काठमाडौं– मायादेवी खड्काले अनमीबाट अवकाश पाइसकेकी छिन्। तर, कहिलेकाहीँ अझै तनहूँको दमौली अस्पताल जान्छिन्। बिरामीको सेवा गर्छिन्। उनीहरुसँग गफिन्छिन् र फर्किन्छिन्।
‘बिरामीसँग घुलमिल भइरहने बानी लागेछ, आजभोलि मलाई दिन काट्न साह्रै गाह्रो भएको छ,’ दमौली अस्पतालबाट गएको साउन ३ मा अवकाश पाएकी अनमी मायादेवीले सुनाइन्।
उनले उमेरदहदका कारण अवकाश पाएकी हुन्। उनलाई विभिन्न ठाउँबाट उपचारका लागि आएका बिरामीको अझै स्याहार गर्न, उनीहरुका दुःख–सुखका कहानी सुन्न र सहानुभूति दिन मन छ। अवकाशपछिको फुर्सदिलो दिनलाई सहज बनाउन अझै बेलाबेला अस्पताल जान्छिन्।
‘अस्पताल छाडेको तीन महिना हुन लाग्यो, तर मलाई उतै जान मन हुन्छ। बिरामीलाई आवश्यकता पर्दा अहिले पनि अस्पताल गएर हेर्छु, सहयोग गर्छु,’ उनले भनिन्, ‘मेरो जीवन अन्त्य नभएसम्म म बिरामीलाई सक्ने सहयोग र सेवा दिइरहन्छु।’
विद्यालय पढ्दा नै उनलाई नर्सिङ पेशामा आकर्षण थियो। उनले मायादेवी विन्धवासीनी स्कुलमा अध्ययनरत थिइन्। कक्षा ७ मा पढ्दा उनलाई दाँत दुख्ने समस्याले सतायो। बाबुले उपचारका लागि गण्डकी अस्पतालमा लगे। त्यहाँ नर्सले लगाएको सेता पोसाकका कारण आकर्षित भइन्। मायादेवीकी भाउजू पनि नर्स नै थिइन्। त्यसैले उनलाई आफ्नो सपना पूरा गर्न अवरोध थिएन।
उनले कक्षा ३ सम्मको पढाइ भने पोखराको लामाचौरस्थित रत्नराज्य कन्या स्कुलमा पढिन्। त्यसपछि पोखरा बाटुलेचौरको विन्धवासीनी उच्च माविमा पढिन्। सोही स्कुलबाट २०३७ सालमा एसएलसी दिइन्। उनले २०३८ सालमा भेरी अस्पताल, नेपालगञ्जमा एएनएमको अध्ययन सुरु गरेकी थिइन्।
२०४० सालमा एएनएम पास भएपछि तनहूँ जिल्लामा जिल्ला स्वास्थ्य कार्यलयमा अनमीको रुपमा करार सेवामा काम सुरु गरिन्। एक वर्ष करारमा काम गरेपछि २०४२ माघमा लोकसेवा परीक्षा दिएर स्थायी भइन्।
जिल्ला स्वास्थ्य कार्यालयबाट दमौलीमा रहेको बन्दीपुर अस्पतालमा उनको पहिलो पोष्टिङ भयो । त्यहाँ एक वर्ष काम गरेपछि गोरखामा सरुवा भयो। उनले गोरखामा साढे दुई वर्ष काम गरिन् र फेरी तनहूँको जिल्ला अस्पताल आइन्।
त्यहाँ २०५० सालमा अनमीको दरबन्दी खारेज भएपछि मायादेवीको पोष्टिङ तनहूँकै ज्यामरुङ हेल्थ पोष्टमा भयो। २०५४ सालमा दमौलीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएपछि उनी सोही केन्द्रमा काम गर्न थालिन्।
राजनीतिक माहोलले गर्दा उनको दमौली प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि लमजुङमा सरुवा गरियो। अरु नै सरुवा भएको ठाउँमा टिपेक्सले नाम मेटाएर आफ्नो नाम राखी सरुवा गरिदिएपछि उनी काजमै दमौली अस्पतालमा रहेर काम गर्न थालिन्।
पछि फेरी उनलाई अर्कै अस्पतालमा सरुवा गरियो। तर, दमौली छाडिनन्। अनमीको रुपमा एक वर्ष करार ३६ वर्ष स्थायी भएर स्वास्थ्य सेवा गरेकी मायादेवीले दमौली अस्पतालमा मात्र १८ वर्ष काम गरिन्।
नर्सिङ पेसामा धेरै प्रकारका बिरामीलाई स्याहार र सहयोग गर्दा फरक अनुभूति हुने उनी बताउँछिन्। बिरामीलाई स्याहार गर्ने तरिका पनि फरक हुँदै गएको उनको भनाइ छ। ‘पहिला बिरामीलाई दाँत माझ्न लगाइन्थ्यो, कपाल कोरिदिने, नङ काटिदिने, नुहाइदिने गर्नुपथ्र्यो,’ उनी भन्छिन्, ‘बिरामीसँग रिसाउन हँुदैन भनेर उनीहरुलाई जसरी सहज हुन्थ्यो त्यसैगरी सेवा दिने र सम्झाउने गथ्र्यौँ।’ यसरी बिरामीको सेवा गर्न मायादेवीलाई रमाइलो लाग्थ्यो। उनी आफ्नो पेसाबाट कहिल्यै दिक्क भइनन्।
बिरामीसँग समय बिताउँदाका अनेक अनुभूति उनीसँग छन्। पहिला–पहिला सुत्केरी गराउन अस्पताल जाने चलन थिएन। गाउँघरमै सुत्केरी गराइन्थ्यो। त्यतिबेला घरघरमा पुगेर उनी सुत्केरी गराउँथिन्।
दमौली बजार क्षेत्रमा रहेका धेरै महिलालाई घरमै सुत्केरी गराएकी मायादेवीलाई स्थानीयले पनि माया र सम्मान दिएका छन्। उनी आफूले स्वास्थ्य सेवामा सक्रिय रहँदा बिरामीको सेवावापत पैसाभन्दा धेरै इज्जत कमाएको बताउँछिन्।
‘मैले दिन, रात, भोक केही नभनी सुत्केरी गराउन घरघरमा पुग्थेँ,’ उनले भनिन्, ‘यहाँ म जन्मिएको होइन, तर मैले धेरै इष्टमित्र कमाएको छु, पैसा नकमाए पनि धेरै इज्जत कमाएको छु।’