नर्सिङ पेसा बाहिरबाट हेर्दा जति सजिलो र आकर्षक देखिन्छ, त्यस्तो पक्कै छैन। बरु बिरामीको सेवा गर्नुपर्ने भएकाले यो पेसा निकै चुनौतीपूर्ण छ। अरुको स्वास्थ्यप्रति सधैं सचेत रहनुपर्ने नर्स आफ्नै स्वास्थ्यका बारेमा भने कति संवेदनशील हुन्छन् ? आफ्नो स्वास्थ्यका लागि कति समय छुट्याउँछन्? यसपालीको स्वास्थ्य खबरपत्रिकाले व्यस्तताकै बीचबाट आफ्नो स्वास्थ्यका लागि समय निकाल्ने चार जना नर्ससँग कुराकानी गरेको छ।
लक्ष्मी तामाङ
हाम्रो समाजमा रोग नलागेसम्म स्वास्थ्यप्रति ख्याल राख्ने चलन छैन। स्वास्थ्यको ख्याल राख्नुपर्छ भन्ने जान्दाजान्दै पनि आफ्नो स्वास्थ्यलाई बेवास्ता गर्ने परिपाटी छ। मिडवाइफरी सोसाइटिकी अध्यक्ष लक्ष्मी तामाङको जीवनमा पनि त्यस्तै भयो। उनी रोग लाग्नुभन्दा अगाडि आफ्नो स्वास्थ्यको त्यति ख्याल राख्दैनथिइन्। आफूलाई बे्रन ट्युमर भइसकेपछि मात्र स्वास्थ्य कति महत्वपूर्ण रहेछ भन्ने कुरा बुझिन् उनले।
पहिले स्वास्थ्यको बेवास्ता गर्ने उनी रोग लागिसकेपछि भने स्वास्थ्यप्रति निकै सचेत हुन थालेकी छन्। अहिले जीवनशैली नै परिर्वतन गरेकी छन्।
तारेको र गुलियो खानेकुरा भनेपछि हुरुक्कै हुने लक्ष्मीले गुलियो र तारेको खानेकुरा खान छोडिदिइन्। मासु नभई खाना नरुच्ने उनी माछा र अन्डामात्र खाने गर्छिन्। लामो यात्रामा निस्कनु प¥यो भने उसिनेर अन्डा खाने गर्छिन्। भान्सामा सकेसम्म अर्गानिक खानेकुरा मात्र पकाउने गर्छिन्।
बिहानको ३/४ बजेबाट उनको दैनिकी सुरु हुन्छ। उनी ६ घन्टा मात्र सुत्ने गर्छिन्। बिहान उठिसकेपछि सबैभन्दा पहिलो काम भनेको किताब पढ्ने हो। उनी विशेष गरेर सामाजिक, राजनीतिक, आर्थिक, समसामयिक विषयका किताब पढ्न मन पराउँछिन्।
उनलाई मर्निङ वाक जाने वा अन्य शारीरिक कसरत गर्न मन लाग्दैन। भन्छिन्, ‘मर्निङ वाक र अन्य कसरतलाई निरन्तरता दिन सकिएन भने मोटोपन बढ्छ, त्यसैले दैनिक अफिस जाँदा र घर फर्कंदा गाडीबाट ओर्लेर आधा घन्टा हिँड्ने गर्छु तर बिहान उठेर मर्निङ वाक भने गर्दिनँ।’
बिहान मनतातो पानीमा कागती राखेर पिउने लक्ष्मी खाजाको रुपमा भने नट्स, काजु बदाम, ओखर, फर्सीको बियाँ, सूर्यमुखी फूलको बियाँ, खरबुजाको बियाँ, एभोकाडो, पेस्ता र स्याउ दुई पिस खाने गर्छिन्।
बिहानको खाना ९ देखि साढे ९ बजेभित्र खाइसक्ने उनी दात, भात, तरकारी मन पराउँछिन्। कहिलेकाहीँ उनको भान्सामा मकैको च्याख्ला पनि पाक्छ। उनी कोक, फेन्टा, चिया, कफी जस्ता पेय प्रदार्थ पिउँदिनन्। साथीभाइ जम्मा भएको बेलामा चिया खानुपर्ने अवस्था आयो भने लेमन टी लिन्छन्। पानी भने प्रशस्त पिउँछिन् उनी।
दिउँसो खाजामा फलफूल खान मन पराउने उनी बेलुकाको खाना ५ बजेभन्दा अगाडि नै खाइसक्छिन्। उनी बेलुका प्रायः ८ बजेदेखि १० बजेभित्र सुतिसक्छिन्।
स्वास्थ्यकर्मी भए पनि बिरामी भइहालेमा एलोप्याथिक औषधि खान मन पर्दैन। उनी भन्छिन्, ‘म स्वास्थ्यकर्मी भए पनि सकभर रोग प्राकृतिक रुपमा निको होस् भन्ने चाहन्छु। औषधि खानै प¥यो भने एलोप्याथिक औषधिभन्दा आयुर्वेदिक औषधि खाने गर्छु।’
वर्षमा एक पटक ध्यान गर्न विपश्यना जाने लक्ष्मी विपश्यनाले मन शान्त र आनन्द महसुस हुने बताउँछिन्।
