काठमाडौं - काठमाडौं सहित देशभर गर्मी बढ्दैछ। बढ्दो गर्मीसँगै विभिन्न संक्रामक रोगहरुको जोखिम पनि बढ्ने गर्छ।
गर्मी मौसममा विशेषगरी, झाडापखाला, जण्डिस, टाइफाइड लगायत संक्रामक रोगको जोखिम बढी हुने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। यी समस्याहरु वर्षेनी देखिने भएकाले डा पुन यसलाई मौसमी संक्रामक रोग पनि भन्न रुचाउँछन्।
यी विभिन्न संक्रामक रोगहरु मानिसको जीवनशैली र स्वस्थकर व्यवहारसँग सम्बन्धित छन्। नेपालमा कोरोना महामारीको समयमा संक्रामक रोगको समस्या निकै कम देखिएको डा पुनको अनुभव छ। किनकी त्यो बेला अधिकांशले हात हुने, मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्डहरु पालना गरेका थिए।
गर्मी मौसममा देखिन सक्ने भाइरस इन्फेक्सन के के छन्? कसरी बच्न सकिन्छ? लगायत विषयमा हामीले सरुवा रोग विशेषज्ञ डा पुनसँग कुराकानी गरेका छौं। डा पुनसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
गर्मी मौसममा देखिन सक्ने भाइरल इन्फेक्सनहरु के के छन्?
– यही मौसममा वर्षेनी देखिने संक्रामक रोगलाई मौसमी संक्रामक रोग भन्न सकिन्छ।
– सामान्यतया झाडापखाला, जण्डिस, टाइफाइड, फुड पोइजनिङ जस्ता समस्याहरु वर्षेनी गर्मीमा देखिने गर्छन्।
गर्मीमै मानिसहरुलाई बढी सताउने सरुवा रोगहरु के के छन्? गर्मीमै किन बढी सताउँछ?
– धेरैजसो झाडापखाला भएर पेट दुख्ने समस्या लिएर आउने गरेको देखेको छु।
– खानपानमा मानिसहरुले त्यति धेरै वास्ता गरेको देखिँदैन।
– बढी बाहिरको खानेकुरा खाने र सरसफाईमा ध्यान नदिने भएकाले पनि गर्मीमा धेरैलाई झाडापखालको समस्या देखिन्छ।
गर्मीमा देखिने यी संक्रामक रोगहरुले कुन उमेर समूहलाई बढी सताउँछ?
– झाडापखाला, टाइफाइड लगायत संक्रामण रोगहरुले बढी युवालाई सताएको पाएको छु।
– यी समस्याहरु घर बाहिर मात्र हुन्छ भन्ने हुँदैन। सरसफाईमा ध्यान नदिए घरभित्र पनि देखिन सक्छ।
– धाराबाट आएको र खरिद गरिएको पानी नउमाली सिधै खाँदा पनि समस्या आउन सक्छ।
संक्रामक रोगहरुबाट कसरी बच्न सकिन्छ?
– नेपालमा कोरोना महामारीको समयमा संक्रामक रोगहरु निकै कम भएका थिए।
– हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने व्यवहारका कारण संक्रामक रोगहरु लगभग देखिएको थिएन।
– जनस्वास्थ्यका यी मापदण्ड हामीले सधैँ अपनाउन सक्यौं भने विभिन्न संक्रामक रोगहरुबाट बच्न सकिन्छ।
नेपालमा वर्षेनी देखिने यी संक्रामक रोगहरु मानिसको जीवनशैली र स्वस्थकर व्यवहारसँग नै सम्बन्धित छ हैन?
– हो। संक्रामक रोग मानिसको जीवनशैली र स्वस्थकर व्यवहारसँग नै सम्बन्धित हो।
– हामीले व्यक्तिगत सरसफाई र जनस्वास्थ्यका मापदण्ड पालना गर्यौं भने संक्रामक रोगबाट मुक्त हुन सकिन्छ।
– यी रोगहरुलाई बेवास्ता गर्नुभन्दा सतर्क भएर सावधानी अपनाउन आवश्यक छ।
(भिडियो – मनिष पौडेल)