‘आफूलाई नपरी अरुको दुःख थाहा हुने रैनछ,’ कलानाथ थपलियाले महशुस गरेको कुरा हो। बिरामी उपचारमा उनी वर्षौंदेखि सक्रिय थिए। बिरामी र उनीहरुका आफन्तको दुःखपीर पार लगाउन सकेसम्म डट्थे। आफ्नो भाइ बिरामी भएर अस्पतालमा राखेपछि बल्ल उनलाई महशुस भयो– वास्तविक दुःख त थाहा पाएकै रहेनछु।
चार वर्षअघि उनका भाइ सिकिस्त बिरामी परे। शिक्षण अस्पतालमा उपचारको लागि ल्याए। अस्पतालले तुरुन्तै सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गर्नुपर्ने सुझाव दियो।
त्यहाँ आईसीयूमा बेड नपाएर अन्य अस्पतालमा बुझे, कतैपनि बेड खाली भेटेनन्। पछि बल्ल–बल्ल टिचिङ अस्पतालमै आईसीयू बेड मिलाए। बिरामी भाइलाई आईसीयूमा भर्ना गरे, अस्पतामा बस्दा थुप्रै समस्या भोग्नुप¥यो। भनेको बेलामा चिकित्सक नभेटिने, बारम्बार बोलाउन जानुपर्ने, राति बिरामी कुर्ने मान्छेलाई बस्ने ठाउँको समस्या उस्तै, खानाको समस्या!
कलानाथ भन्छन्, ‘स्वास्थ्यकर्मी भएर बिरामीलाई आदेश दिन सजिलो रहेछ तर आफन्त बिरामी भएर अस्पताल आउँदा कति दुःख हुँदो रहेछ, त्यो बेलामा थाहा भयो।’
त्यो बेलादेखि बिरामीले आफूले जस्तै दुःख पाउन नपरोस् भनेर अस्पतालमा आएका बिरामीलाई आफूले सक्ने सहयोग गर्ने गर्छन्।
उनी किष्ट मेडीकल कलेज र मनमोहन कार्डियोथोरासिक, भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा हेल्थ असिस्टेन्समन रुपमा काम गर्छन्। उनले काम गर्न थालेको ९ वर्ष भयो।
उनी बिहानबेलुका क्लिनिकमा बिरामीको सेवा गर्छन्। आफैंले सञ्चालन गरेको क्लिनिकमा सामान्य बिरामी हेर्छन्। गम्भीर बिरामीलाई उपयुक्त सल्लाह दिएर पठाउँछन्।
एकपटक उनीसँग उपचार गराएका बिरामी अवश्य अर्कोपटक बिरामी पर्दा आइपुग्छन्। उनी आफ्नो बुताभित्रको भए उपचार गर्छन् र नभए राम्रो सल्लाह दिएर उपचारका लागि सघाउँछन्। त्यसैले उनलाई क्लिनिकमा काम गर्ने उत्साह जगाइरहेको छ।
नुवाकोटमा जन्मिएका उनको परिवारका कोही स्वास्थ्य क्षेत्रमा थिएनन्। त्यसैले यतातिर पढ्ने बारे उनको कुनै योजना थिएन। एसएलसी पछि के पढ्ने भन्ने दोधारमा थिए। एसएलसी दिएर गाउँकै दाइसँग उनी काठमाडौँ आए। उले स्वास्थ्य क्षेत्रमा प्रवेश गर्नुको रहस्य खोले, ‘काठमाडौंमा उहाँले पोलिक्लिनिक सञ्चालन गर्नुभएको रहेछ। एसएलसीको रिजल्ट नहुँदासम्म म पनि दाइसँग पोलिक्लिनिक बसें। पोलिकिनिकमा बस्दाबस्दै म पनि स्वास्थ्य क्षेत्रप्रति आकर्षित भएँ।’
