पछिल्लो पाँचवर्षमा कोरोना महामारीदेखी लिएर डेंगुको प्रकोपसम्म आइपुग्दा नेपालको स्वास्थ्य प्रणाली कतिसम्म कमजोर रहेछ भनेर स्पष्ट भएको विज्ञहरू बताउँछन्। आमजनतालाई आधारभूत स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् भनेर सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रममाथि पनि सयौं प्रश्नहरू उठिरहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन डा राजेन्द्र कोजुले बताए। उनी स्वास्थ्य प्रणालीलाई बलियो बनाउन अब नेतृत्व तहमा आउनेले पूर्वाधार र जनशक्तिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउँछन्।
स्वास्थ्य मन्त्रालयमा लामो समय काम गरेर उमेरका आधारमा अनिवार्य अवकाश पाएका डा बाबुराम मरासिनी पनि कोरोनाबाट पाठ सिकेर धेरै कुरा गर्न सकिने बताउँछन्। ‘कोरोनाको समयमा देशले जे भोग्यो अब फेरि त्यही दिन नआउला भन्न सकिन्न त्यसैले सरुवा रोग नियन्त्रणको लागि एउटा छुट्टै एजेन्सी बनाउनु पर्छ। कोरोनाबाट पाठ सिकेर स्वास्थ्य प्रणाली सुधार गर्न सक्ने नेतृत्व आउनु पर्छ,’ मरासिनी भन्छन्।
डा कोजु पनि आजका दिनसम्म स्वास्थ्य क्षेत्रमा आएका उतारचढावलाई मूल्यांकन गरेर स्वास्थ्य प्रणालीलाई अझै बलियो बनाउन सबैको भूमिका भएको बताउँछन्।
प्रतिनिधि सभा चुनावको मुखैमा उम्मेदवारहरुले निकाल्ने घोषणापत्रमा पनि स्वास्थ्य प्रणाली सुधार्ने कुराहरु समावेश हुनुपर्ने चिकित्सकहरू बताउँछन्। स्वास्थ्यखबरले पछिल्लो केही समययता स्वास्थ्य प्रणाली कसरी बलियो बनाउने? नेपालको स्वास्थ्य प्रणाली कस्तो हुने भन्ने विषयमा श्रृंखलाबद्ध रुपमा सामग्रीहरु प्रकाशित गर्दै आइरहेको छ। यही श्रृंखला अन्तर्गत यसपटक अबको स्वास्थ्य प्रणाली कस्तो हुनुपर्ने? के कुरामा ध्यान दिन आवश्यक लगायतका विषयमा डा मरासिनी र डा कोजुसँग स्वास्थ्यखबरकी अन्शु खनालले कुराकानी गरेकी छिन्। उनीहरुले व्यक्त गरेको धारणा उनीहरुकै शब्दमा:
सरुवा रोगहरुको लागि छुट्टै एजेन्सी बनाउनु पर्छ: डा. बाबुराम मरासिनी
स्वास्थ्यमा मार्गचित्र स्पष्ट छ। आधारभूत स्वास्थ्य सेवा नि:शुल्क र त्यसभन्दा माथिका लागि स्वास्थ्य बिमा छ। बिमाको पनि नाम मात्रै भएको छ, पैसा थोरै छ। यो दुईटा पक्षको पहुँच र गुणस्तरीय सेवामा ध्यान दिनुपर्छ। कतै कतै स्वास्थ्य सेवा नै उपलब्ध छैन त्यस्ता ठाउँहरुमा सेवा बढाउनु पर्छ र गुणस्तरमा पनि ध्यान दिनुपर्छ। नेपालभरी नै आधाभूत स्वास्थ्य सेवा र स्वाथ्य बिमाको सुविधा पुग्नु पर्छ।
