काठमाडौं – नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) बाट खटिएको टोलीले असार ९ गते मंगलबार चन्द्रागिरी नगरपालिका–८ बाट चेतना (चेतना एएम) पौडेललाई पक्राउ गर्यो।
ब्यूरोले त्यसको भोलिपल्ट अर्थात असार १० गते प्रेस विज्ञप्ति जारी गदै पौडेललाई पक्राउ गरिएको जानकारी सार्वजनिक गर्यो।
ब्यूरोको प्रेस विज्ञप्तिको मुख्य हेडलाइन नै ‘गैरकानुनी रुपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ’ भन्ने थियो। त्यसपछि अन्य विवरणहरु विज्ञप्तिमा उल्लेख छ। सोही विज्ञप्तिपछि धेरै सञ्चार माध्यम र सामाजिक सञ्जालमा ‘नक्कली डाक्टर पक्राउ’ शिर्षकमा समाचार र जानकारीहरु आउन थाले।
किन पक्राउ गर्यो सिआइबीले?
सिआइबीले विज्ञप्तिमा पौडेललाई पक्राउ गर्नुको कारण खुलाएको छ। विज्ञप्ति अनुसार सिआइबीले पौडेलविरुद्ध नेपाल मेडिकल काउन्सिलको छानबिन प्रतिवेदन सहितको उजुरी र त्यसपछि सिआइबीको प्रारम्भिक अनुसन्धानपछि पक्राउ गरिएको उल्लेख छ।
सिआइबीमा मेडिकल काउन्सिलले बुझाएको प्रतिवेदनमा पौडेलले आधुनिक चिकित्सा विज्ञानको शैक्षिक योग्यता नलिएको तर उनी आधुनिक चिकित्सा निदान उपचारमा संलग्न रहेको, बिरामीलाई आधुनिक औषधि सिफारिस गरेको प्रेस्क्रिप्सन फेला परेको, आधुनिक चिकित्सा विज्ञान पढेका चिकित्सकले चलाइरहेको औषधि हटाउनेदेखि नयाँ औषधि सिफारिस गर्ने जस्ता कामहरु गरेको फेला परेको उल्लेख छ। काउन्सिलले आधुनिक चिकित्सा निदान उपचार गरेको र औषधि प्रेस्काइब गरेको प्रमाणसहितको प्रतिवेदन सिआइबीमा बुझाएको छ।
सिआइबीले सोही प्रमाण र आफ्नो प्रारम्भिक अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।
सिआइबीका प्रवक्त एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पौडेललाई अदालतबाट म्याद थपको अनुमति लिइ मुलुकी अपराध संहिता २०७४ को इलाज सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
के छ इलाज सम्बन्धी कसुरमा ? के हुन्छ सजाय?
मुलुकी अपराध संहित २०७४ को परिच्छेद १९ मा इलाजसम्बन्धी कसुरको व्यवस्था रहेको छ। दफा २३० देखि २४० दफासम्म इलाजसम्बन्धी कसुर र सजायको व्यवस्था रहेको छ।
इलाजसम्बन्धी दफा २३० मा इजाजत प्राप्त नगरेका व्यक्तिले इलाज गर्न नहुने विषय रहेको छ।
उपदफा १ मा ‘चिकित्सा सम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेपछि कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट इलाज गर्नको लागि इजाजत प्राप्त गरेको व्यक्तिले बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरीरको कुनै अङ्गको चिरफार गर्न, कुनै प्रकारको औषधि खुवाउन वा खान सिफारिस गर्न वा अन्य कुनै प्रकारले इलाज गर्न हुँदैन’ भन्ने उल्लेख छ।
यदी उक्त कार्य गरेको पाइएमा सोही दफाको उपदफा ३ मा सजायको व्यवस्था पनि गरिएको छ। ‘उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ’ उपदफा ३ मा लेखिएको छ।
यस्तै उपदफा ४ मा ‘उपदफा (१) विपरीत हुने गरी चिकित्सा सेवा दिँदा, चिरफार गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान मर्न गएमा कसूरदारलाई जन्म कैद हुनेछ र अङ्गभङ्ग भएमा पन्ध्र वर्षसम्म कैद हुनेछ’ भन्ने सजायको व्यवस्था रहेको छ।
यस्तै दफा २३१ मा बदनियत चिताई इलाज गर्न नहुने, दफा २३२ मा लापरबाही वा हेलचक्य्राइँ गरी इलाज गर्न नहुने, दफा २३३ मा मञ्जुरी विना मानव शरीरमा परीक्षण गर्न नहुने, दफा २३४ मा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न नहुने, दफा २३५ मा औषधिमा मिसावट गर्न वा मिसावट गरेको औषधि बिक्री गर्न नहुने, दफा २३६ मा म्याद नाघेको वा पूर्व सावधानी नलिई औषधि बिक्री, वितरण गर्न नहुने, दफा २३७ मा एक औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्न नहुने, दफा २३८मा झुठ्ठा प्रतिवेदन दिन नहुने लगायतका कसुर र सजायको व्यवस्था रहेको छ।
पौडेलेको शैक्षिक योग्यता के हो ?
