काठमाडौं – देशका विभिन्न जिल्लामा रेबिज खोप अभाव भएको गुनासो बढिरहेका बेला स्वास्थ्य सेवा विभागले हाल मौज्दात रहेको खोपले आगामी साउनसम्म धान्न सक्ने दाबी गरेको छ। विभागका अनुसार देशभर हाल ११ हजारभन्दा बढी भाइल रेबिज खोप मौज्दात रहेको छ भने थप ४ हजार ५ सय भाइल खोप आगामी शनिबारसम्म नेपाल आइपुग्ने तयारीमा छ।
सरकारले हरेक वर्ष करिब ३ लाखभन्दा बढी रेबिज खोप खरिद गर्दै आएको भए पनि यस वर्ष खरिद प्रक्रियामा ढिलाइ हुँदा केही स्वास्थ्य संस्थामा खोप अभाव देखिएको हो। पछिल्लो समय देशभरका विभिन्न जिल्लाबाट रेबिज खोप नपाएको गुनासो आउन थालेपछि विभागले मौज्दात र खरिद प्रक्रियाका विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा जानकारी अद्यावधिक गराएको छ।
खोप अभावका विषयमा स्वास्थ्यखबरले पनि मन्त्रालय, विभाग र अस्पतालहरुसँग विवरण संकलन गरेको छ। प्राप्त विवरण अनुसार अहिले देशभरमा ११ हजारभन्दा बढी भाइल रेबिज खोप मौज्दात रहेको छ।
कहाँ कति छ मौज्दात?
स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति तथा व्यवस्थापन महाशाखाका अनुसार हाल एआरभी ०.५ एमएल, एआरभी १ एमएल र एआरभी इम्युनोग्लोबिन गरी ११ हजारभन्दा बढी भाइल रेबिज खोप मौज्दात रहेको छ।
महाशाखाका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख चेतननिधि वाग्लेका अनुसार केन्द्रिय भ्याक्सिन स्टोरमा १ हजार ६ सय ४० भाइल, प्रादेशिक भ्याक्सिन स्टोरमा ५ हजार ६ सय ६८ भाइल, स्वास्थ्य कार्यालयहरूमा १ हजार २ सय १० भाइल तथा विभिन्न अस्पतालहरूमा २ हजार ६ सय ९८ भाइल रेबिज खोप मौज्दात रहेको छ।
प्राप्त विवरण अनुसार एआरभी ०.५ एमएल ६ हजार ८३७, एआरभी १ एमएल ३ हजार ६७४ र आरभी इम्युनोग्लोबिन १०८५ भाइल खोप मौज्दात रहेको छ।
विभागका अनुसार अहिले मौज्दातमा रहेको खोप र विश्व स्वास्थ्य संगठनको सहयोगमा आउन लागेको थप खोपले साउन महिनासम्मको आवश्यकता धान्न सक्ने अवस्था छ।
थप ४ हजार ५ सय भाइल खोप आउँदै
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर तत्काल आवश्यक परिमाणको खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको छ।
उनका अनुसार डब्लुएचओको सहयोगमा करिब ४ हजार ५ सय भाइल रेबिज खोप आगामी शनिबारसम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। विभागले सकभर छिटो खोप उपलब्ध गराइदिन अनुरोध गरिसकेको र प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।
४ लाखभन्दा बढी भाइल खरिद हुँदै
विभागका अनुसार दीर्घकालीन समाधानका लागि ठूलो परिमाणमा रेबिज खोप खरिद प्रक्रिया अगाडि बढाइएको छ।
महाशाखाले एआरभी ०.५ एमएलका १ लाख ९० हजार भाइल तथा एआरभी १ एमएलका २ लाख ३४ हजार भाइल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ। यसअनुसार कुल ४ लाख २४ हजार भाइलभन्दा बढी रेबिज खोप खरिद गर्ने तयारी गरिएको छ।
विभागका अधिकारीहरूका अनुसार प्राविधिक प्रक्रिया सम्पन्न भइसकेको छ भने आर्थिक प्रस्ताव मूल्यांकनको चरणमा रहेको छ। सबै प्रक्रिया समयमै सम्पन्न भए साउनको अन्त्यसम्म नयाँ खोप नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।
किन भयो अभाव ?
