कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्णाली प्रदेशकै पहिलोपटक मेरुदण्डको अप्रेसन गरिएको छ। जुम्ला पातारासी गाउँपालिका ५ का ३३ वर्षीया टेकबहादुर बुढाको मेरुदण्डको अप्रेशन गरिएको हो । बनमा बाख्रा चराउनको गएको बेला रुखबाट लडेर मेरुदण्डमा समस्या भएका उनको अप्रेसन जुम्लामै भएपछि निकै खुसी छिन् । पछिल्लो समयमा अस्पतालमा भएको आवश्यक स्रोतसाधन र जनशक्तिका कारण मेरुदण्डको अप्रेसन सम्भव भएको हाडजोर्नी विशेषज्ञ डा धनवहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार यो अप्रेसनका लागि सुर्खेत वा नेपालगञ्ज पुग्नु परेको र्भ न्युनतम २ देखि ४ लाख रुपैयाँसम्म खर्च गर्नुपथ्र्यो । तर जुम्ला अस्पतालमा ३० हजार देखि ३५ हजार रुपैयाँमै सम्भव भएको हो । विशेषज्ञ डा कार्कीले तल्लो ढाडको हड्डी भाँच्चिएर नसाको समस्या देखिएको बताए । ढाडमा ठूलो इन्जेक्सन दिन नपर्ने र सानो–सानो प्वाल बनाई सि–आर्मको मद्यतले भाँचिएको मेरुदण्ड फिक्स गर्ने पद्दती अपनाइएको हो। शल्याक्रिया पश्चात् बिरामीको अवस्थामा निकै सुधार भएको छ । अबको एक दुई दिनमै बिरामीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ।
हाडजोर्नी विेशषज्ञ डा देउमन लिम्वुको नेतृत्वमा हाडजोर्नी विशेषज्ञ डा धनबहादुर कार्की, मेडिकल डाइरेक्टर डा पुजन रोकाया, डा मंगल रावल, एनएसथेसियाका डा रमेश भट्टराई, डा निराजन महासेट र डा रविन खापुङको टोलीले मेरुदण्डको पहिलो सफल अप्रेसन गरेको हो । मेडिकल डाइरेक्टर डा रोकायाका अनुसार मुगु र कालिकोट र डोल्पा जिल्लाका बिरामी अहिले प्रतिष्ठानकै हाडजोर्नी सेवावाट लाभान्वित हुदै आएका छन्। कालिकोटमा प्रत्येक महिनाको १५ र २८ गते र मुगु जिल्लामा प्रत्येक महिनाको २ गते विशेषज्ञ सेवा सञ्चालन हँुदै आएको छ ।
पहिलोपटक मेरुदण्डको अप्रेसन गरिएका टेकवहादुर बुढा जेठ ८ गते अस्पताल भर्ना भएका थिए । चिकित्सकहरुले मेरुदण्ड भाँचिएको पहिचान भएपछि अप्रेसन गरेर नयाँ जीवन दिएको अनुभूति सुनाए । बाख्रा चराउनको लागि बन गएको समयमा रुखबाट लडेर मेरुदण्ड भाँचिएको थियो।
‘अहिलेसम्म जुम्लामै यो प्रकारको अप्रेशन हुन नसक्नेमा ढुक्क थिए,’ उनले भने, ‘तर विशेषज्ञ चिकित्सकहरुले जुम्लामै यो खालको अप्रेशन संभव तुल्याईदिएर पुर्नजीवन प्रदान गरेका छन्। यसमा निकै खुुसी छु।’
अप्रेसनमा खर्च पनि कम र छोटो समयमै निको हुने भएपछि निकै खुसी भएको टेकबहादुरकी पत्नी जरेनी बुढाले वताइन्। उनले भनिन्, ‘बिरामीको अवस्था हेर्दा वाँच्दैनन् भन्ने लागेको थियो। अस्पतालका डाक्टरले भगवानको रुप धारण गरे जस्तो लागेको छ।’
टेकबहादुरले आफ्नो सफल अप्रेसन पछि कुनै पनि प्रकारको बिरामी उपचार अभावमा अकालमा मृत्यु भोग्नु पर्ने दिन गएका सन्देश प्रवाह भएको बताए । उनले भने, ‘जुम्लामै यत्रो ठूलो अप्रेसन हुनेमा आशा थिएन तर कम लागतमा अप्रेसन सफल भएपछि कर्णालीका बिरामीको दुःखका दिन हटेका छन्।’ यसअघि यो अस्पतालमा जोर्नी प्रत्यारोपण गरिएको थियो।