म विगत सात वर्ष देखि नर्सिङ पेसामा आवद्ध छु। नर्सिङ एउटा यस्तो पेसा हो जहाँ नर्सहरू आफू मैनबत्ती झैँ पग्लिएर बिरामीलाई उज्यालो दिन्छन्। नर्सिङ पेसा आफैँमा एकदम गर्व योग्य पेसा हो जसले दिनरात नभनी बिरामीको सेवा गर्छन्।
केही दिन यता सामाजिक सञ्जाल हेरिसक्नु छैन, जताततै नर्सलाई सुन्नै नसक्ने गालीगलौज अपशब्द बोलेको देखिन्छ। साथै नेपाली समाजले नर्सको कामको कदर गर्न नसकेको हो कि नर्सले बिरामीको सेवा गर्न नसकेको हो?
केही दिनअघि चर्चित सामाजिक अभियन्ता गिभिना मगरले टिकटकमा भिडियो अपलोड गर्नुभएको थियो। जुन भिडियोमा गिभिनाजीले २ बजे दिने औषधी ४ बजे किन दिएको हेर्नुस् तपाईँहरूलाई नि यस्तो पर्न सक्छ भन्दै खिचेर अपलोड गर्नुभएको थियो।
गिभिना जी, तपाईँलाई आफ्नो बिरामीको उपचारबारे सोध्न बुझ्न पाउने सम्पूर्ण अधिकार छ। जुन मेडिकल इथिक्समा पनि समावेश गरिएको छ। तपाईँको सोध्न पाउने अधिकार छ भन्दैमा हस्पिटल जस्तो संवेदनशील क्षेत्रमा गएर भिडियो खिची चर्काचर्की गर्न कसले अनुमति दियो?
तपाईं त पढेलेखेको व्यक्ति त्यहीमाथि सामाजिक अभियन्ता। तपाईंलाई हेक्का कि छैन हस्पिटल यस्तो क्षेत्र हो जहाँ बिरामीहरू जीवन र मृत्युसँग लडिरहेका हुन्छन्, कोही पिडा खप्न नसकेरै छटपटी रहेका हुन्छन्। तपाई यस्तो क्षेत्रमा गएर चर्काचर्की गरी भिडियो खिच्ने यो कस्तो समाज सेवा हो? कहिलेकाहीँ नर्सको पनि गल्ती हुन्छ। बिरामीको चाप धेरै भएका कारण औषधी दिन कहिले कहीँ ढिला हुन्छ। समस्यालाई समाधान गर्ने हो तिललाई पहाड बनाउने होइन।
कुरा गिभिना जी को मात्र होइन। नेपाली समाजले नर्स भनेको छुच्ची हुन्छ, चर्को स्वरले बोल्छ, बोलाउँदा आउँदैन भन्छ। अनि यो समाजले नर्सको राम्रो पक्ष देख्छ कि देख्दैन? नेपाली समाज अन्धो छ? समयमा औषधी पाएन नर्सलाई गाली, समयमा रिपोर्ट आएन नर्सलाई गाली, बिरामीले खाना खाएन नर्सलाई गाली, बिरामीको अवस्था अलिक बिग्रियो नर्सलाई गाली। साँच्चै नेपाली समाजले नर्सको कामलाई चाहिँ कहिले बजाउँछ ताली?
नर्सिङ पेसा यस्तो पेसा जहाँ दिनरात नभनी बिरामीको सेवा गर्नुपर्छ। तपाईँहरूले कहिल्यै देख्नु भएको छ- जब बिरामी निको भएर घर जान्छ अनि सामाजिक सञ्जालमा फोटो अपलोड गर्दै फलानो हस्पिटल फलानो डाक्टर साबलाई धन्यवाद लेख्छ। कहीँ देख्नु भएको छ नर्सलाई पनि धन्यवाद ?
बिरामीले समयमा औषधी पाएन रे अनि तपाईँले हेर्नुभएको छ? एउटा नर्सले २५-३० जना बिरामी हेर्नुपर्छ। एउटा बिरामी कम्तीमा पनि १०-१५ मिनेट लाग्छ अनि तपाईँ हामी घडी हेरी बस्छौँ २ बजेको औषधी ५ मिनेट ढिला भइसक्यो नर्स आएन भनेर।
लाख खर्चिएर नर्सिङ पढेको हुन्छ। तलब ४५ सय देखि १५ हजार। यो पैसाले नर्सिङ पढ्दा लागेको ऋण तिर्ने की आमाको फाटेको चोली फेर्ने? साँच्चै नेपाल सरकारले यो देखेको छ की छैन?
नर्सको हकहितको लागि काम गर्ने भनेर नेपाल नर्सिङ सङ्घ खोलिएको छ। तपाईँहरू उच्च तहमा बस्नेहरू नर्सको हकहितको लागि काम गर्नुपर्छ की पर्दैन? सरकारलाई खबरदारी गर्नुपर्छ की पर्दैन?तपाईँहरूको काम कुर्सीमा बस्ने मात्रै हो? ९० प्रतिशत नर्सलाई नर्सिङ सङ्घको अध्यक्ष को हो भन्ने समेत थाहा छैन। हामीले तपाईँहरूलाई के भनेर भोट दिएर जिताएको? केही घटना घटेको हप्ता दिन पछि मात्रै तपाईँहरूको विज्ञप्ति आउँछ। के यही हो तपाईँहरूको काम?
अहिले बिरामी नर्सलाई देखेर डराउँछ, नर्स बिरामी देखि डराउँछ की फेरि भिडियो खिचेर अपलोड गर्देला भनेर। मेरो नेपाल सरकार तथा नेपाल नर्सिङ सङ्घलाई यो आग्रह छ कि निर्धक्कका साथ काम गर्ने वातावरण दिलाइदिनुस्।