काठमाडौं - ‘नेपालको स्वास्थ्य सेवा बिरामी केन्द्रित हुन सकेको छैन।’
विदेशी भूमिमा दुई दशकभन्दा बढी स्वास्थ्य क्षेत्रमा सक्रिय रहेका डा सुनिल कुमार साहको अनुभवले भनेको कुरा हो यो।
जनकपुरका डा साह विगत २५ वर्षदेखि इंग्ल्याण्डमा चिकित्सा क्षेत्रमा सक्रिय छन्। बंगलादेशबाट बिडीएस गरेका डा साहले इंग्ल्याण्डबाट एमबीबीएस र अंकलोजीमा एमडी अध्ययन गरेका हुन्।
उनी कन्सल्टेण्ट ओरल म्याक्सीलोफेसियल सर्जन हुन्। ओरल एण्ड म्याक्सीलोफेसियल सर्जनका लागि मेडिसिन र डेन्टीस्ट्री दुवैको ज्ञान आवश्यक भएकाले बिडीएस र एमबीबीएस अध्ययन गरेको उनले बताए। यी दुवै विषय अध्ययन गर्ने आफू संभवतः पहिलो व्यक्ति भएको उनको दाबी छ।
उनले सुरुवाती दिनमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट ६ महिना समेत काम गरे।
इंग्ल्याण्डमा काम गरिरहँदा उनले त्यहाँको स्वास्थ्य सेवा र प्रणालीबारे बुझ्ने अवसर पाए। उनको त्यो बुझाइबाट हेर्दा नेपालको स्वास्थ्य सेवा निकै पछाडी छ। नेपालको स्वास्थ्य सेवाहरु अझै पनि बिरामी केन्द्रित हुन नसकिरहको उनको बुझाइ छ।
जसमध्ये उनले मुख्य रुपमा अस्पतालको सेवासँग तुलना गर्छन्। नेपालको स्वास्थ्य सेवा चिकित्सक केन्द्रित छन् जबकी स्वास्थ्य सेवा भनेको बिरामी केन्द्रित हुनुपर्ने हो।
उनी भन्छन्, ‘नेपालमा चिकित्सक प्रमुख प्राथमिकतामा छन्। चिकित्सकलाई भगवान मानिन्छ। तर त्यहाँ (बेलायतमा) चिकित्सकलाई होइन। बिरामीलाई भगवान मानिन्छ।’
नेपालको स्वास्थ्य प्रणाली व्यवस्थित कम र अव्यवस्थित बढी भएको, दक्षताको आधारमा नभई राजनीतिक पहुँचका आधारमा नियुक्ति हुने गरेको उनी बताउँछन्। स्वास्थ्यमा हुने राजनीतिले बिरामीले पाउने स्वास्थ्य सेवा प्रभावकारी हुन नसक्ने उनले बताए।
इंग्ल्याण्डमा चिकित्सकहरुले खुला रुपमा राजनीति गर्न नपाउने उनले बताए। मेडिकल माफिया, अव्यवस्थित प्रणाली र राजनीतिमा बढी सक्रिय भएका कारण स्वास्थ्य सेवा राम्रोसँग व्यवस्थित हुन नसकेको उनको बुझाई छ।
डा साहका अनुसार नेपालको स्वास्थ्य सेवा प्रणाली व्यवस्थित बनाउन यी कुराहरु आवश्यक छः
एक, ‘सरकारी अस्पतालहरु व्यवस्थित तरिकाले र प्रणालीमा सञ्चालन हुनुपर्ने’
दुई, ‘स्वास्थ्य सेवाहरु बिरामी केन्द्रित बनाइनुपर्ने’
र तीन, ‘राजनीतिक नभइ दक्षताको आधारमा नियुक्ति हुनुपर्ने।’
उनी भन्छन्, ‘यहाँको सरकारी अस्पतालको उपकुलपति, निर्देशकदेखि लिएर सबैजसोको नियुक्ति राजनीतिक आधारमा घुस लिएर हुन्छ। जबसम्म दक्षताको आधारमा नियुक्ति हुँदैन, तबसम्म कुनै पनि व्यक्तिले बिरामी केन्द्रित भएर सेवा दिन सक्दैनन्।’
स्वास्थ्य सेवा खुला र पारदर्शी हुनुपर्नेमा उनको जोड छ। नेपालमा स्वास्थ्यको नाममा धेरै किसिमको भ्रष्टाचार र अनियमितता हुने गरेको उनको भनाई छ।
वर्षको ३५ लाख रुपैयाँ मैले आफूलाई सुरक्षित राख्न बीमा गर्छु
उपचारको क्रममा बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा विभिन्न तोडफोड अनि चिकित्सक माथि आक्रमण हुनु नेपालमा नौलो विषय होइन। बिरामीबाट आफूहरु असुरक्षित भएको भन्दै चिकित्सक सहित स्वास्थ्यकर्मीहरुले राज्यसँग सुरक्षाको प्रत्याभूति गर्न माग समेत गर्दै आएका छन्।
