काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निर्देशन बमोजिम देशका विभिन्न सरकारी अस्पतालहरूमा रहेका फार्मेसीहरुको नाम धमाधम परिवर्तन भइरहेका छन्।
मन्त्रालयको निर्देशनपछि अस्पतालमा सञ्चालनमा रहेका 'अस्पताल फार्मेसी'को नाम फेर्दै 'सुलभ फार्मेसी' राख्न सुरु भएको हो।
मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकको निर्णय अनुसार राज्यको शासकीय सुधार योजना बमोजिम अस्पतालहरुमा 'सुलभ फार्मेसी' सेवा सञ्चालनमा ल्याउने उल्लेख थियो। सोही अनुसार सरकारले अस्पतालहरुमा सुलभ फार्मेसी सञ्चालन गरेको देखाउन पहिले नै सञ्चालनमा रहेका अस्पताल फार्मेसीको नाम फेरेको हो।
स्वास्थ्य मन्त्रालयमा आएको विवरण अनुसार अहिलेसम्म वीर, ट्रमा, सरुवा रोग अस्पताल, नारायणी अस्पताल, कान्ति, कोशी लगायतका १७ वटा अस्पतालमा रहेका फार्मेसीको बोर्ड परिवर्तन भएर 'सुलभ फार्मेसी' भएका छन्। मन्त्रालयले देशभरिका सरकारी अस्पतालहरूमा नाम परिवर्तन गर्न र फार्मेसी नै नभएका अस्पतालमा मार्फेसी सञ्चालनमा ल्याउन निर्देशन दिइसकेको छ। फार्मेसी नै नभएका अस्पतालहरुमा फार्मेसी खोल्न यसअघिकै सरकारले निर्देशन दिइसकेका थिए। र सोही अनुसार अस्पतालहरुले फार्मेसी सञ्चालनको काम अगाडि बढाइसकेका थिए।
बजार मूल्यभन्दा निकै कम मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने, दक्ष फर्मासिष्टबाट सेवा दिने तथा औषधिको उचित प्रयोगलाई सुनिश्चित गर्ने लक्ष्यसहित २०७२ सालमा अस्पतालहरुमा आफ्नै फार्मेसी सञ्चालनमा हुनुपर्ने निर्देशिका बनेको थियो। तर उक्त निर्देशिका कार्यान्वयनमा भने आउन सकेको थिएन्। २०७३ सालमा स्वास्थ्य मन्त्री बनेका गगन थापाले अस्पतालहरुलाई बजेटको व्यवस्था गर्दै अस्पताल फार्मेसी सञ्चालनमा ल्याउन लगाएका थिए। तत्कालिन स्वास्थ्य मन्त्री थापाको निर्देशन र बजेट व्यवस्थापन भएपछि वीर अस्पतालबाट अस्पताल फार्मेसी सेवा सुरु भएको थियो।
अस्पताल फार्मेसी सेवा सञ्चालनमा आएपछि तत्कालिन स्वास्थ्य मन्त्री थापाले 'बिरामी तथा सेवाग्राहीहरूलाई सुलभ एवं गुणस्तरीय सेवा पुर्याउन अस्पतालहरूमा अनिवार्य रुपमा आफ्नै फार्मेसी अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको' प्रतिक्रिया दिएका थिए। उनले केन्द्रीयदेखि जिल्ला अस्पतालसम्मलाई निश्चित बजेट विनियोजन गर्दै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएका थिए। सोही अनुसार देशभर रहेका अस्पतालहरूले हाल आफ्नै फार्मेसी सञ्चालन गरिरहेका छन् र हालको नयाँ सरकारले काम उस्तै राखेर तिनै अस्पताल फार्मेसीहरूको नाम मात्र फेरेर सुलभ फार्मेसी राख्न थालेको हो।
देशभरमा सञ्चालनमा रहेका अस्पताल फार्मेसीहरुले कम मूल्यमा औषधि उपल्बध गराउँदै करोडौं आम्दानी समेत गरिरहेका छन्।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका फार्मेसी इन्चार्ज कृष्ण कुमार यादवका अनुसार अस्पतालले औषधि खरिदमा दिने छुट औषधि अनुसार फरक हुन्छ र एमआरपीमा औसत ४० देखि ५० प्रतिशतसम्म बाहिरका फार्मेसीभन्दा सस्तो दिने गरिएको छ। औषधि अनुसार कुनैमा ६०, ३० वा २५ प्रतिशत पनि छुट हुनसक्ने र प्रसूति गृहमा अस्पताल फार्मेसी सेवा निर्देशिका अनुसार टेन्डर प्रक्रियामार्फत आएको मूल्यमा २० प्रतिशत मात्रै जोडेर औषधि बिक्री गरिने उनले बताए।
