काठमाडौं– चितवनको भरतपुरमा रहेको जाइडिन बायोटेकले नेपालमा नै पहिलो पटक क्यान्सरको औषधि बनाउने कच्चा पदार्थको उत्पादन सुरु गरेको छ। नेपाली जडिबुटी लौठसल्लाको प्रयोग गरी क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ निर्माण गरी भारतमा समेत निर्यात गरिएको छ।
कच्चा पदार्थ उत्पादन भइसकेको तथा आगामी ६ देखि ८ महिनाभित्र ट्याब्लेट र इन्जेक्सन उत्पादन गर्ने जाइडिन बायोटेकका अध्यक्ष जीनारायण क्षेत्रीले बताए। ट्याब्लेट र इन्जेक्सन उत्पादनको तयारीका लागि भवन बनिसकेको तथा मेसिनहरू जडानको क्रममा रहेको उनले जानकारी दिए।
उक्त कच्चा पदार्थको नमुना परीक्षणका लागि भारत पठाइएकोमा पास भइसकेको क्षेत्रीको दाबी छ। ‘भारतले गुणस्तर राम्रो छ भनेर हाम्रो कच्चा पदार्थ लिन थालेको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय मान्यता पाउने गरी सुरक्षा र प्रविधि प्रयोग गरेका छौँ।’
जाइडिन बायोटेकले लाइसेन्स लिएर काम गर्न थालेको करिब ३ वर्ष भएको छ। १३० करोडको लगानीमा कम्पनी सञ्चालनमा ल्याइएको क्षेत्री बताउँछन्। क्यान्सर रोगका लागि आवश्यक कच्चा पदार्थ र झोल, ट्याब्लेट तथा इन्जेक्सन उत्पादन गर्ने लक्ष्यसहित कम्पनी स्थापना भएको हो। क्यान्सरको उपचारमा प्रयोग हुने २०–२५ थरीका औषधि उत्पादन कम्पनीले गर्ने उनी बताउँछन्।
नेपालमा औषधि निर्माणका लागि आवश्यक कुनै कच्चा पदार्थ उत्पादन नहुने भएकाले कच्चा पदार्थ उत्पादन गर्ने पहिलो उद्योग जाइडिन बायोटेक बनेको उनको दाबी छ। ३ वर्षअगाडि औषधि व्यवस्था विभागबाट उत्पादन अनुमति लिएर उत्पादन कार्यको सुरुवात गरिएको उनले जानकारी दिए।
करिब २ बिघाभन्दा बढी जग्गामा उद्योग सञ्चालन गरिएको छ। नेपालमा कच्चा पदार्थ उत्पादन नहुने भएकाले औषधि व्यवस्था विभागले पहिलोपटक कार्यविधि बनाएर जाइडिनलाई कच्चा पदार्थ उत्पादनको अनुमति दिएको थियो। औषधि व्यवस्था विभागलाई कार्यविधि बनाउन १ वर्ष लागेको थियो।
हालसम्म करिब १० केजी क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरिएको अध्यक्ष क्षेत्रीले बताए। उक्त कच्चा पदार्थको भारतमा नेपाली रुपैयाँ ८–१० लाख पर्ने उनले जानकारी दिए।
आगामी दिनमा उत्पादन बढाएर बंगलादेश, पाकिस्तान लगायतका मुलुकमा पनि क्यान्सरको कच्चा पदार्थ निर्यात गर्ने योजना रहेको अध्यक्ष क्षेत्री बताउँछन्। वार्षिक रूपमा ३ हजार किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने उनको दाबी छ।