काठमाडौं- ‘अब के पढ्ने ?’
एमबीबीएस पढ्दै गर्दा र सकिएपछि बारम्बार यो प्रश्न उठ्थ्यो। कसैले गाइनोकोलोजिस्ट, कसैले छाला रोग त कसैले सर्जन पढ्छुभन्थे।तर डा शिलु श्रेष्ठको स्पष्ट जवाफहुन्थ्यो, ‘अर्थोपेडिक सर्जन।’
यो जवाफ सुन्ने बित्तिकै उनलाई धेरैले भन्थे, ‘महिलाको विषय हैन, यो गाह्रो हुन्छ। तिमी महिला हो,गाइनोकोलोजिस्ट पढ।’
यसले पनि उनलाई झन् अर्थोपेडिक विषय पढ्नमा रुचि जगायो। किन महिलाले अर्थोपेडिक विषय नलिने? महिलाले पनि अर्थोपेडिक पढेर उपचार गर्न सक्छन् भनेर उनलाई प्रमाणित गर्नु थियो।
कुनै बेला यस किसिमको टिप्पणीले निराश नबनाएको होइन। तर आफ्नो लक्ष्यप्रति स्पष्ट र अडिग थिइन् डा शिलु। अर्थोपेडिक सर्जन महिलाले पढ्न सक्दैनन् भन्ने धेरैको बुझाइ रहेको उनको अनुभव छ।
एमबीबीएसको अध्ययनका क्रममा उनको ड्युटी बनेपास्थित अपांग बाल अस्पतालमा परेको थियो। त्यहाँ बालबालिकाहरु विभिन्न समस्या लिएर आउँथे। कसैको हातखुट्टा बांगोटिंगो हुने, कसैको जन्मजात समस्या हुन्थ्यो। अपांगताको समस्या लिएर आएका बालबालिकाहरु उपचारपछि सामान्य दैनिकीमा फर्कन्थे। खुसी हुन्थे। यो सबै कुरालाई उनले नजिकबाट नियालिरहेकी थिइन्।
कुनै बच्चा उपचारपछि खुसी भएर जाँदा डा शिलुलाई पनि निकै आनन्द लाग्थ्यो। उनलाई लाग्यो ‘ओहो ! यो त कसैको जीवन परिवर्तन गर्ने विद्या रहेछ। ’यसले पनि उनलाई आफ्नो उद्देश्यप्रतिथपबलियो बनायो।
भन्छिन्, ‘उनीहरुको पुनर्निर्माण गर्दा पूरै जीवन नै परिवर्तन हुने। यो त कसैको जीवन परिवर्तन गर्न सकिने विषय जस्तो लाग्यो।’
...अनि सुरु भयो अर्थोपेडिक ह्याण्ड सर्जनको यात्रा
कयौँ टीकाटिप्पणीलाई बेवास्ता गर्दै डा शिलुले बीएण्डबी अस्पतालबाट अर्थोपेडिक सर्जनमा एमडीको अध्ययन पूरा गरिन्। अर्थोपेडिक सर्जनमा धेरै विद्याहरु छन्। जसमध्ये एक हो, ‘ह्याण्ड (हात) सर्जरी।’
हातको सर्जरी हेर्दा सामान्य लागे पनि आफैँमा जटिल खालको हुने उनी बताउँछिन्। हातको उपचार राम्रोसँग नहुँदा धेरैको जागिर गुमेको, कमाउन नसकेको बिरामीको पीडा उनले देखिन्। त्यो बेला नेपालमा ह्याण्ड सर्जन धेरै नभएको उनी सुनाउँछिन्।
उनका अनुसार ह्याण्ड सर्जरी प्रायः प्लास्टिक सर्जनले गर्ने गर्थे। यी सबै कारण डा शिलुलाई ह्याण्ड सर्जरीतर्फको रुचि बढ्दै गयो। उनले सिंगापुरबाट ह्याण्ड सर्जरीसम्बन्धी एक वर्षको फेलोसिप गरेकी हुन्। एक वर्षको फेलोसिप आफ्नो लागि पर्याप्त नभएको उनले महसुस गरिन्। आफ्नो क्षमता थप बढाउनुपर्ने भन्दै उनले अमेरिकामा ६ महिनाको तालिमसमेत लिइन्।