पौडेलको परिवार र उनीसँग सम्बन्धित रहेको संघसस्थाहरुका अनुसार पौडेलले भारतबाट प्राकृतिक तथा योग विज्ञानका विषयमा ब्याचलर आफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेस (बीएनवाईएस) अध्ययन पुरा गरेकी छिन्।
पौडेलले भारतको बेङ्गलुरुस्थित राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय (आरजीयूएचएस) अन्तर्गत एसडीएम कलेज अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेजबाट बीएनवाईएस अध्ययन पूरा गरेकी हुन्।
उक्त कार्यक्रम पूर्णकालीन व्यावसायिक अध्ययन भएको र यसमा विस्तृत शैक्षिक अध्ययन, क्लिनिकल तालिम तथा अनिवार्य इन्टर्नसिप समावेश हुन्छ।
नेपाल योग तथा प्राकृतिक चिकित्सा संघका अनुसार बीएनवाईएस अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त साढे पाँच वर्षे चिकित्सा शिक्षा हो । यस विधाका भारतमा ७० भन्दा बढि मेडिकल कलेजहरु छन् । नेपालमा समेत नेपाल संस्कृत विश्वविद्यालय र मनमोहन प्राविधिक विश्ववविद्यालयले बीएनवाईएस कोर्ष सिनेटले पास गरिसकेका छन्।
पौडेल नेपालमा कहाँ दर्ता छिन्?
भारतबाट अध्ययन गरेर फर्किएपछि पौडेल नेपालको नियामक निकाय नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएकी छिन्। उनले अध्ययन गरेको विषयका जनशक्ति सोही परिषदमा दर्ता हुँदै आइरहेका छन्। पौडेलको शैक्षिक योग्यता नेपालमा पनि मान्य छ। उनको बीएनवाईएस डिग्रीले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गरेको छ।
पौडेललाई नक्कली चिकित्सकका रुपमा चित्रण गर्दै पक्राउ गरेपछि नेपालको योग तथा प्राकृतिक चिकित्सक संघले विज्ञप्ति निकालेर त्यसको विरोध गरेको छ। संघले भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएस, बीएचएमएस, बीएएमएस र बीएनवाईएस लगायत स्वास्थ्य विज्ञानका विभिन्न विधामा स्नातक उपाधि प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गर्ने शैक्षिक प्रमाणपत्र तथा दीक्षान्त प्रमाणपत्रमा नामको अगाडि डा। उल्लेख गर्ने गरेको पनि विज्ञप्ति मार्फत जानकारी गराएको छ।
'विश्वविद्यालयले यी सबै योग्यताधारीलाई डा. का रूपमा सम्बोधन गरिरहेको अवस्थामा नेपालमा अन्य चिकित्सा विधाले सोही विश्वविद्यालयले दिएको डाक्टर डिग्री प्रयोग गरिरहँदा बीएनवाईएस स्नातकलाई डाक्टर नमान्ने आधार के हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्दछ । भारतको राज्यसभाले पनि बीएनवाईएस डिग्रीधारीहरुले डा.को उपाधि प्रयोग गर्न पाउने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
संघका अध्यक्ष डा जनक बहादुर बस्नेतले बीएनवाईएस कुनै छोटो तालिम वा सामान्य प्रमाणपत्र कार्यक्रम नभई विश्वविद्यालयस्तरको पूर्णकालीन स्वास्थ्य विज्ञानसम्बन्धि व्यावसायिक अध्ययन भएको जानकारी दए ।
‘उहाँ नेपालको एउटा काउन्सिलमा दर्ता वाला दक्ष जनशक्ति हो, नक्कली होइन,’ बस्नेतले भने ‘हाल विद्यमान कानुन बमोजिम सरकारले जहाँ दर्ता हुनु भनेको छ, त्यहाँ दर्ता भएकाले नक्कली डाक्टर भन्न मिल्दैंन। ’