पढाइ राम्रै भएकोले एसएलसीमा पनि राम्रै अंक ल्याएर उत्तीर्ण भए। एसएलसी पछि ती दाइले हेल्थ असिस्टेन्स पढ्न सुझाए, उनले पनि मनमनै स्वास्थ्य क्षेत्रमा लाग्ने विचार गरिसकेका थिए। त्यसैले छात्रवृत्तिमा हेल्थ असिस्टेन्स पढ्न आवेदन दिएका थिए, नाम पनि निस्कियो।
हेल्थ असिस्टेन्सको दुई वर्षे कोष पूरा गरेपछि भने उनलाई किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा काम गर्ने मौका मिल्यो।
दुईवर्ष काम गरेपछि भने चिकित्सा शास्त्र अध्ययन संस्था (आइओएम)बाट उनले पब्लिक हेल्थ पढ्ने अवसर मिल्यो र उनले जागिर गर्दै पढे।
विपिएचको पढाइ सकिनासाथ मनमोहन कार्डियोथोरासिक, भाष्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नाम निस्कियो। चर वर्ष त्यहाँको ओपिडीमा हेल्थ असिस्टेन्स भएर काम गरे।
त्यहाँ काम गर्दा गर्दै पब्लिक हेल्थमा स्नातकोत्तर गरे, अहिले उनी त्यहाँ रिसर्च असिस्टेन्सका रुपमा कार्यरत छन्।
परिवारले माया मारेकी ती बिरामी
किष्ट मेडिकल कलेजको इमर्जेन्सीमा काम गर्दा उनले विष खाएका बिरामी धेरै भेटे। ती पनि युवावयका। उमेरले २० देखि ३० वर्षका हुन्थे। विष खाएर आउने कति बिरामी बाँचेर घर पर्के भने कतिपय समयको उनको प्रयास खेर गयो। बिरामीको मृत्युपछि आफन्तलाई सम्झाउन हम्मे–हम्मे पथ्र्यो उनलाई। कलिलो सन्तान गुमाउनको पीडाले छटपटिरहेका हुन्थे उनीहरु। कलिलै उमेरमा जीवनप्रति हार मानेर विष पिउनेहरुको उपचार गर्दा उनमा अनेक प्रश्नहरु खेल्थे।
केही वर्षअघि एकजना गर्भवति महिला विष खाएको घटना अहिले पनि याद छ उनलाई। उनको चिनजानको एकजना दाई आफ्नी गर्भवती श्रीमतीले विष खाएकाले अस्पतालमा ल्याएका रहेछन्। बुढाबुढीको झगडा पर्दा उनले रिसको झोकमा विष खाएकी रहेछिन्। ‘उनी बेहोस भएकोले चार दिनसम्म भेन्टिलेटरमा राख्दा पनि उनको होस आएन। परिवारले बाँच्दिनँ भनेर पशुपति लैजाने भन्दै मान्छे जम्मा गरे। त्यो केस एकजना पाकिस्तानीे चिकित्सक हेर्नुभएको थियो, मैले सहयोग गरिरहेको थिएँ। परिवार बिरामी लिन आएपछि चिकित्सकले सम्झाउँदै अन्तिम समयसम्म आस नमार्न भने। चिकित्सकको प्रयास खेर गएन। उनी बाँचिन्,’ उनले सम्झिए।
बिरामी १५ दिन भेन्टिलेटरमा राखेपछि बल्ला उनको होस आयो र परिवारले घर लगे।पछि बच्चा पनि स्वस्थ जन्मियो। अहिले बच्चा ठूलो भएको छ। उनीहरुले दोस्रो बच्चा पनि भएको छ। उनले भने, ‘ती दाइ भाउजुसँग अहिले पनि भेट हुन्छ। त्यो घटनाको याद आउँछ र सोच्छु यदि चिकित्सकले नसम्झाएको भए के हुन्थ्यो होला?’