अन्य देशहरुमा हेर्ने हो भने सरुवा रोगहरुको लागि छुट्टै एजेन्सीहरू खडा गरेको छ। हाम्रो देशमा चाहिँ त्यो काम गर्न ढिला भइसकेको अवस्था छ। स्वास्थ्य मन्त्रालय मार्फत त्यो एजेन्सी खडा भइसक्नु पर्थ्यो। तर भएकै छैन।
हामी अहिले नेपालमा जियोपोलिटिकल कन्डिसनले एकदमै नराम्रो अवस्थामा छौँ। हाम्रो भूगोल निकै अफ्ट्यारो छ। यदी नेपालमा कुनै नयाँ रोग निस्कियो भने भारत र चीन दुवै देशले नाकाबन्दी गर्दिन्छन्। त्यसकारण हामीले सरुवा रोगको नियन्त्रणको मामलमा गम्भीर हुनुपर्थ्यो। तर सरकार गम्भीर छैन। पछिल्लो पाँच वर्षको स्थिति हेर्दा कतै बाट पनि गम्भीरता देखिएको छैन। त्यसकारण अब नेतृत्व तहमा आउनेहरुमा सरुवा रोगहरुको लागि छुट्टै एजेन्सी बनाएर रोग नियन्त्रणको कामहरू सुरु गर्छौं भन्ने खाले प्रतिवद्धता चाहिन्छ।
अर्को पाटो भने एजेन्सी खोलेर मात्रै हुन्न त्यसको लागि राम्रो प्रयोगशालाको खाँचो छ। हामीसंग बायोसेफ्टी लेभल (बिएसएल) २ मात्रै छ। अब तत्कालै त्यो लेभललाई ३ बनाएर पाँच वर्ष भित्र बीएसएल ४ मा जाने खालको कमसेकम एउटा प्रयोगशाला बनाउनु पर्छ।
अहिले देशमा सर्पदंशले सयौं मान्छेको मृत्यु हुन्छ। भारतबाट त्यो विरुद्धको औषधि ल्याउन पनि निकै गाह्रो छ। त्यहाँको सर्वोच्च अदालतले भारतलाई चाहिने जति मात्रै उत्पत्दन गर्न भनेको छ। भारत सरकारले हामीलाई माया गरेर मन्त्रिपरिषदले विषेश निर्णय गरेर केही समयसम्म त्यो औषधि दिइरहेको छ। तर कतिन्जेल दिन्छ थाहा छैन। त्यसकारण यस्ता संवेदनशील कुराहरुमा पनि ध्यान दिनुपर्यो।
साथै, देशमा जलवायु परिवर्तनको व्यापाक असर देखिन थालेको छ। उदाहरणको लागि डेंगु यसरी फैलियो, त्यसमा पनि जलवायु परिवर्तनको अंश छ। त्यसैले अब आउने नेतृत्वले जलवायु परिवर्तनबाट हुने स्वास्थ्य असर कम गर्न पनि हामी काम गर्छौं भन्ने खालको प्रतिवद्धता हुनुपर्छ।
स्वास्थ्य बिमाको दायारा बढाउनुपर्छ: डा राजेन्द्र कोजु
स्वास्थ्य क्षेत्र भन्ने बित्तिकै मुख्य दुई वटा पार्ट हुन्छ, उपचारात्मक र रोकथाम। उपचारात्मक कुरामा स्वास्थ्य सेवाका क्षेत्रहरूलाई भरपर्दो बनाउनु पर्ने हुन्छ। पूर्वाधारको विकास गर्नुपर्छ। दक्ष जनशक्ति सबै ठाउँमा पुर्याउनु पर्छ। दक्ष जनशक्तिलाई काम गर्नको लागि उत्प्रेरणा दिने खालको आवश्यक स्रोतसाधन देखी लिएर तालिम र तलब सम्मका कुरामा जोड दिनुपर्छ। यी कुराहरु केन्द्रिय अस्पतालदेखी गाउँका प्राथमिक स्वास्थ्य चौकीसम्म राम्रो बनाउनु पर्छ। उपचारात्मक सेवालाई राम्रो बनाउनको लागि सरकारी क्षेत्रलाई नै बलियो बनाउनु पर्छ। सबै मानिसको पहुँच हुने खालको सेवा विस्तार हुँदा आर्थिक अभावको कारण स्वास्थ्य सेवाबाट कोही वन्चित हुनु पर्दैन।
