काठमाडौं - जलन उपचारको अग्रणी अस्पतालका रुपमा परिचित कीर्तिपुर अस्पताललाई पछिल्लो समय बिरामीको चाप धान्न मुश्किल परेको छ। दैनिक भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीहरु बढ्दै गएपछि उपचार दिन कठिन भएको अस्पतालका निर्देशक डा किरण नकर्मी बताउँछन्।
अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामी दैनिक ५ जनासम्म आउने गर्छन्। ओपिडी सेवा लिनका लागि ३५ देखि ५० जनासम्म पनि आउने अस्पतालले जनाएको छ। सीमित स्रोत साधनका बाबजुत पनि अस्पतालले उपचारका लागि आएका बिरामीहरुलाई फर्काउन नपरोस् भन्ने लक्ष्यका साथ काम गरिरहेको उनले जानकारी दिए। बिरामी रेफर तथा फिर्ता पठाउन नपरोस् भन्नका लागि अस्पतालले तत्कालै विस्तारको योजना पनि बनाएको छ।
‘अस्पतालको सेवालाई तत्कालै विस्तार गर्ने योजना बनाएका छौं,’ डा नकर्मीले भने, ‘हालकै भौतिक संरचनालाई प्रयोग गरेर विस्तारको योजना बनाएका हौ।’
वार्डमा बिरामी राखेर उपचार गर्ने स्थान नभएकोले विस्तार गर्न लागिएको उनको भनाई छ। हाल अस्पतालको भर्नाका लागि ३४ शय्या क्षमता भएपनि ४२ जनालाई सेवा दिइएको उनी बताउँछन्। आगामी दिनमा अस्पतालले नगरपालिका, विभिन्न स्वदेशी संस्था तथा दातृ निकायसँग समन्वय गरेर भौतिक संरचना समेत बढाउन लागि योजना बनाइरहेको उनले जानकारी दिए।
ठूला अस्पतालमा ५ देखि १० शय्याको जलन उपचार विभाग तोकिएपनि उपचार गर्ने दक्ष जनशक्ति नहुँदा अधिकांश बिरामी कीर्तिपुर नै रेफर हुने गरेका छन्।
धेरै अस्पताल जलनको उपचारका लागि तोकेर मात्रै समस्याको समधान नहुने डा नकर्मी बताउँछन्। जलेका बिरामीको उपचार गर्न प्रविधिसहित ठूलो टिम चाहिने भएकोले पनि सरकारले तोकेका सबै अस्पतालमा जलन उपचार सेवा विस्तार गर्न कठिन भएको उनको धारणा छ।
किन देशभर विस्तार हुन सकेन जलन उपचार सेवा
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत वैशाखमा जलन उपचार सेवालाई सातै प्रदेशमा विस्तार गर्ने घोषणा गरेका थिए। सातै प्रदेशमा जलन उपचार सेवालाई विस्तार गर्ने भन्दै बजेट विनियोजन उक्त सेवा विस्तार गर्न सकिएको छैन।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी जनशत्ति अभावमा प्रदेशस्तरमा जलन उपचार सेवा विस्तार हुन नसकेको बताउँछन्। प्रदेश अस्पतालसम्म प्लास्टिक सर्जन पुर्याउन नसकेकोले सामान्य बाहेकको जलनको विशिष्टीकृत सेवा विस्तार गर्न नसकिएको उनी बताउँछन्।
वीर अस्पतालमा सघन तथा शल्यक्रिया सेवा सहितको जलन उपचार केन्द्र सञ्चालनमा छ। वीरमा १० जनरल बेड, ५ आईसीयु र ३ वटा अप्रेसन थिएटर रहेपनि जनशक्ति भने अभावको स्थिति छ। वीर अस्पतालका जलन उपचार विभाग प्रमुख तथा बर्न एण्ड प्लास्ष्टिक सर्जन डा पीयूष दाहालका अनुसार नेपालमा प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जनको संख्या एकदमै कम छ।
नेपाल मेडिकल काउन्सिलमा ३५ जनाको हाराहारीमा मात्रै बर्न एण्ड प्लास्टिक सर्जन दर्ता छन्। यस विद्यामा सरकारी दरबन्दी एकदमै न्यून भएकोले डाक्टरहरुको यसको अध्ययनतर्फ रुचि नदेखाउने डा दाहालले बताए।
वार्षिक ५५ देखि ६० हजारलाई जलन समस्या
नेपालमा वार्षिक ५५ देखि ६० हजारसम्मलाई जलनसम्बन्धी समस्या हुने गरेको निर्देशक डा नकर्मी बताउँछन्। यद्यपि सबै अस्पताल पुग्दैनन्। कीर्तिपुर अस्पतालमा वार्षिक ६ सय हाराहारी जलनका बिरामी भर्ना हुने गरेको तथ्यांक छ। त्यसमध्ये श्वासनली जलेका बिरामी १५० हाराहारी बिरामी आउने उनले जानकारी दिए ।
आगो, तातो तेल, तातो पानी, तातो झोल, विजुली, रसायन लगायतले पोलेर बर्न अस्पताल आएकामध्ये करिब ७६ प्रतिशत बिरामीलाई बचाउन सकिएको डा नकर्मी बताउँछन् ।देशभर जलेका बिरामी सिधै वा रेफर भएर कीर्तिपुर अस्पताल र साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पताल आइपुग्छन्।थोरै संख्यामा बिरामीहरु वीर तथा त्रिवि शिक्षण अस्पताल पुग्ने उनले जानकारी दिए।