काठमाडौं- मान्छे खुसी हुन चाह्यो भने जस्तोसुकै अवस्थामा पनि खुसी हुनसक्छ भन्ने कुराको उदाहरण हुन् केशव अधिकारी। गत एक वर्षयता क्यान्सरको उपचार गराइरहेका उनी भर्खरै लाङटाङको पदयात्रा सकाएर फर्किए। छ दिनको पदयात्रामा उनी लाङटाङको पाँच हजार भन्दा माथिको अल्टिच्युडमा पुगेर आए।
२०१७ बाट उनको देब्रे हातमा ट्युमर थियो। गएको वर्ष असार साउनबाट उनले ट्रमा सेन्टरमा ट्युमरको उपचार गराईरहेका थिए। उक्त ट्युमरको बायोस्पी गराउँदा उनलाई हड्डीको क्यान्सर भएको पत्ता लाग्यो। उनको क्यान्सर हातमा मात्रै नभएर फोक्सो, मिर्गौला र कलेजोमा समेत फैलिसकेको थियो। उनको टाउकोमा पनि एउटा सानो ट्युमर थियो। त्यसलाई पनि बायोस्पी गराउँदा क्यान्सर भईसकेको देखियो।
कपिलवस्तु घर भएका उनी काठमाडौँ बसेर पढीरहेका थिए। क्यान्सर भएको भन्ने थाहा पाएपछि उनलाई डर लाग्यो। आत्तिए पनि। घरमा पनि कसैलाई भनेनन्। उनको तत्कालै उपचार सुरु भएन। डाक्टरले अप्रेसनको डेट दिपछि दश दिनको अन्तरालमा उनको दुईवटा अप्रेसन भयो। ‘सुरु अप्रेसनमा हातको ट्युमर फालियो, त्यसपछि त्यो ठाउँमा छाला थिएन। अर्को अप्रेसनमा उक्त ठाउँमा ढाडको मासु निकालेर स्किन ट्रान्सप्लान्ट भयो,’ उनी सम्झीन्छन्।
अप्रेसनपछि लगभग एक महिना आईसियुमा बसेका उनलाई त्यसपछिको दुखाई अझै याद छ। नौ पटक किमोथेरापी गरेपछि अहिले उनी डाक्टरहरूको सल्लाहमा औषधि खाईरहेका छन्। जतिसुकै पिडा भएपनि, जस्तोसुकै ठुलो रोग लागेपनि मनोबल उच्च राख्नुपर्छ जस्तो लाग्छ केशबलाई। ‘जति बचिन्छ, बाचुन्जेल सकरात्मक भएर बाच्नुपर्छ। बिरामी नै आफू दुखी हुने, निराश हुने भयो भने परिवार र सुभचिन्तकहरूलाई पनि दु:ख हुन्छ। बाचुन्जेल खुसि भएर बाच्नु पर्छ,’ उनी भन्छन्।
केशव आफूलाई सधैँ सकारात्मक राख्नको लागि युट्युबमा मोटिभेसन दिने कुराहरू सुन्छन्, मेडिटेसन गर्छन्, किताब पढ्छन् र घुम्छन्। त्यो बाहेक उनी अभिनय गर्न र संगीतमा पनि निकै चासो राख्छन्। उनले काठमाडौँको मण्डला थियटरबाट छ महिनाको अभिनयको कोर्स समेत गरेका छन्। त्यसलगत्तै केही नाटकहरुमा कोरस गायन र ब्याकस्टेजको कामहरू समेत गरेका छन्। उनलाई बासुरी बजाउन पनि मनपर्छ।
‘अप्रेसन गर्दा एउटा हात जान्छ की भन्ने डर थियो। बासुरी बजाउन पाउँदिन की जस्तो लागेको थियो। मेरो हात बच्यो, पहिलेजसरी नसके पनि अहिले कहिलेकाही बासुरी बजाउँछु,’ उनले भने। पछिल्लो समय लाङटाङ पुग्दा आफ्नो सबै दु:ख पिडा भुलेको उनी बताउछन्। उनी भन्छन्,‘ प्रकतिसँग नजिक हुन पाउँदा मैले आफ्नो सबै पिडा भुल्छु, मलाई हिड्न निकै मनपर्छ।’ केही दिनपछि उनी विपश्यना जान लागेको पनि उनले बताए।
फाईनाइन्समा मास्टर डिग्री सकिसकेका उनी हाल नुवाकोटको लिखु गाउँपालिकामा सुब्बाको पदमा कार्यरत छन्। उनी क्यान्सर भएर उपचार गरिरहेका र भर्खरै क्यान्सर पहिचान भएका सबैलाई मानसिक रुपमा बलियो हुन सकरात्मक सोच्न र मनोबल उच्च राख्न सल्लाह दिन्छन्।
उनी आफ्नो उपचारको क्रममा डाक्टर र नर्सहरुको धेरै माया पाएको बताउछँन्। ‘म आज जे छु, त्यो सबै डाक्टरहरू, नर्सहरू, मलाई सहयोग गर्ने आफन्त, साथीभाई र शुभचिन्तकहरुको कारणले छु। मलाई मेरो उपचारको दौरान साथ दिने, सकरात्मक रहन प्रेरित गर्ने सबैलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भने।