फाइल तस्विर
काठमाडौं - एक वर्षमा देशभर करिब २२ सेवाग्राहीले योग सेवा लिएका छन्। आर्थिक वर्ष २०८१/८२ मा देशभरका आयुर्वेद स्वास्थ्य संस्थाहरुबाट २१ लाख ९० हजार सेवाग्राहीहले योग सेवा लिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।
विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत योगलाई समावेश गरेकोले देशभरका सबै आयुर्वेद स्वास्थ्य संस्थाहरुबाट नियमित रुपमा प्रदान गर्दै आएको छ।
योगलाई नागरिकको जीवन पद्धती बनाउने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विशेष प्राथमिकताका साथ सेवा विस्तार गरिरहेको महानिर्देशक डा यादवको दाबी छ। नयाँ पुस्तामा योगको महत्व पुर्याउन विभागले विद्यालयस्तरमै योग सेवा प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसले विद्यार्थीहरुको शारीरिक विकास र मानसिक एकाग्रता बढाउन महत्वपूर्ण भूमिका खेलेको डा यादव बताउँछन्।
देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्रहरु मार्फत आधारभूत स्वास्थ्य सेवा अन्तर्गत योग सेवा नियमित रुपमा प्रदान हुँदै आएको छ।
योग सेवाका लागि प्रत्येक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुले नागरिकलाई योग सेवा दिदैं आइरहेको छ। आयुर्वेदको सेवा नभएको स्थानमा पनि नागरिक आरोग्य सेवा केन्द्रमार्फत अभियानकर्ताको सहयोगमा योग सेवा प्रदान गरिएको महानिर्देशक डा यादव बताउँछन्।
नेपालको संघीय संरचना अनुसार आधारभूत स्वास्थ्य सेवाको व्यवस्थापन र सञ्चालनको मुख्य अधिकार स्थानीय तहमा निहित छ। योग सेवालाई प्रत्येक नागरिकको पहुँचमा पुर्याउन ७ सय ५३ वटै स्थानीय तहले आफ्नो कार्यक्षेत्र भित्रका स्वास्थ्य संस्थाहरूबाट अनिवार्य रूपमा योग सेवा प्रदान गर्नु अपरिहार्य देखिएको छ।
प्रत्येक वर्ष माघ १ मा मनाईन्छ योग दिवस
प्रत्येक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने गरिएको छ। योग केवल व्यायाम मात्र नभई जीवन जिउने कला र पद्धति पनि हो भन्ने सचेतना जगाउनका लागि यो दिवस मनाउने गरिएको हो। यसवर्षको योग दिवसको नारा स्वस्थ्य समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने रहेको छ।
यस वर्षको योग दिवस संघीय, प्रदेश र स्थानीय स्तरमा विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेर मनाइएको महानिर्देशक यादव बताउँछन्। उनका अनुसार माघ त गते बिहान स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय तथा विभिन्न योग संस्थारुमा प्रभातफेरी तथा मुल समारोहको आयोजना गरिएको थियो। साथै विभिन्न योग शिविरहरु, अन्तरक्रिया तथा प्रवचन तथा विद्यालयस्तरमा विभिन्न चेतनामुलक कार्यहरु गरेर यो दिवस मनाइएको उनले जानकारी दिए।
योगले प्रदान गर्ने मानसिक शान्ति र सकारात्मक उर्जाले विश्व शान्तिका लागि समेत मार्गप्रशस्त गर्न सक्ने विश्वास लिइन्छ। नेपालमा नसर्ने रोगको भार बढ्दैं जाँदा योगले उपचारात्मक क्षेत्रमा राज्यको भारलाई कम गराउन सहयोग गर्ने आयुर्वेद चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन्। योग रोग प्रतिरोधी क्षमता बढाउनुका साथै रोग लाग्नै नै नदिन उपयोगी हुने उनको भनाई छ।
आयुर्वेद कार्यक्रममा वार्षिक १ अर्ब ४० करोड बजेट
सरकारले समग्र आयुर्वेद क्षेत्रका लागि यस वर्ष १ अर्ब ४० करोड बराबरको बजेट विनियोजन गरेको छ। आवश्यकताका आधारमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले शीर्षक अनुसार बजेट विनियोजन गर्छ। त्यसमा करिब ३० करोड बराबरको बजेट आधारभूत स्वास्थ्य सेवा प्रवाहमा खर्च हुने गरेको महानिर्देशक डा यादवले जानकारी दिए।
स्वास्थ्यमा योगको महत्व
बढ्दो आधुनिक जीवनशैलीका कारण नसर्ने रोगहरू र मानसिक स्वास्थ्य ठुलो चुनौतीको रूपमा देखा परेका छन्। योगका विभिन्न फाइदाहरु छन् :
१. योगले नसर्ने रोगहरू (उच्च रक्तचाप, मधुमेह, मोटोपना आदि) को नियन्त्रण र व्यवस्थापनमा सहयोग गर्छ।
२. तनाव कम गरी मानसिक स्वास्थ्य संवर्धनमा महत्वपूर्ण भूमिका खेल्छ।
३. शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरी स्वस्थ समाज निर्माणमा मद्दत पुर्याउँछ।