एआईद्वारा निर्मित प्रतिकात्मक तस्विर
काठमाडौं - काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागको तापक्रममा घट्दो अवस्थामा छ। काठमाडौंसहित देशभरको तापक्रममा घट्दै जाँदा कतिपय स्थानमा शीतलहर र हिमपातका कारण जनजीवन प्रभावित हुन थालेको छ।
तापक्रम निरन्तर ओरालो लागिरहँदा विशेष प्रकारको स्वास्थ्य सजगता अपनाउन चिकित्सकहरुको सुझाव छ। सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन चिसो मौसममा रुघाखोकी, कमन कोल्ड, फ्लु, झाडापखाला जस्ता समस्या बढी देखिने भएकोले सजगता अपनाउनुपर्ने उनी बताउँछन्। रुघाखोकीका बिरामी निमोनिया भइसकेपछि वा जटिल अवस्थामा मात्रै अस्पताल आइपुग्ने गरेको उनले बताए।
चिसो बढ्दै जाँदा सर्ने रोगका साथै नसर्ने रोगका जोखिम पनि बढ्दै जाने उनी बताउँछन्। उनका अनुसार यो समयमा मुटु रोगका कारण हुने मृत्युको जोखिम तथा उच्च रक्तचापका बिरामीहरुलाई हृदयघात हुने सम्भावना पनि बढ्ने गर्छ।
चिसोमा युवा अवस्थाका मानिसको समेत हृदयघातका कारण ज्यान गुमाउने जोखिम बढ्ने उनले बताए। दीर्घरोगीहरु विशेषगरी मुटु तथा दमका बिरामीहरुमा स्वास्थ्य समस्या बढ्ने भएकोले त्यस्ता बिरामीहरुलाई विशेषगरी यस समयमा स्वास्थ्यको ख्याल राख्न उनको सुझाव छ। चिसोमा देखिने केही समस्याहरुको बारेमा यहाँ जानकारी दिइएको छ :
रुघाखोकी
जाडो मौसममा विभिन्न श्वास प्रश्वाससम्बन्धी विभिन्न समस्या देखिने गर्दछ। जाडोमा बढी धुलो धुवाँले यस्तो समस्या बढी मात्रामा देखिने डा पुन बताउँछन्। भाइरस सक्रिय हुने भएकाले नाकबाट पानी बग्ने, हाँछ्यु आउने, घाँटी दुख्ने, ज्वरो आउने, दुई हप्ता वा सोभन्दा बढीसम्म सुख्खा खोकी लाग्ने, मांसपेशी तथा जोर्नी दुख्ने, लगायतका समस्या देखिने डा पुन बताउँछन्।
कोल्ड डाइरिया
जाडोमा विशेषगरी बालबालिकामा देखिने समस्या कोल्ड डाइरिया हो। कोल्ड डाइरिया रोटा भाइरसका कारणले देखिन्छ। यो भाइरस जाडो मौसममा सक्रिय हुने चिकित्सको भनाई छ। कोल्ड डाइरिया बालबालिकाहरुको मृत्यु हुने मुख्य कारणमध्येको एक हो।
रोटा भाइरसबाट विशेषगरी पाँच वर्षमुनिका बालबालिका प्रभावित हुने गर्छन्। यसलाई हेलचक्राई गर्दा बिरामीको ज्यानै जान सक्ने चिकित्सक बताउँछन्। जाडो मौसममा नोरा भाइरसका कारणले गर्दा झाडापखाला लाग्ने बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिने गर्दछन्। सरकारले रोटा भाइरस विरुद्धको खोप नियमित खोपमा समावेश गरी निःशुल्क दिँदै आएको छ।
निमोनिया
जाडोमा विशेषगरी बालबालिका र वृद्धवृद्धालाई निमोनियाको समस्याले दुख दिने गर्छ। निमोनिया फोक्सोमा हुने सङ्क्रमण रोग हो। निमोनिया ब्याक्टेरिया, फङ्गल र भाइरसको कारणले लाग्ने गर्छ। उच्च ज्वरो आउने, सास फेर्न गाह्रो हुने, कोखा हान्ने, नाक थुनिएर मुखले सास फेर्नेजस्ता लक्षण देखिन्छन्।
दम
जाडो मौसममा बढी हुने समस्यामध्ये दम पनि एक हो। चिसो र सुख्खा हावाले श्वासनलीलाई साँघुरो पारी श्वास फेर्न कठिनाई हुने गर्छ। जाडो मौसममा घरमा अनावश्यक मात्रामा धुलो तथा धुँवाको सृजना हुँदा त्यसले श्वासप्रश्वासमा समस्या उत्पन्न हुन सक्छ।
चिसोमा स्वास्थ्यको ख्याल कसरी राख्ने ?
चिसो सुख्खापनको समय भएकोले झोलिलो खानेकुराको सेवन बढी गर्न डा पुनको सुझाव छ। चिसो मौसम धुलो धुँवा तथा प्रदुषणको मौसम पनि भएकोले फोक्सो तथा मुटुरोगीहरुले विशेषरुपमा स्वास्थ्यको ख्याल राख्नुपर्ने उनको धारणा छ। दीर्घरोगीहरु नियमित रुपमा चिकित्सकको सम्पर्कमा रहन उनी सुल्झाउँछन्। रुघाखोकीबाट जोगिनका लागि भने सार्वजनिक स्थलहरुमा जाँदा माक्सको अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने उनको धारणा छ। रुघाखोकी धेरै लाग्ने मानिसले फ्लुको खोप लगाएर पनि जटिल अवस्थामा पुग्नबाट जोगिने सकिने डा पुन बताउँछन्।
औषधिको आपूर्तिलाई सहज बनाइएको छ : प्रवक्ता डा बुढाथोकी
चिसोबाट जोगिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्व तयारी गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी बताउँछन्।
चिसोको सुरुवातसँगै मन्त्रालयले सरकारका देशैभरीका स्वास्थ्य संस्थामा कार्यरत फिजिसियन लगायत विज्ञ जनशक्तिलाई लामो बिदामा नजानका लागि निर्देशन दिएको उनले बताए।
चिसोमा आइपर्ने स्वास्थ्य समस्याहरुसँग सामना गर्नका लागि कर्मचारीहरुलाई अभिमुखीकरण दिने तथा स्वास्थ्य संस्थामा औषधिको आपूर्ति सहज रुपमा गराउने व्यवस्था गरिएको प्रवक्ता डा बुढाथोकीको दाबी छ।