काठमाडौं- पछिल्लो समय काठमाडौं उपत्यकाका प्रमुख तीनवटै जिल्लामा बर्ड फ्लु सङ्क्रमण उच्च देखिएको छ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हाल काठमाडौं, ललितपुर र भक्तपुरमा बर्ड फ्लु सङ्क्रमणको दर उच्च छ। विभागले रोग पुष्टि भएका जिल्लाका ७२ वटा फार्मका पन्छीहरू नष्ट गरिसकेको छ। उपत्यकामा बर्ड फ्लु सङ्क्रमण बढेसँगै कुखुराको मासु र अण्डा खान मिल्छ कि मिल्दैन भन्नेबारे आम नागरिकमा जिज्ञासा र त्रास बढ्दो छ।
अण्डा तथा मासु लगायतका खाद्य पदार्थमा बर्डफ्लुको भाइरस आउन सक्ने पशु चिकित्सक डा. नवराज श्रेष्ठ बताउँछन्। यद्यपि, ७० देखि ७५ डिग्री सेल्सियस तापक्रममा नै यो भाइरस नष्ट हुने उनले जानकारी दिए। 'यो भाइरस तातो सहन नसक्ने खालको हुन्छ, ७० देखि ७५ डिग्री सेल्सियसमा राम्रोसँग पकाइयो भने पूर्ण रूपमा नष्ट हुन्छ,' डा. श्रेष्ठले भने, 'त्यसैले राम्रोसँग पकाएको अण्डा तथा मासु खान कत्ति पनि डराउनुपर्दैन।' पछिल्लो समय लेयर्सको तुलनामा ब्रोइलर कुखुरामा बर्ड फ्लु सङ्क्रमण कम देखिएकाले ब्रोइलरको मासु राम्रोसँग पकाएर निर्धक्क खान उनले सुझाव दिए।
राम्रोसँग पकाइएको मासु र अण्डाबाट मानिसमा बर्ड फ्लु भाइरस नसर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि पुष्टि गर्छन्। राम्रोसँग पकाइएको माछामासु निर्धक्कसँग खान सकिने जानकारी दिँदै उनले काँचो माछामासुको बिक्रीवितरण तथा ढुवानी गर्ने व्यक्तिहरूले भने विशेष सावधानी अपनाउनुपर्ने र काम गरिसकेपछि साबुनपानीले राम्ररी हात धुनुपर्ने बताए।
पशुपन्छीको प्रत्यक्ष सम्पर्कमा रहने कृषक, ढुवानीकर्ता र बिक्रेताहरू बर्ड फ्लु सङ्क्रमणको उच्च जोखिममा रहने भएकाले यस क्षेत्रमा कार्यरत सम्पूर्णलाई सुरक्षित भएर मात्र काम गर्न डा. पुनको सुझाव छ।
बर्ड फ्लु के हो र कसरी सर्छ?
बर्ड फ्लु पन्छीहरूमा लाग्ने अति सङ्क्रामक रोग हो। इन्फ्लुएन्जा ‘ए’ भाइरसका कारण कुखुरा, हाँस, टर्कीजस्ता घरपालुवा तथा जङ्गली चराहरूमा यो रोग फैलिन्छ। नेपालमा हालैका दिनहरूमा कोशी प्रदेशबाट सुरु भएको बर्डफ्लुको प्रकोप काठमाडौँ उपत्यकासहित १० जिल्लामा फैलिएको छ। यसलाई नियन्त्रण गर्न सरकारले द्रुत गतिमा आकस्मिक अभियानहरू सञ्चालन गरिरहेको छ।
सर्ने माध्यम (पन्छीबाट पन्छीमा):
सङ्क्रमित चराको र्याल, सिँगान, दिसा (सूली), दाना, अण्डा तथा दूषित पानीको माध्यमबाट यो रोग अर्को चरामा द्रुत गतिमा सर्छ।
मानिसमा सर्ने जोखिम:
सङ्क्रमित पन्छीको मासु वा अण्डा राम्ररी नपकाई खाएमा, वा सङ्क्रमित पन्छीको प्रत्यक्ष सम्पर्कमा आएमा यो रोग मानिसमा पनि सर्न सक्छ।
बर्डफ्लुका लक्षणहरू
पन्छीमा देखिने लक्षण: सुस्त हुने, दानापानी खान छोड्ने, प्वाँख फुलाउने, अण्डा उत्पादनमा एक्कासि कमी आउने, कुखुराको टाउको, सिउर र लोती सुन्निने वा निलो रङको हुने, स्वाँ–स्वाँ गर्ने, श्वास फेर्न गाह्रो हुने र अचानक मर्ने।
मानिसमा देखिने लक्षण: उच्च ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने वा निमोनियाको समस्या देखिने, मांसपेशी, घाँटी र पेट दुख्ने, अत्यधिक थकान महसुस हुने, बान्ता आउने वा पखाला लाग्ने।
बच्ने उपायहरू
कुखुरा वा हाँसको मासु सेवन गर्दा ७० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा राम्ररी पकाएर मात्र खानुहोस्। आधा पाकेको मासु र काँचो अण्डा (हाफ बोइल) नखानुहोस्।
मरेका वा बिरामी चराहरू नछुनुहोस् र तिनको सम्पर्कबाट टाढै रहनुहोस्।
फार्म वा पन्छीशालामा काम गर्दा पन्जा, मास्क र विशेष पोसाकको प्रयोग गर्नुहोस्।
फार्मभित्र बाहिरी मानिसहरूलाई प्रवेश नदिनुहोस् र कुखुराजन्य वस्तुहरू चलाइसकेपछि साबुनपानीले राम्ररी हात धुनुहोस्।