काठमाडौं- बालाजु बस्ने एक महिला आफ्नो ७ वर्षको छोराले धेरै चकचक गरेर हैरान भएकी थिईन्। भनेको केही नमान्ने, जिद्दी स्वभाव, चकचक नगरी एकछिन पनि बस्न नसक्ने, स्कुल पठाएका सामान फिर्ता नल्याउने,पढ्न नमान्ने, आदि गरेर उनी निकै तनावमा थिईन्। एकदिन उनको घरमा पाहुना आएका कसैले उनलाई मानसिक समस्या हुनसक्ने भन्दै अस्पताल लैजान सुझाए।
तर मानसिक समस्या भन्ने सुन्ने बित्तिक्कै उनलाई पिर पर्यो। अस्पताल लग्यो भने झन् के भन्ने हुने हो भन्ने डरले उनले केही समय अस्पताल लग्नै चाहिँनन्। छोराको चकचकेपन भने बढीरहेको थियो। स्कुलमा पनि उसको यस्तै व्यवाहारहरुले साह्रै गाह्रो भयो,अस्पतालमा लानुपर्छ कि भनेर शिक्षक-शिक्षिकाले पनि सुझाव दिए।
एकदिन जे पर्ला पर्ला भनेर उनी छोरालाई लिएर अस्पताल पुगिन्। अस्पतालमा पुगेर उनले सबै समस्या सुनाउँदा
डाक्टरले उनको छोरालाई एडिएचडी भएको भने। प्लस टु पास गरेकी उनले डाक्टरसँग चासो देखाएर एडिएचडीको
बारेमा सोधिन् र घरमा आएर इन्टरनेटमा पनि थप कुराहरू हेरिन्। केही समयको बिहेबिएरल थेरापीपछि छोराको
व्यवहारमा धेरै परिवर्तन आयो। उनी जस्तै थुप्रै अभिभावक एडिएचडी भएका बच्चाहरू लिएर अस्पताल आईपुग्ने
कान्ति बाल अस्पतालको बालवालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य विभागमा कार्यरत क्लिनिकल साइकोलोजीस्ट डा नर्मदा देवकोटा बताउँछिन्।
कान्ति अस्पतालको मानसिक विभागको ओपिडीमा आउने बच्चाहरू मध्ये करिब ५ देखी १० प्रतिशत एडिएचडी भएर आउने उनले बताइन्। एडिएचडी ठ्याक्कै यही कारणले हुन्छ भनेर त पत्ता लागेको छैन तर जेनेटिक वा दिमागको विकासक्रममा हुने समस्याको कारणले हुन सक्ने अनुशन्धानहरुले देखाएका छन्।
के हो त एडिएचडी?
डा देवकोटाका अनुसार एडिएचडी अर्थात् एटेन्सन डिफिसेट हाइपर एक्टिभिटी डिसअर्डर भनेको न्युरोडेभ्लमेन्टल
समस्या हो। यो दिमागको विकासमा समस्या हुँदा बानी व्यवहारमा देखिने समस्या हो। यसलाई न्युरो बिहेबिएरल
डीसअर्डर समेत भन्ने गरिन्छ। यसमा प्रमुख तिनवटा लक्षणहरू हाइपरएक्टिभिटी(चकचकपना), इम्पलसिभीटि(नसोचिकन गरिने व्यवहार) र इनएटेन्सन(ध्यान दिन नसक्ने) देखिने उनी बताउँछिन्।
‘चकचकपना/ नसोचिकन गरिने व्यवहार मा बच्चाहरू एक ठाउँमा मात्रै बस्न नसक्ने,छट्पट हुने,बसेको
ठाउँबाट उठेर हिँडीरहने, शरीर बटार्ने, हातले या खुट्टाले केही सामानहरू छोइरहने, उफ्रीराख्ने गर्छन्। चकचक गर्दा
लड्छु, चोट लाग्छ भनेर बच्चाले सोच्नै सक्दैन। आफूले गरीरहेको कामको परिणाम के हुन्छ, पछि के असर पर्छ भनेर उनीहरु सोच्नै सक्दैनन्।’
उनी भन्छिन् ‘उनीहरुको दिमागको परिणाम के हुन्छ भनेर सोच्ने भागको विकासमा नै समस्या हुने अनुशन्धानहरुले देखाएका छन्। उनीहरू धेरै चकचक गर्ने भएकाले चोटपटक पनि धेरै लाग्छ। उनीहरू जे कुरा देख्यो सोच्दै नसोची बोल्ने, ठुलोस्वरले बोल्ने , पालो कुर्न नसक्ने , कुनै पनि कुरामा ध्यान दिन नसक्ने, सोच्दै नसोची निर्णय लिने, आवेशमा आउने आदि हुन्छन्।’