‘बिरामीहरु धेरै चोटपटक लिएर आउँछन्। सबै राम्रो हुन्छ तर अन्तिममा हातमा भएको ससानो फ्याक्चर चोटको समस्या हुने रहेछ। नेपालमा ह्याण्ड सर्जन निकै कम रहेछ। त्यो कारणले पनि मलाई यसमा रुचि लाग्यो,’उनले भनिन्।
एमडी सकिएपछि उनले बीएण्डबी अस्पतालमै पाँचवर्ष काम गरिन्।दुई कीर्तिपुरमा दुई वर्ष काम गरिन्। र, अहिले दुई वर्ष नै भयो राष्ट्रिय ट्रमा सेन्टरमा उनले काम सुरु गरेको।
हात सर्जरीको सेवा सरकारी स्वास्थ्य संस्थामा पनि विस्तार गर्नुपर्छ भन्ने सोचाइका साथ आफूले सरकारी अस्पतालमा कामगर्न सुरु गरेको उनी बताउँछिन्।
ह्याण्ड सर्जरी सेवा जटिल खालको र सबैलाई बुझाउन समस्या हुन्थ्यो। यी सबले उनलाई केही समय त किन ह्याण्ड सर्जरी रोजे होलाभन्ने पनि लाग्थ्यो। तर उपचारपछि बिरामीले दिने प्रेम र सम्मानले उनलाई फेरि ऊर्जा मिल्थ्यो।
बिरामीको विश्वासले मिलेको सफलता
उपचारको क्रममा एउटा घटना सधैं सम्झिन्छिन् डा शिलु। एक जनाको हात दुर्घटनामा परेर घाइते भएका थिए। जीवन–मरणको अवस्थामा रहेकाती बिरामीको आइसीयूमा उपचार हुँदै थियो। ती बिरामीलाई एक अस्पतालबाट राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको थियो।
हातसम्बन्धी चोटपटकको उपचार हेर्ने भएकाले ती बिरामी डा शिलुकै नाममा रिफर गरिएको थियो। उनका सहकर्मीले ती बिरामीको जिम्मेवारी नलिन पनि सुझाव दिए। तर उनले बिरामी र उनका आफन्तसँग नै एक पटक कुरा गर्ने निधो गरिन्।
‘म आफ्नोतर्फबाट सक्दो प्रयास गर्छु। तर उपचारको क्रममा बिरामीको मृत्यु पनि हुन सक्छ भनेर सबै बुझाएँ। उहाँहरुले मेरो कुरा बुझ्नु भयो र मलाई विश्वास गर्नुभयो,’उनले भनिन्।
हातमा धेरै र गहिरो चोट भएकाले मल्टिपल अर्थात् दुईभन्दा बढी शल्यक्रिया गर्नुपर्यो।कतिपय आफ्नै सहकर्मीले ‘हिरोगिरी नदेखाऊ’ समेत भने। तर उनले ‘बिरामीले मलाई विश्वास गर्नुभएको छ र म आफ्नो तर्फबाट सक्दो प्रयास गर्छु’ भनेर जवाफ दिइन्।
नभन्दै उनको आत्मविश्वासले जित्यो र ती बिरामीको शल्यक्रिया सफल पनि भयो। हाल ती बिरामी स्वस्थ छन् र बेलाबेला उनलाई खानेकुरा र फलफूल लिएर भेट्न आइरहन्छन्। कुनै बेला डा शिलु कामबाट थकित र निराश भएका बेला यो घटना र बिरामीलाई याद गर्छिन्।