जया शर्मा
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जकी नर्सिङ अधिकृत तथा ओटी इन्चार्ज जया शर्मा स्वास्थ्यप्रति निकै सचेत छिन्।
बिहान साढे ४ बजेबाट सुरु हुन्छ उनको दैनिकी। बिहान ५ बजेदेखि ६ बजेसम्मको उनको समय जीवन–विज्ञानमा साधना र ध्यान गरेर बित्छ। जीवन–विज्ञानमा जाँदा घरबाट आधा घन्टा हिँड्छिन्। उनले तौल घटाएर ६० किलोबाट ५४ किलोमा झारेकी छिन्।
खानापानमा पनि उनी उत्तिकै सजग छिन्। बिहान ८ बजे नै अफिस पुग्ने उनी ८ बजे अगाडि नै दात, भात, तरकारी खाइसक्छिन्। पहिले माछा–मासु खुब मन पराउने जयाले अहिले माछामासु खान छोडेकी छन्। घरमा परिवारलाई सकेसम्म सेतो मासु हप्तामा दुई पटक मात्र खान सुझाव दिन्छिन् उनी।
दिउँसोको खाजामा तरकारी, उसिनेको अन्डा, समोसा, फ्राई राइस खाने उनी बेलुका भने सलाद, तरकारी, फलफूल मात्र खाने गर्छिन्। शरीर तन्दुरुस्त राख्न महिनामा एक पटक हाइकिङ जाने उनको तालिका रहेको छ। हिँड्न मन पराउने उनी अफिसको ५ तलामाथि पुग्दा पनि प्रायः सिँढीको प्रयोग गर्छिन्।
मान्छे स्वस्थ हुन शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुनु जरुरी छ भन्ने मान्यता राख्ने जया बिरामी र उनका परिवारलाई स्वास्थ्यको ख्याल राख्न आग्रह गर्छिन्।
रोजी शाक्य
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रकी ओपिडी इन्र्चाज रोजी शाक्य आफ्नो स्वास्थ्यप्रति निकै सजग छिन्। बिहान ६ बजे उठ्ने उनी कागती र मह मिसाएको मनतातो पानी पिएर दिनको सुरुवात गर्छिन्। अफिस जाने बेलामा कालो चियामा कम गुलियो हालेर पिउने उनी बिहान ९ बजे कालो चिया र बिस्कुट खान्छिन।
बिहानको खानामा २ वटा रोटी, तरकारी, दाल र अम्लेट लिने रोजी दिउँसो २ बजेतिर फलफूल, दही र सलाद खान्छिन्। बेलुका ७÷८ बजेभित्र सानो कचौराको एक कचौरा भात, दाल र तरकारी खाने गर्छिन्। खानामा चिल्लो र गुलिलो सकभर खाँदिनन्।
पहिले जुम्बा गर्थिन तर आजभोलि घुँडामा समस्या भएकोले छोडेकी छन्। हप्ताको दुई दिन मर्निङ वाक जाने रोजीको तौल प्रायः ५६/५७ को बीचमा हुन्छ, जुन उनको उचाइअनुसार सही हो।
उनी आफूमात्र होइन, परिवारलाई पनि स्वास्थ्य हुन आग्रह गर्छिन्। अस्पतालमा आउने बिरामीहरुलाई चिल्लो, गुलियो र नुनिलो कम मात्रमा खान आग्रह गर्ने रोजी दैनिक ३० देखि ४५ मिनेट शारीरिक कसरत गर्न पनि सुझाव दिन्छिन्।
लक्ष्मी मानन्धर
सिभिल अस्पतालकी सिनियर अनमी नर्स लक्ष्मीको दिनचर्या बिहान साढे ४ बजेबाट सुरु हुन्छ। ६५ वर्षको उमेरमा पनि युवाको जस्तै जोस छ उनमा। आफूलाई फिट राख्न उनी ५ देखि ६ बजेसम्म योग गर्छिन्। योग गर्दा दिनभरि मन शान्त हुने उनी बताउँछिन्।
खानामा बिहान दात, भातका साथै प्रशस्त मात्रमा तरकारी खाने उनी दिउँसोको खानामा भने सातु खाने गर्छिन्। राति हल्का दाल, भात, तरकारी खाने लक्ष्मी सुत्नु अगाडि एक गिलास दूध पिउने गर्छिन्।
अस्पताल आएका बिरामीलाई रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु राम्रो भनेर सिकाउने लक्ष्मी शारीरिक कसरत गर्न र खानपिनमा ध्यान दिन आग्रह गर्छिन्।