घरमा मात्रै नभएर यस्ता बच्चाहरू जुनसुकै ठाउँमा पनि चकचक गर्छन्। स्कुलमा बेन्च मुनिमुनि हिड्ने, साथीको
कपी च्यातिदिने, नजिक बसेको साथीलाई छोईरहने, तानीरहने, रिसाउने, आफूलाई कुनै पनि अवस्थामा रोक्न नसक्ने जस्ता व्यवहार देखाउने हुनाले यस्ता बच्चाहरूले धेरै सजायसमेत पाउने र उनीहरुले पनि यस्तै व्यवहार सिकेर अरुलाई दोहर्याउने, लामो समयसम्म उनीहरुको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने देवकोटा बताउँछिन्। ‘त्यस्तै यस्ता बच्चाहरू लामो समय केही कुरामा पनि ध्यान दिन सक्दैनन,ध्यान दिन नसक्ने
हुँदा पढाईमा असर पुग्ने हुन्छ। यस्ता बच्चाहरुले निकै गल्तिहरु गर्छन्। स्पेलीङहरू बिगार्ने, जोडघटाउमा
समस्या हुने, परीक्षामा पुरा निर्देशन नपढी उत्तर दिने, आफैले राखेको सामानहरू बिर्सिने, हराउने कामहरू/गृहकार्य आधा अधुरा छाड्ने, सामानहरू मिलाएर राख्न नसक्ने जस्ता व्यवहारहरू गर्छन्,’ उनले भनिन्।
एडिएचडी दिमागको विकाससँग सम्बन्धित भएकाले बच्चा जन्मिदै वा दिमाग विकासको क्रममा आउने समस्या हो। तर सामान्यतया १२ वर्षको उमेर भन्दा अगाडी देखीसकेको हुन्छ र बच्चा पाँच वर्ष भएपछि रोगको पहिचान गरिन्छ। धेरै नै दैनिक जीवनमा असर गरेको छ भने यो भन्दा पहिले पनि पहिचान र उपचार गरिन्छ।
उपचार
यदि बच्चा एडिएचडी भएर अस्पतालमा आइपुग्छ भने उसलाई बिहेबिएरल थेरापी सुरु गरिन्छ। तर यदी बच्चाको
व्यवहारले उसको दैनिक जीवनमा धेरै असर गरेको छ भने औषधि चलाउनुपर्ने देवकोटा बताउँछिन्। बिहेबिएरल थेरापीमा सुरुमा घरमा बच्चालाई अन्य व्यवहारिक समस्या नहोस् भनेर अभिभावकलाई प्यारेन्ट म्यानेजमेन्ट थेरापी दिने गरिन्छ। बच्चाको व्यवहारलाई परिवर्तन गर्न उसको राम्रो व्यवहार र समस्यामुलक व्यवहारलाई चार्ट बनाइन्छ। राम्रो व्यवहारलाई पुरस्कार दिने गरिन्छ भने नराम्रो एउटा मात्रै व्यवहारलाई फोकस गरेर त्यसलाई कसरी सुधार्ने भनेर काम गरिन्छ।
साथै बालबालिका हरुलाई ध्यान बढाउने, दैनिक कार्यतालिका बनाएर काम गर्न सिकाउने र अरु आवश्यकता अनुसार तालिमहरु दिईन्छा एडिएचडी भएका बच्चाहरुको व्यवहार परिवर्तनमा अभिभावकको धेरै ठुलो भूमिका हुन्छ। आफ्नो बच्चालाई समय दिने, बच्चासँग खेल्ने, उनीहरुको राम्रो कुरामा बढी चासो राख्ने, अभिभावकहरू आफू धैर्य हुने, आफ्नो रिस नियन्त्रण गर्ने र आफ्नो स्वहेरचाहमा ध्यान दिने कोशिष गर्नुपर्छ। त्यस्तै
बच्चाको नियमित रुटिन बनाईदिने,उसले दैनिक गर्नुपर्ने कामलाई साना साना भागमा छुट्याएर पुरा गरेको काममा पुरस्कारहरु दिने,सानातिना गल्तीहरुलाई वास्त नगर्ने , जस्ता कामहरू गर्नुपर्ने उनले बताईन्।
बच्चामा एडिएचडी भएका ६०-८० प्रतिशत व्यक्तिहरूलाई वयस्क अवस्था सम्म पनि समस्या रहिरहने डा देवकोटा बताउछिन्। यसले समस्या भएका मानिसहरुको दैनिक जीवनमा असर परिराखेको हुन्छ तर उपचार लिनुपर्छभनेर कम मानिसहरुलाई मात्र थाहा भएको पाईन्छ।