अर्को मुख्य कुरा स्वास्थ्य बिमालाई अझै बलियो बनाउनु पर्छ। स्वास्थ्य बिमा अझै सबै मानिसहरुको पहुँचमा पुगेको छैन। अहिले स्वास्थ्य बिमा शहर केन्द्रित मात्रै भएको जस्तो देखिएको छ। यसलाई अझै गाउँमा पुर्याएर यसको दयारा पनि बढाउनु पर्छ। अहिले १ लाख बराबरको मात्रै सेवा दिई राखेकोमा त्यसलाई अलिक बढाउनु पर्छ। स्वास्थ्य बिमा राम्रो भइसकेपछि दुरुस्त रुपमा चलाउनु पर्छ। पछिल्लो समय स्वास्थ्य प्रदायक स्वास्थ्य संस्थाले पैसा नपाएको, बिरामीले सेवा नपाएको समाचार आउंछ त्यो कुरालाई अझै चुस्त र दुरुस्त बनाउन जरुरी छ।
अहिले देशमा जतिपनि प्राइभेट अस्पताल र सरकारी अस्पताल छन्,त्यी दुवै खाले अस्पतालमा उपचार खर्च न्यून हुनुपर्छ र गुणस्तर उस्तै हुनुपर्छ। प्राइभेट अस्पताल र सरकारी अस्पतालबिचको भिन्नता न्यून हुनुपर्छ। त्यसो गरेमा सबै मानिसहरुलाई समान रुपमा स्वास्थ्य सेवा पाउछौं भन्ने ढुक्क हुन्छ।
खासमा नेपालको स्वास्थ्य प्रणाली त्यति नराम्रो छैन तर त्यसलाई कार्यन्वयन भने गर्नुपर्ने छ। प्रणाली किन पनि ठिक छ भने अहिले स्थानीय सरकारको स्वास्थ्य सेवा छ, प्रदेश सरकारको छ र संघीय सरकारको पनि छ। तर सबैले आफ्नो आफ्नो सेवा राम्रोसँग दिन जरुरी छ। स्थानीयले आफूले दिनुपर्ने सेवा दिने, प्रदेशले पनि दिने र संघीयले पनि दिने भए यसलाई सबैतिर राम्रो सँग पुर्याउन सकिन्छ।
उचारात्मक सेवाको लागि सबैतिर चिकित्सक, स्वास्थ्यकर्मी पुर्याउने मात्रै होईन त्यसलाई टिकाउने पनि व्यवस्थामा पनि जोड दिनुपर्ने छ। साथै अर्को पक्ष भनेको रोकथामको पक्ष हो। त्यसमा हामीले विशेष जोड दिनुपर्छ। सर्ने जस्तै नसर्ने रोगहरू पनि बढीरहेको हुनाले जनचेतना र रोकथामको कुराहरुलाई चुनावको घोषणापत्र या अब नेतृत्वमा आउने व्यक्तित्वहरुले जोड दिनुपर्छ।
उपचारात्मक सेवामा मात्रै होइन रोकथामको पाटोमा पनि काम गर्न सकियो भने स्वास्थ्य प्रणालीमा सुधार ल्याउन सकिन्छ।
यो पनि
स्वास्थ्य प्रणालीमै प्रश्न, अबको प्राथमिकता के?
स्वास्थ्य प्रणाली परिवर्तनका पक्षमा
अबको जोड दरबन्दी थप्नेमा हुनुपर्छ : डा रोशन पोखरेल
दु:खका साथ भन्नुपर्छ, हामीले न्यूनतम सेवा मापदण्ड लागू गर्न सकेका छैनौं : डा कृष्ण पौडेल
कोभिडले प्रणाली बलियो हुनुपर्छ भन्ने सिकायो : डा मदन उपाध्याय
समृद्धि र सुखको आधार: स्वास्थ्यमा यथोचित लगानी : डा गुणनिधि शर्मा
ओझेल परेको स्वास्थ्य जनशक्तिको मुद्दा : डा अनिल कार्की
स्वास्थ्य बिमा : टिक्छ पाँच ‘टी’ मा