेज अगाडि नाराबाजी गरेका छन्। उनीहरुले कलेजको अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका थिए।
अर्यालको मृत्युपछि शुक्रबार र शनिबार अस्पताल तनावग्रस्त बनेको छ। विरोधमा उत्रिएका मृतकका आफन्तले अस्पतालमा आकस्मिक बाहेकका सबै विभागका ढोकामा ताला लगाइदिएका छन्।
कात्तिक ११ गते शुक्रबार बिहान अर्याललाई सुत्केरी बेथा लागेपछि आफन्तले गण्डकी मेडिकल कलेजको शिक्षण अस्पतालमा लगेका थिए।
मृतक अर्यालका जेठाजु राजन अर्यालका अनुसार चिकित्सकले सुरुमा अवस्था सामान्य रहेको र दुई घर खुलिसकेको भने पनि ११ गते बिहान शल्यक्रियाबाट बच्चा निकालियको थियो। त्यसपछि बेहोस अवस्थामा रहेकी अर्याललाई एक साता भेन्टिलेटरमा राखिएको थियो। अस्पतालले बिरामीको मृत्यु भएको खबर गत शुक्रबार दिएको राजनले बताए।
‘उनको अवस्थाबारे अस्पताल पक्षले केही जानकारी नदिई मृत्यु भएको बतायो,’ उनले दाबी गर्दै भने, ‘आफन्तलाई भेट्न नदिई उनीहरुले लापरबाहीलाई लुकाइराखे।’ उनले उपचारमा संलग्न चिकत्सकलाई अस्पताल प्रशासनले लुकाएको आरोप पनि लगाएका छन्।
कलेज प्रशासनले भने चिकित्सक र लापरवाहीको खण्डन गरेको छ। कलेजका मेडिकल सुपरिटेन्डेन्ट प्राडा तुमाया घलेले अस्पतालको लापरबाही नभएको दाबी गरिन्। कानुन अनुसार बन्ने छानबिन समितिले दिएको निर्णय अस्पताललाई मान्य हुने घलेको तर्क छ।
मृतक अर्यालको गत मंसिरमा विवाह भएको थियो। उनका श्रीमान् वैदेशिक रोजगारीका लागि दुबईमा छन्।