उनका अनुसार अस्पतालले वार्षिक रूपमा करिब १ करोड रुपैयाँभन्दा बढी नाफा कमाइरहेको छ ।
त्यस्तै, निजामती कर्मचारी अस्पतालमा सर्जिकल औषधि बाहिरको फार्मेसीभन्दा १० देखि २० प्रतिशतसम्म सस्तो हुने र हाई मलिक्यूल तथा इन्जेक्टेबल औषधिमा १६ देखि २० प्रतिशतसम्म छुट हुने अस्पताल फार्मेसी इन्चार्ज दीपा ढुंगानाले जानकारी दिइन्।
निजामती अस्पतालले यस आर्थिक वर्षमा ३० करोड बराबरको औषधि बिक्रीबाट करिब ७ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ।
राष्ट्रिय ट्रमा सेन्टरकी फार्मेसी इन्चार्ज रुपा रानाका अनुसार सर्जिकल प्रयोजनमा प्रयोग हुने औषधिमा करिब ७० प्रतिशतसम्म र अधिकांश औषधिमा ५० प्रतिशतसम्म छुट हुने गरेको छ भने कम मात्रै बिक्री हुने औषधिमा ३० प्रतिशत मात्रै छुट हुन्छ। ट्रमा सेन्टरले पनि अस्पताल फार्मेसीबाट यस आर्थिक वर्षमा करिब २७ करोडको औषधि बिक्री गरी करिब ५ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।
वीर अस्पताल, गंगालाल अस्पताल, भरतपुर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग लगायतका अस्पतालहरुले समेत वार्षिक करोडौं नाफा कमाइरहेको बताएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्त डा समीर कुमार अधिकारी पनि अस्पताल फार्मेसी र सुलभ फार्मेसी दुई फरक फरक फार्मेसी नभएर पुरानो फार्मेसीको नाम परिवर्तन गरिएको स्वीकार गर्छन्। 'सुलभ फार्मेसी भनेर नयाँ फार्मेसी खुलेको होइन। पहिलाकै फार्मेसीको नाम फेरिएको हो,' उनले भने, 'यसअघि अस्पताल फार्मेसी नाम हुँदा कम मूल्यमा औषधि पाउने स्थान हो कि होइन भन्नेमा सर्वसाधारणमा स्पष्टता नभएकाले बुझाइमा स्पष्टता ल्याउनका लागि सुलभ फार्मेसीको अवधारणा ल्याइएको हो।'
प्रधानमन्त्रीको चाहनामा फेरियो नाम!
स्वास्थ्य मन्त्रालयका उच्च तहका अधिकारीहरुका अनुसार अस्पताल फार्मेसीको नाम मन्त्रालयको चाहना भन्दा पनि प्रधानमन्त्री वालेन्द्र शाह बालेनको चाहना अनुसार परिवर्तन भएका हुन्। शाह काठमाडौं महानगरको मेयर हुँदा सुलभ फार्मेसी सेवा सञ्चालन गर्ने अवधारणा अगाडि बढाएका थिए। शाहले केही संस्थामा सुलभ फार्मेसी नाममा नै सेवा सुरु गरेका थिए। 'प्रधानमन्त्री भएर आएपछि उहाँले सोही नामलाई विस्तार गर्दै देशव्यापी बनाउन लागेका हुनसक्छ,' मन्त्रालयका एक कर्मचारीले भने।
औषधिविज्ञ डा. रमेश शर्मा पौडेल अहिले सरकारले सञ्चालनमा ल्याएको भनेको सुलभ फार्मेसी सेवा र यसअघि अस्पतालमा सञ्चालन हुँदै आएको फार्मेसीमा खासै भिन्नता नरहेको बताउँछन्।
'सरकारले दुई दिनमै बोर्ड परिवर्तन गरेर पहिलेकै फार्मेसीलाई सुलभ फार्मेसी बनाएको मात्र हो,' उनले भने।