विश्वकपको सिजनमा तपाईँ हामीमध्ये धेरै जना रातिको समयमा पनि निद्राको पर्वाह नगरी फुटबल हेरिरहेका हुन्छौँ। यतिबेला मानिसहरू विभिन्न देश तथा खेलाडीको समर्थनमा खुलेर जर्सीसमेत लगाइरहेका छन्।
खेलकुद स्वास्थ्यका दृष्टिकोणले एकदमै फाइदाजनक पनि मानिन्छ। नियमित खेलकुदले शारीरिक तन्दुरुस्ती, बलियो मांसपेशी, स्वस्थ मुटु बनाउनुका साथै मानसिक तनाव पनि कम गर्न सहयोग पुर्याउँछ। रोग प्रतिरोधी क्षमता बढाउन तथा आत्मबल बढाउन पनि खेलकुद महत्त्वपूर्ण मानिन्छ।
राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीको रुचि बाल्यकालदेखि नै खेलकुदमा थियो। आफू पढेको अर्घाखाँचीको विद्यालयमा फुटबल खेल्ने मैदान नै नभएकाले उनी बाल्यकालमा भने ब्याडमिन्टन र भलिबल खेल्ने गरेको बताउँछन्।
उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन गर्दाको समयमा भने एउटै गेम पनि नछुटाईकन हेर्ने गर्थे। त्यसपछि भने कामको व्यस्ततामा पनि सकेसम्म समय मिलाएर फुटबल हेर्ने गरेको उनी बताउँछन्। नकआउट, सेमिफाइनल तथा फाइनलसम्म पुग्दा भने सकभर नछुटाई हेर्ने योजना रहेको उनले बताए।
'विश्वकप चलिरहेको बेला भ्याएसम्म त हेर्छु, तर त्यति धेरै उत्साहित भने छैन,' डा. मरासिनीले भने, 'म विगतदेखि नै ब्राजिलको टिमलाई सपोर्ट गर्दै आइरहेको छु।'
ब्राजिलपछिको उनको समर्थन जर्मनीलाई छ। तर जर्मनीले भने यसपटक उत्कृष्ट १६ मा नै नपर्दै हारिसकेको छ।
'परिवारका अन्य सदस्यहरू अर्जेन्टिनाको समर्थक भए पनि म भने विगतदेखि नै ब्राजिलको समर्थक,' उनले सुनाए, 'फुटबल मन पर्ने खेलमा पर्ने भए पनि रातिको समय भएकाले समय व्यवस्थापन गर्न सकिएको छैन।'
साँझ १० बजे र बिहानको समयमा भएको खेल हेरे पनि मध्यराति भएको खेल भने नहेरेको उनले बताए।