स्वास्थ्य अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि, डलरको विनिमय दर बढ्नु तथा विश्वका केही क्षेत्रमा जारी युद्धका कारण खोप आपूर्तिमा समस्या देखिएको हो।
डा. भट्टचनका अनुसार रेबिज खोप खरिदका लागि गरिएको पहिलो र दोस्रो चरणको बोलपत्र प्रक्रिया सफल हुन सकेन। आपूर्तिकर्ताले सरकारी दररेटमा खोप उपलब्ध गराउन नसक्ने अवस्था आएपछि प्रक्रिया प्रभावित भएको थियो।
उनले अहिले तेस्रो चरणको खरिद प्रक्रिया अघि बढाइएको र प्राविधिक मूल्यांकन सम्पन्न भइसकेको जानकारी दिए। आर्थिक प्रस्तावको प्रक्रिया पनि अगाडि बढिसकेको र केही समयभित्रै खरिद सम्झौता हुने अपेक्षा गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले पनि खरिदका लागि दुई पटकसम्म टेन्डर आह्वान गरिएको भए पनि लागत अनुमान र बजार मूल्यबीच ठूलो अन्तर भएका कारण प्रक्रिया प्रभावित भएको बताए।
उनका अनुसार संशोधित लागत अनुमानका आधारमा पुनः टेन्डर प्रक्रिया अगाडि बढाइएको छ। 'देशभर पूर्ण रूपमा खोप सकिएको अवस्था होइन, केही ठाउँमा माग र आपूर्तिबीच तालमेल नमिल्दा समस्या देखिएको हो,' उनले भने।
टेकु अस्पतालमा बढ्यो बिरामीको चाप
देशका विभिन्न जिल्लामा खोप अभाव हुन थालेपछि काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिज खोप लगाउन आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ।
अस्पतालका सूचना अधिकारी विनय खड्काका अनुसार सामान्य अवस्थामा दैनिक ५ सयदेखि ६ सय जनासम्म खोप लगाउन आउने गरेकामा हाल यो संख्या बढेर ८ सयको हाराहारी पुगेको छ।
विशेषगरी सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा लगायत जिल्लाबाट खोप लगाउन काठमाडौं आउनेको संख्या बढेको उनले बताए।
अस्पतालले आफ्नै व्यवस्थापनमा केही परिमाणमा खोप उपलब्ध गराइरहेको र खरिद प्रक्रिया पनि अगाडि बढाएको उनले जानकारी दिए।
गरिब वर्ग बढी मारमा
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार रेबिज खोपको अभावले सबैभन्दा बढी असर निम्न आय भएका नागरिकलाई परेको छ।
उनले आर्थिक अवस्था राम्रो भएकाहरूले निजी क्षेत्र वा अन्य माध्यमबाट खोप प्राप्त गर्न सक्ने भए पनि गरिब र दुर्गम क्षेत्रका नागरिकले बढी समस्या भोग्नुपरेको बताए। रेबिज जस्तो शतप्रतिशत ज्यानै जाने रोगसँग सम्बन्धित खोपको अभावलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ।
रेबिजबाट एक जनाको मृत्यु
यसैबीच गत शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक बिरामीको रेबिजका कारण मृत्यु भएको छ।
अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार चन्द्रागिरि निवासी ४८ वर्षीय पुरुषलाई नेपाल र भारतमा गरी दुई पटक कुकुरले टोकेको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।
स्वास्थ्यकर्मीहरूका अनुसार रेबिजको संक्रमण देखिएपछि उपचार प्रभावकारी हुँदैन। त्यसैले कुकुर, बिरालो वा अन्य शंकास्पद जनावरले टोकेपछि तुरुन्त स्वास्थ्य संस्थामा पुगेर खोप लगाउनु नै ज्यान जोगाउने सबैभन्दा प्रभावकारी उपाय हो।