उनी भन्छिन्, ‘उहाँ बेलाबेला मलाई भेट्न आइरहनुहुन्छ। अहिले पनितपाईंले गर्दा मैले नयाँ जीवन पाएँ भन्नुहुन्छ। बिरामीको यो माया देख्दा पनि मैले राम्रो नै विषय लिएछु जस्तो लाग्छ। बिरामी नै मेरो प्रेरणाको स्रोत हो।’
शिलु एमडी पढ्दा पनि अर्थोेपेडिक सर्जन पढ्दा कक्षामा एक्लै हुन्थिन्। कुनै सम्मेलनमा सहभागी हुन जाँदा पनि उनी एक्ली महिला हुन्थिन्, जो अर्थोपेडिक सर्जरी गर्थिन्। कतिले त उनलाई फिजियोथेरापिस्ट पनिभन्थे। राष्ट्रिय ट्रमा सेन्टरमा पनि उनी एक्ली महिला अर्थोपेडिक सर्जन हुन्।
आफ्नै भोगाइले जगायो डाक्टर बन्ने इच्छा
२०५५ सालमा एसएलसीको तयारी गर्दै थिइन्, शिलु श्रेष्ठ। आमा एक्कासि बिरामी भइन्। स्याहार्ने कोही थिएन। घरकी जेठी छोरी उनी। उमेरले सानै भएपनि जिम्मेवारी ठूलो थियो।परिवारमा आमा र दुई दिदी–बहिनीमात्र।
कतिवर्षसम्म त रोगको पहिचानै भएन। आमाको दिसा–पिसाब सबै ओछ्यानमा हुन्थ्यो।आमाको हेरचाह र स्याहार गर्ने उनी मात्र थिइन्। बुवासँगको सम्बन्ध खासै राम्रो थिएन।बुवा कहिलेकाहीँ आउने अनि चिकित्सकलाई देखाउने गर्थे। तर सबै चिकित्सकले औषधि मात्र दिन्थे। कयौँ चिकित्सकले हेरे तर रोगको निदान हुन सकेन।
यही सिलसिलामा एक चिकित्सकले आमालाई मेनेन्जाइटिस भएको बताए। समयमै उपचार नगरे आमाको ज्यानसमेत जान सक्ने उनले थाहा पाइन्। आफ्नो धरातल नै खोसिएको जस्तो महसुस उनले गरिन्। तर हिम्मत जुटाउनु बाहेकको विकल्प पनि उनीसँग थिएन।
ललितपुरस्थित पाटन अस्पतालमा भर्ना गरी आमाको उपचार सुरु भयो। उनको परिवारमा स्वास्थ्य क्षेत्रमा काम गर्ने कोही सदस्य पनि थिएनन्। आमाको उपचारको क्रममा उनले धेरै समस्या भोगिन्।
कति कुरा त नबुझेरै दुःख पाइन्। त्यो दिनको घटना उनी यसरी सम्झिन्छिन्, ‘आमाको हातमा क्यानुला हालिएको थियो। मैले हेर्दा निडल मात्र थियो। तर प्लास्टिक मात्र हुँदो रहेछ। उहाँलाई घोच्छ भनेर कति रात म हात समाएर बस्थें। अलिकति पनि मलाई थाहा भएको भए या मलाई भनिएको भए मेरो धेरैवटा रातहरु सजिलो हुन्थ्यो होला।’
स–साना कुरामा पनि उनी अलमलमा पर्थिन्। कति कुरा बुझ्दैनथिन्। कति कुरा सोध्न आँट आउँदैनथ्यो। कति अवस्थामा डाक्टर–नर्सको व्यवहार पनि रुखो हुन्थ्यो।
उनी भन्छिन्, ‘कोही नर्सले राम्रोसँग कुरा गरिदियो भने कस्तो खुसी लाग्थ्यो। मलाई त के भइरहेको छ भन्ने पनि थाहा थिएन। कस्तो अन्योल जस्तो थियो। डाक्टरले आएर कुरा एक्सप्लेन गर्दा मात्रपनि सजिलो हुन्थ्यो।’
