काठमाडौं - मलद्वार सम्बन्धी समस्या अहिले धेरैमा आम रुपमा देखिन थालेको छ। अस्वथकर जीवनशैली र खानपिनले मलद्वार सम्बन्धी समस्या बढाउँदै लगेको चिकित्सकहरु बताउँछन्।
दिसा गर्न दुख्ने, कब्जियत हुने, दिसा राम्रोसँग नआउने, दुख्ने, पोल्ने, रगत आउने, मासु बाहिर निस्कने समस्या प्रायमा हुने गरेको छ।
मलद्वार सम्बन्धी समस्या के हो? कसरी रोकथाम गर्ने लगायत विषयमा हामीले जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा प्रभाकर शाहसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
के हो मलद्वार सम्बन्धी समस्या ?
– अहिले धेरै व्यक्तिहरुमा मलद्वार सम्बन्धी समस्या बढ्दो छ।
– मलद्वार सम्बन्धी रोगहरुलाई बिरामीले सामान्य रुपमा लिन्छन्।
– मलद्वार सम्बन्धी सबै समस्यालाई बिरामीहरुले पायल्स हो भनेर मात्र बुझ्छन्।
– तर मलद्वार सम्बन्धी सबै रोग पायल्स हुँदैनन्।
मलद्वार सम्बन्धी समस्या भएको कसरी थाहा पाउने ?
– शौच गर्न अप्ठ्यारो भएपछि मात्र बिरामीहरु अस्पताल आउँछन्।
– दिसा गर्दा दुख्ने, कब्जियत हुने, दिसा राम्रोसँग नआउने, पोल्ने, रगत आउने, मासु बाहिर निस्कने हुन्छ।
– यी लक्षणका आधारमा विशेषज्ञसँग परीक्षण गराएपछि के समस्या हो भनेर थाहा पाउन सकिन्छ।
मलद्वार सम्बन्धी समस्या किन बढ्दो छ ?
– बदलिँदो जीवनशैली र खानपिनका कारण मलद्वार सम्बन्धी समस्या बढ्दो छ।
– मानिसहरु अहिले प्राकृतिकभन्दा तयारी जंकफूड, मैदाजन्य खानेकुरा बढी खान्छन्।
– खानपिन राम्रो नभएपछि कब्जियत हुन्छ। र, यसले मलद्वार सम्बन्धी समस्या निम्त्याउँछ।
– व्यायामको कमी र शारीरिक निस्क्रियताले पनि मलद्वार सम्बन्धी समस्या बढाउँछ।
कुन उमेर र कस्तो व्यक्तिमा मलद्वार सम्बन्धी समस्या बढी देखिएको छ ?
– पहिले वद्धवद्धालाई पायल्स भयो भनेर आउँथे। अहिले युवाहरुका साथै बच्चाहरुमा यो समस्या देखिएको छ।
– ५/६ वर्षको बच्चाहरुमा कब्जियत, दिसाबाट रगत आउने, गोटा पर्ने भनेर आउँछन्।
– खानपिन र निस्क्रिय जीवनशैलीले सबै उमेरमा असर गरिरहेको छ।
यो समस्या हुनेहरुले के गर्नुपर्नेमा के गरिरहेका छन् ?
– प्रायजसो बिरामीहरुमा यो रोग निको हुँदैन। बल्झिरहन्छ भन्ने बुझेका छन्।
– बिरामीहरु आफैँ घरेलु उपचार गर्ने अथवा समस्या दबाएर बस्छन्।
– कतिपय बिरामीहरु लाजले पनि उपचारमा आउँदैनन्।
– केहीले आफूखुशी औषधि पसलमा गएर किनेर खान्छन्।
– विशेषज्ञ बाहेक अन्य व्यक्तिहरुसँग उपचार गर्ने र औषधि खाने गरिरहेका छन्।
– मलद्वार सम्बन्धी समस्या भएका व्यक्तिहरुले आफूखुशी खाने औषधिले समस्या झन् बढेको छ।
बिरामीहरु यी सब विषयमा कसरी सचेत रहने ?
– अनावश्यक प्रचार प्रसारमा विश्वास गर्नु हुँदैन।
– भ्रम फैलाउने व्यक्ति र विज्ञापन प्रति स्थानीय सरकारको पनि ध्यान जानुपर्छ।
– बिरामी आफैँले मलाई उपचार गर्ने विशेषज्ञ हो÷होइन, औषधि के खाँदैछु भन्ने विषयमा पनि ध्यान दिनुपर्छ।
– अनावश्यक उपचार प्रविधिमा जाँदा रोग झन् बिग्रने र पैसा पनि खर्च हुन्छ।
मलद्वार सम्बन्धी रोगको सही उपचार गरिएन भने के हुन्छ ?
– मलद्वार सम्बन्धी रोग ठूलो नभएपनि दुख दिने झन्झटिलो खालका हुन्छन्।
– मलद्वारमा दुखाई भइरहेको छ भने व्यक्तिले आफ्नो काममा ध्यान दिन सक्दैन।
– विशेषज्ञसँग उपचार गराइएन भने समस्याको सही पहिचान हुन सक्दैन।
– अनावश्यक औषधि खानु पर्दैन। र, रोग बिग्रने डर हुँदैन।
नेपालमा मलद्वार सम्बन्धी रोगको उपचारको अवस्था के छ ?
– अहिले धेरै नयाँ प्रविधिहरु आइसकेका छन्।
– विभिन्न उपचार पद्दतिबाट उपचार गरे रोकथाम गर्न सकिन्छ।
मलद्वार सम्बन्धी समस्या एक पटक उपचार गरेपछि निको हुन्छ ?
– यस सम्बन्धी रोग अनुसार फरक पर्छ ।
– मलद्वार सम्बन्धी सबै समस्या पायल्स नभएकाले उपचारपछि निको हुन्छन्।
– सही उपचारपछि धेरै बिरामीहरुको समस्या निको हुन्छ।
मलद्वार सम्बन्धी समस्या हुन नदिन के कुरामा ध्यान दिनुपर्छ ?
– सबैभन्दा पहिले खानपिनमा सुधार गर्नुपर्छ।
– मैदाजन्य खानेकुरा नखाने, जंक फूड कम खानुपर्छ।
– हरियो सागपात, फलफूलको मात्रा बढाउनुपर्छ।
– धेरैजसो महिलाहरुमा बच्चा जन्माएपछि कब्जियतको समस्या देखिन्छ।
– बच्चा जन्मिएपछि महिलाहरुमा हुने कब्जियतलाई हेलचक्र्याई गर्नु हुँदैन।
भिडियो – निमेष जंग राई