भारतीय सञ्चारमाध्यमका अनुसार तापसी पन्नु बलिउडकी सबैभन्दा बहुमुखी कलाकारहरू मध्ये एक हुन्। अभिनयसंगै उनी आफ्नो फिटनेसको लागि पनि उत्तिकै चर्चित छिन्।
उनी आफ्नो दिनको सुरुवात प्राणायम र सुर्य नमस्कार गरेर गर्छिन्। उनको दिन विभिन्न प्रकारका व्यायामहरूका साथै स्वस्थ खानेकुरा खाएर बित्छ।
बिदाको समयमा पनि उनी दौडिने, कसरत गर्ने या पौडी खेल्ने गरीरहन्छिन्। सुटिङ नभएसम्म सातदेखि नौ घण्टा सुत्ने प्रयास गर्छिन्।
उनी जहाँ भएपनि मुनमुन गनेरीवालले सिकाएको गहिरो सास फेर्ने अभ्यास गर्छिन्।
पन्नु दिनहुँ जिम जान्छिन्। उनी हप्तामा छ दिन एक घण्टा वर्कआउट गर्छिन्। हरेक दिन उनी शरीरको एक निश्चित अंगमा ध्यान केन्द्रित गर्छिन्। उनले लकडाउनको समयमा सबै जिम बन्द भएको बेला समेत खुल्ला चौरमा वर्कआउट गरेकी थिइन्।
तापसी सामान्यतया घरमा पकाएको खाना खान रुचाउँछिन्।
उनी बिहानको ब्रेकफास्टमा मौसमी तरकारीले भरिएको अण्डा वा रोटी खान्छिन्। दिउँसो र बेलुकाको खानामा, उनी तरकारी र दालसँग भात वा रोटी खान मन पराउछिन्। उनी दिउँसो बटरमिल्क, फलफुल र नट पनि खान्छिन्।
उनी कार्ब्स र प्रोटिनको राम्रो मिश्रण भएको खिचडी समेत खाने गर्छिन्। उनी धेरै चर्चित भएका खानेकुरा भन्दा पोषणयुक्त र स्वस्थ खानेकुरामा जोड दिन्छिन्।
उनी आफू पनि धेरै पानी पिउने गर्छिन् र सबैलाई पर्याप्त मात्रामा पानी पिउन सल्लाह दिन्छिन्।