ब्रोन्कोस्कोपीमा बिरामीको ज्यान जाँदा
कार्डियो भास्कुलरको ओपिडीमा काम गर्दा उनी ब्रोन्कोस्कोपी गर्ने ठाउँमा चिकित्सलाई सहयोग गर्थे। ब्रोन्कोस्कोपी गर्न धेरै बिरामी आउँथे। यो मुखबाट पाइप हालेर फोक्सोको समस्या जाँच्न थोरै मासु निकाल्ने विधि हो।
कुनै बिरामी त मुखबाट पाइप छिराउँदा छिराउँदैँ आतिएर बेहोस हुन्थे। कुनै–कुनै बिरामीको मृत्यु समेत हुन्थ्यो।
एउटा घटना उनको दिमागमा अहिले पनि ताजा छ, ७० वर्षका वृद्धको बोन्कोस्कोपी गर्नु पर्ने थियो उनीहरुले अन्य बिरामीलाई जस्तै उनलाई पनि लठ्याउने स्प्रे दिए। मुखबाट पाईप हाल्लेर फोक्सो हेर्दा अचानाक वृद्ध भए। चारदिन आईसीयूमा राखेपछि उनको मृत्यु भयो। यो घटना सम्झिँदा उनलाई अहिले पनि नरमाइलो लाग्छ।
बिहेकै दिन गाडी एक्सिडेन्ट
जीवनको सबैभन्दा महत्वपूर्ण दिन बिहेको दिन कार ठोक्किएर मृत्युको मुखबाट बाँचेको घटना जीवनमा कहिले पनि भुल्न सक्दैनन्। उनको बिहे २०७० साल मंसिर २५ गते थियो। नुवाकोटबाट जन्ती लिएर बुटवल जानुपर्ने।
नुवाकोटबाट जन्ती बोकेको माइक्रो र उनीहरु चढेको कार नुवाकोटबाट बुटवलतर्फ लाग्यो। माइक्रो अगाडी थियो भने उनी, बहिनी, बुवा चडेको कार पछिपछि।
कुरिनटार पुगेपछि एक्कासी कार उडेर अन्यत्र गएको जस्तो लाग्यो उनलाई। त्यो भयान घटना सम्झिन्छन्, ‘कार त त्रिशुलीको खस्यो भन्ने लागेको थियो। म बेहोश भएँ। होसमा आउँदा कार भित्तामा ठोकीएर उल्टो परेको रहेछ। कुच्चिएर पूरै ध्वस्त भएछ।’
जन्ती बोकेको गाडी उनीहरुभन्दा धेरै टाढा पुगेको थियो। उनी अलमलमा परे, के गर्ने के ? एकछिन सोच्न सकेनन्। फोन गर्न खोजे फोन नम्बर कसैको याद भएन र खल्तीमा भएको मोबाइल पनि निकाल्न सकेनन्।
केही बेरमा मान्छेको भिड जम्मा भयो र भिडले बल्लबल्ल कार सिधा बनायो।कार सिधा बनाउँदा अरु कसैलाई केही भएको थिएन तर उनकी बहिनीको निधारबाट भने रगत बगेको थियो।
उनलाई लाग्यो– समान्य चोट हो ड्रेसिङ गरेपछि निको हुन्छ। ज्वाइँलाई फोन गरेर जन्ती लिएर गएको गाडी घटना भएको ठाउँमा बोलाए।
जन्ती बोकेको गाडी फर्किर आयो र त्यही गाडीमा चडे बहिनीको निधारबाट रगत बगेको थियो वरीपरी कुनै मेडिकल नभएकोले मुग्लीङमा पुगेपछि आफैँले बहिनीको घाउमा ड्रेसिङ गरिदिए।
त्यसको एक छिनपछि उनको बहिनी बेहोस भइन्, त्यही गाडीमा राखेर चितवन मेडिकल कजेलमा लगे। त्यहाँ गएपछि थाहा भयो, उनको बहिनी हिप फ्याक्चर भएको रहेछ। बहिनीलाई त्यहीँ भर्ना गरेर बेहुली लिन उनी बुटवलतिर लागे।
पछि बिहे गरेर फर्किदा चितवन गएर बहिनीलाई त्यही गाडीमा लिएर गए। ीवहेको वर्षगाँठ मनाइरहँदा त्यो घटना दिमागमा ताजा भइहाल्छ उनको।
उनलाई लाग्छ, ‘संयोगले बाँचियो त्यो दिन।’