काठमाडौं- नेपालको स्वास्थ्य बीमा प्रणाली र स्वास्थ्य बीमा बोर्डले प्रयोग गरिरहेको सफ्टवयेरबाट इथियोपिया, सेनेगल र जाम्बियाका प्रतिनिधिहरु प्रभावित भएका छन्।
नेपालको स्वास्थ्य बीमा बोर्डले प्रयोग गर्दै आइरहेको ओपन आईएमआईएस नामक सफ्टवेयरको प्रयोगबारे हालै नेपालमा सम्पन्न तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका यी तीन देशका प्रतिनिधिहरु नेपालको बीमा प्रणाली र सफ्टवेयरबाट प्रभावित भएका हुन्। उनीहरुले नेपालको स्वास्थ्य बीमा प्रणालीबाट प्रेरणा लिँदै आफ्ना देशमा पनि यस प्रकारका प्रविधिको प्रयोग गर्ने संकल्प व्यक्त गरेका छन्।
युरोपियन युनियन, अन्तर्राष्ट्रिय श्रम संगठन, एक्सपर्टिज फ्रान्स र जर्मन सहयोग निकाय (जिआईजेड) को सहयोगमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय वर्कशपमा इथियोपिया, सेनेगल र जाम्बियाका स्वास्थ्य बीमा प्रतिनिधीहरुले सहभागिता जनाएका थिए।
वर्कशपमा नेपालले स्वास्थ्य बीमा क्षेत्रमा गरेको प्रगति र स्विस सरकारद्वारा विकसित 'ओपन आईएमआईएस' सफ्टवेयरको सफल कार्यान्वयनले अन्तर्राष्ट्रिय स्तरमा पनि चासो जगाएको जानकारी दिइएको थियो। उक्त सफ्टवेयर खुला स्रोतको रूपमा उपलब्ध रहेको र यसलाई सहजै प्रयोगमा ल्याउन, संशोधन गर्न र आफू अनुसार मिल्ने बनाउन पाइन्छ। तर यसलाई बिक्री गर्न भने नपाइने जानकारी पनि वर्कशपमा दिइएको थियो।
उक्त वर्कशपका क्रममा इथियोपियन हेल्थ इन्सुरेन्स सर्भिस, सेनेगलको स्वास्थ्य बीमा निकाय र जाम्बियाको राष्ट्रिय स्वास्थ्य बीमा व्यवस्थापन प्राधिकरणका प्रतिनिधीहरुले नेपाल आएर यस प्रणालीबारे गहन अध्ययन गरेका थिए।
कार्यक्रमका सहभागीहरुले धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र नजिकैका अन्य स्वास्थ्य संस्थाहरुमा भ्रमण गरेर 'ओपन आईएमआईएस' सफ्टवेयरको प्रयोगबारे प्रत्यक्ष जानकारी लिएका थिए। यसले नेपालको स्वास्थ्य बीमा प्रणालीमा 'ओपन आईएमआईएस' ले कसरी काम गर्छ भन्ने बारेमा गहन जानकारी प्रदान गरेको वर्कशपमा सहभागी प्रतिनिधिले जानकारी दिए।
वर्कशपपछि इथियोपिया, सेनेगल र जाम्बियाका प्रतिनिधीहरुले नेपालको स्वास्थ्य बीमा प्रणालीबाट प्रेरणा लिँदै आफ्ना देशमा यसलाई अनुकरण गर्ने संकल्प व्यक्त गरेपछि नेपाली प्रतिनिधिहरुले खुसी व्यक्त गर्दै 'नेपालको स्वास्थ्य बीमा प्रणाली अन्तर्राष्ट्रिय मानकमा पुगेको प्रमाणित गरेको' प्रतिक्रिया दिएका छन्। उनीहरुले 'यसप्रकारको अन्तर्राष्ट्रिय वर्कशपहरुले विश्वभरका देशहरुबीच ज्ञानको आदानप्रदान गर्न मद्दत गर्दै साझा चुनौतीहरु समाधान गर्ने नयाँ मार्ग प्रशस्त गर्न सक्ने' प्रतिक्रिया पनि दिए।