अस्पताल बसाइको क्रममा भोगेका यी समस्यालाई उनले बिर्सन सकिनन्। त्यसपछि चिकित्सक बन्ने अठोट लिइन्। भविष्यमा के बन्ने भन्ने विषयमा उनी स्पष्ट भएकाले आफू चिकित्सक बन्नेमा विश्वस्त थिइन्।
‘सबैको किसिमको अनुभव मैले गरेकी थिएँ। त्यसपछि म अरु केही गर्दिनँ, जसरी पनि डाक्टर बन्छु भनेर पक्का थिएँ,’डा शिलुले भनिन्।
परिवारमै चिकित्सक पढेर मेडिकल क्षेत्रमा प्रवेश गरेको उनी पहिलो सदस्य हुन्। पढाइमा धेरै अब्बल होइनन् उनी। कक्षामा प्रथम हुने, टप गर्ने पनि भएन। तर कडा मेहनत गर्न सक्ने र हिम्मत नहार्ने व्यक्तिको रुपमा उनी आफूलाई चिनाउँछिन्। क्याम्बियन एकेडेमीबाट प्लसको अध्ययन सकाएकी शिलुले काठमाडौं युनिभर्सिटीको मेकिडल स्कुल (हाल काठमाडौं युनिभर्सिटी स्कुलअफ मेडिकल साइन्स) बाट एमबीबीएस गरिन्।
उनका श्रीमान् युरो सर्जन डा पारसमणि श्रेष्ठ हुन्। श्रीमान्पनिनिकै सहयोगी र हरेक काममा समर्थन गर्ने भएकाले पनि काम गर्न सहज हुने गरेको उनी बताउँछिन्।
नेपालमा ह्याण्ड सर्जनसम्बन्धी सेवा सर्वसुलभ बनाउने सपना
ह्याण्ड सर्जनमा रमाइरहेकी डा शिलुले यो सेवालाई नेपालमा सर्वसुलभ बनाउने सपना बोकेकी छिन्। यो सेवालाई सहज र सर्वसुलभ बनाउन सरकारले प्राथमकिता दिनुपर्ने उनी बताउँछिन्।
नेपालमा ह्याण्ड सर्जनसम्बन्धी सेवाहरु अझै पनि बढाउन आवश्यक रहेको उनी बताउँछिन्। भएका जनशक्तिहरुलाई तालिम तथा अभिमुखीकरणको आवश्यकता रहेको उनको भनाइ छ।
‘कतिले ह्याण्डसम्बन्धी विषय बाहिर पढेर आउँछन्। तर यहाँ काम गर्ने वातावरण नै छैन। पढेर आएको छ ह्याण्ड सर्जरी अनि सबै काम गर्नुपर्छ। सबै कुरा गर्न थाल्यो भने यो विषयमा केन्द्रित नै हुन सकिँदैन,’उनले भनिन्।
ह्याण्ड सर्जनको सेवालाई विस्तार गर्न धेरै कामहरु गर्न बाँकी रहेको डा शिलुको अनुभव छ। उनीसँग उपचारका लागि आउने धेरै बिरामीहरु हातको राम्रो उपचार नपाएर, बिग्रेर आउने हुन्छन्। ९० प्रतिशत शल्यक्रिया यस्तै किसिमको दोहोरिएर गर्नुपर्ने खालको बिरामी आफूले हेर्नु परेको उनले बताइन्।
ट्रमा सेन्टरमा आफू एक्लो ह्याण्ड सर्जन भएकाले बिरामीको चाप धेरै हुने गरेको उनी बताउँछिन्।
डा शिलु भन्छिन्, ‘मेरो सपना भनेकै ह्याण्ड सर्जरी एउटा राम्रो सेवाको रुपमा विकास होस्, सामान्य उपचारका लागि पनि बिरामी भौतारिँदै हिँड्न नपरोस् भन्ने हो।’
तस्विर : निमेषजंग राई