नेचुरोप्याथी चिकित्सक नेपाल स्वास्थ्य व्यवसायी काउन्सिलमा दर्ता हुने भएकोले उनीहरुले डाक्टर नै लेख्न पाउँदैनन् भन्नुमा आफूहरुको असहमत रहेको उनी बताउँछन् । अन्य डिग्री जस्तै नेचुरोप्याथीको पनि साढे ५ वर्षको मेडिकल कोर्ष हुने उनले जानकारी दिए ।
भारतको प्राकृतिक चिकित्सा तथा योग स्नातक चिकित्सक संघ (इन्डियन नेचुरोप्याथी एन्ड योग ग्राजुएट्स मेडिकल एसोसिएसन) आईएनवाईजीएमएले पनि बीएनवाईएस चेतना पौडेल पक्राउ परेको घटनाप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ।
संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पौडेललाई ‘नक्कली प्रमाणपत्र’ प्रयोग गरेको तथा ‘डा,’ उपाधि प्रयोग गरेको आरोपमा पक्राउ गरिएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।
मान्यता प्राप्त विश्वविद्यालयले व्यावसायिक पाठ्यक्रम पूरा गरेपछि प्रदान गर्ने शैक्षिक उपाधि भएकाले यसको प्रयोगलाई नक्कली वा अवैध भन्न नमिल्ने संघको भनाइ छ। व्यावसायिक अभ्यासको नियमन सम्बन्धित परिषद्ले गर्ने भए पनि ‘डा.’ उपाधि भने विश्वविद्यालयबाट प्रदान हुने शैक्षिक मान्यता भएको विज्ञप्तिमा उल्लेख छ।
विवाद के हो ?
सिआइबी र नेपाल मेडिकल काउन्सिलका अनुसार पौडेलका विषयमा डिग्रीको विवाद भन्दा पनि उनले एउटा शैक्षिक योग्यता प्राप्त गरेर आधुनिक चिकित्सा निदान, उपचार र औषधि प्रेस्काइब गरेको विषय मुख्य समस्या हो।
पौडेलको विषय अदालतमा विचाराधीन मुद्धा रहेकोले यसमा काउन्सिलले बोल्न नमिल्ने नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डे बताउँछन् ।
‘यो विषय अदालतमा पुगेको छ, त्यसकारण अदालतमा विचाराधीन मुद्धामा कोही पनि बोल्न मिल्दैन,’ उनले भने, ‘अब अदालतबाट के आउँछ त्यो हेरेर मात्र थप प्रतिक्रिया दिने छौं।’
योग तथा नेचुरोप्याथी संघका अध्यक्ष बस्नेत चेतनाको विषय अदालती प्रक्रियामा गइसकेपछि कानुनले गरेको व्यख्या आफूहरुलाई मान्य हुने बताउँछन्।
आधुनिक औषधि प्रेस्काइब गरेको विषयमा जिज्ञासा राख्दा उनी भन्छन्, ‘जहाँसम्म आधुनिक औषधि सिफारिस गरिएको भन्ने विषय छ। त्यो अधिकार उहाँलाई छैन। उहाँबाट त्यस्तो अभ्यास भएको भए त्यो भने गलत हो।’ उनले डिग्रीलाई अवैधानिक र नक्कली भनिएकोमा संघको आपत्ति रहेको पनि बताए।
स्वास्थ्य व्यवसायी परिषद्का सूचना अधिकारी शितल बस्नेत नेचुरोप्याथी कोर्ष पढेकाहरुलाई डाक्टर लेख्न दिने वा नदिने भन्ने विषय हालसम्म पनि स्वास्थ्य मन्त्रालयमा छलफलकै क्रममा रहेको बताउँछन्। उनले हालको परिषदको ऐन अनुसार नेचुरोप्याथीले डाक्टर लेख्न नमिल्ने बताउँछन् ।
नेपाल मेडिकल काउन्सिल ऐन २०२० अनुसार चिकित्सक भन्नाले आधुनिक चिकित्सा प्रणाली ‘एलोपेथिक’ अन्तर्गत मान्यता प्राप्त संस्थाबाट चिकित्साशास्त्रमा स्नातक वा सोभन्दा माथिल्लो उपाधि प्राप्त गरी काउन्सिलमा दर्ता भएको व्यक्तिलाई बुझिने व्यवस्था छ ।