यस किसिमको अप्रिय घटनामा कमी ल्याउन कानूनी व्यवस्था हुनुपर्ने र चिकित्सकले बीमा गराउनुपर्ने उनी बताउँछन्।
डा साहले वर्षेनी ३५ लाख रुपैयाँको बीमा गराउँछन्। अर्थात् यदी उपचारको क्रममा उनीबाट कुनै अप्रिय घटना घटे बिरामीलाई उक्त बीमा अन्तर्गतको रकम क्षतिपूर्ति बापत उपलब्ध गराइन्छ।
‘यदी मैले कसैको अपरेशन गर्दा गल्तीले नशा काटिँदिए। र, बिरामी प्यारालाइसेस भयो। त्यसपछि उसको शिक्षादेखि पुरा जीवन प्रभावित हुन्छ। यसको क्षतिपूर्ति कसले दिन्छ?’ उनले भने, ‘त्यहाँ बिरामीले लाठी लिएर तोडफोड गर्दैनन्। बरु कानूनी प्रणाली हुन्छ। त्यो अन्तर्गत रहेर उनीहरुले क्षतिपूर्ति बापत रकम पाउँछन्।’
इंग्ल्याण्डमा काम गर्ने चिकित्सकहरुले आफ्नो आयस्रोतको आधारमा क्षतिपूर्ति बापतको रकम बीमामा जम्मा गर्ने गरेको उनले बताए।
नेपालमा पनि यस किसिमको कानूनी व्यवस्थाको विकास हुन सके स्वास्थ्य संस्थामा हुने तोडफोड र चिकित्सक माथि हुने आक्रमणका घटना कम गर्न सकिने उनले बताए।
उनले भने, ‘नेपालमा ठूला नाम कहलिएका ठूला डाक्टरहरुले लाखौँ, करौडौँ कमाउँछन्। तर आजसम्म कति बिरामीलाई उहाँहरुले क्षतिपूर्ति दिनु भएको छ?’
नेपालमा मेडिकल माफियाको प्रभाव बढ्दै गएको उनको बुझाई छ।
डा साहको सपना, क्रानियो फेसियल सेन्टर नेपाल
डा साहले पाँच वर्ष अघि मधेश प्रदेशको जनकपुरमा ‘क्रोनियो फेसियल सेन्टर नेपाल’ को स्थापना गरे। यसको एउटै उद्देश्य थियो, ‘घाँटीभन्दा माथिको अंगमा हुने विभिन्न रोग तथा अपाङ्गता भएका व्यक्तिको उपचार गर्ने।’
मधेश प्रदेश स्वास्थ्य र शिक्षाको सूचकांकमा पछि परेकाले पनि त्यहाँ यो सेन्टरको स्थापना गरिएको उनी बताउँछन्।
विशेषगरी ओठ तथा तालु फाटेका, आधा अनुहार नभएको, अनुहारमा हुने अपाङ्गता भएर जन्मिएका बालबालिकाको सेन्टरले निशुल्क उपचार गर्दै आएको छ। उपचारका साथै उनीहरुलाई अस्पतालसम्म ल्याउने र लैजाने जिम्मा पनि सेन्टरले लिने गर्छ। गत पाँच वर्ष यो सेन्टरले ओठ तथा तालु फाटेका ६० जना बालबालिकाको निशुल्क उपचार गरिसकेको छ।
ओरल क्यान्सर मधेश प्रदेशमा सबैभन्दा आम रुपमा रहेको डा साहले बताए। ओरल क्यान्सरको उपचार सेन्टरले सुरु नगरेपनि रोगको निदान, परामर्श र साना शल्यक्रियाहरु केही वर्षभित्र सुरु गर्ने उनको योजना छ। नेपालमा क्रानियो फेसियल सेन्टरको सेवा सबै ठाउँमा विस्तार गर्दै लैजाने योजना रहेको उनले बताए। यसको लागि केही वर्षमै उनी नेपाल फर्कने समेत तयारीमा छन्।
अनुहारको अपाङ्गता भएका बालबालिकाहरुलाई बेवास्ता नगर्नको उनको आग्रह छ। कतिपय अभिभावकले जन्मजात हुने अनुहार अपाङ्गताका कारण बालबालिकालाई सडकमै छाडि दिने गरेको उनले बताए।
‘अनुहारमा अपाङ्गता भएका बालबालिकाहरुलाई बेवास्ता नगरौँ। उनीहरुलाई सडकमा नफालौँ। उनीहरुको पनि उपचार हुन्छ। हामीले नै निशुल्क उपचार गर्दै आएका छौँ’ उनले भने।