यो सफ्टवेयर प्रणाली नेपाल लगायत १६ वटा मुलुकहरुमा लागु भइरहेको स्वास्थ्य बीमाको बोर्ड आइटी विभाग प्रमुख सुरेश सिंह तिंकरी बताउँछन्। नेपालमा स्वास्थ्य बिमा तथा सामाजिक सुरक्षा कोषले सुरुवातदेखि नै यही सफ्टवेयर प्रयोगमा ल्याइएको छ। उक्त सफ्टवेयर १४ वर्ष अगाडि स्वीस सरकारको सहायतामा बनेको थियो।
'ओपन आईएमआईएस'ले खोल्यो डिजिटल स्वास्थ्यको नयाँ द्वार: रोजाली एन्गोम कोली, सेनेगल
सेनेगलको स्वास्थ्य बीमा निकायकी महाप्रबन्धक रोजाली एन्गोम कोलीले नेपाल आएर 'ओपन आईएमआईएस' सफ्टवेयरबारे जानकारी लिएपछि यसले आफ्नो देशमा पनि डिजिटल स्वास्थ्य प्रणाली लागू गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेकी छिन्। उनले भनिन्, 'हामी नेपाल आउँदा यो सफ्टवेयरबारे केही थाहा थिएन। तर यहाँको भ्रमणले हामीलाई यसको विशेषताहरुबारे बुझ्न मद्दत गर्यो। यसले स्वास्थ्य सेवा प्रदायक र बीमा निकायबीचको सम्पर्कलाई डिजिटल बनाउन मद्दत गर्दछ।'
उनले सेनेगलमा स्वास्थ्य सेवाहरु खण्डित रहेको बताउँदै यसलाई एकीकृत गर्न आवश्यक रहेको बताइन्। उनले भनिन्, 'नेपालमा सबै स्वास्थ्य सेवाहरु एकै ठाउँमा उपलब्ध छन् भने सेनेगलमा यो खण्डित छ। यसले स्वास्थ्य बीमालाई जटिल बनाउँछ। हामीले नेपालबाट यो एकीकृत प्रणाली अपनाउने प्रेरणा पाएका छौं।'
जाम्बियाका माइकल के. निजापाउ भन्छन्- नेपालले खोल्यो हाम्रा आँखा
जाम्बियाको राष्ट्रिय स्वास्थ्य बीमा व्यवस्थापन प्राधिकरणका निर्देशक माइकल के. निजापाउले नेपालको स्वास्थ्य बीमा प्रणालीले उनीहरुलाई प्रभावित गरेको बताए। उनले भने, 'धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालयको भ्रमणले हामीलाई धेरै कुरा सिकायो। यहाँको डाटा एकीकरण र सफ्टवेयरको प्रयोगले हामीलाई आश्चर्यचकित बनायो। हामीले यहाँबाट सिकेका कुराहरु लगेर जाम्बियामा लागू गर्नेछौं।'
उनले 'ओपन आईएमआईएस' सफ्टवेयरलाई सामाजिक स्वास्थ्य बीमाको लागि उपयुक्त बताउँदै यसले लागतमा पनि बचत गर्न मद्दत गरेको बताए। उनले भने, 'यो प्रणाली अपनाएर हामीले यसलाई आफ्नो आवश्यकताको अनुसार प्रयोग गर्न सक्छौं।'
इथियोपियाका टेस्फाये वर्कु भन्छन्- नेपालको अनुभवले प्रेरित गर्यो
इथियोपियन हेल्थ इन्सुरेन्स सर्भिसका निर्देशक टेस्फाये वर्कुले नेपालको स्वास्थ्य बीमा प्रणालीबाट धेरै कुरा सिकेको बताए। उनले भने, 'हामीले यहाँका विभिन्न स्वास्थ्य संस्थाहरुमा गएर यो प्रणालीले कसरी काम गर्छ भन्ने बारेमा जानकारी लियौं। यो हाम्रो लागि ठूलो अनुभव थियो। हामीले यहाँबाट धेरै कुरा सिकेर लगेर आफ्नो देशमा लागू गर्नेछौं।'
उनले इथियोपियामा यस प्रणाली लागू गर्न तयारी चलिरहेको बताउँदै यसको लागि आवश्यक बजेट, प्राविधिक सहयोग र आधारभूत संरचनाको आवश्यकता रहेको बताए। 'हामी नेपालबाट प्रेरणा लिँदै यसलाई अघि बढाउनेछौं,' उनले भने।