काठमाडौं – कुनै समय ठूलो घाटाका कारण दुई थरीका औषधि उत्पादनमा मात्रै सीमित रहेको नेपाल औषधि लिमिटेड बिस्तारै नाफामा जान थालेको छ।
जीटुजी प्रणालीमार्फत ९० प्रतिशतभन्दा बढी सरकारी संस्थामा औषधि बिक्री गर्दै आएको लिमिटेड हाल करिब २ करोड रुपैयाँ नाफामा रहेको नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले बताए।
उनका अनुसार विगतमा औषधिको उत्पादन कम हुनुका साथै निजी क्षेत्रमा मात्रै बिक्री हुँदा दिइने ठूलो बोनस र छुट (डिस्काउन्ट) का कारण नेपाल औषधि लिमिटेडले ठूलो घाटा व्यहोर्नुपरेको थियो।
‘विगतमा दुई थरीका मात्रै औषधि उत्पादन हुन्थे। जीटुजीमार्फत बिक्री नहुँदा निजी क्षेत्रमै औषधि पठाउनुपर्थ्यो,’ महाप्रबन्धक पनेरुले भने, ‘निजी संस्थालाई औषधि बिक्री गर्दा बोनस र डिस्काउन्टको दर पनि धेरै दिनुपर्थ्यो।’
हाल लिमिटेडका ९० प्रतिशत उत्पादन जीटुजी प्रणालीमार्फत बिक्री हुने भएकाले नाफा बढ्दै गएको उनले बताए।
आफू महाप्रबन्धक भएर आउनुअघि वार्षिक कारोबार करिब ३ करोड रुपैयाँ मात्रै रहेकोमा हाल १० करोड रुपैयाँ पुगेको उनको दाबी छ।
त्यस्तै, जीटुजीमार्फत कारोबार गर्दा निजी क्षेत्रलाई छुट दिनु नपर्ने भएकाले पनि नाफा बढेको उनले स्पष्ट पारे।
आगामी दिनमा बजारमा बढी माग भएका सुगर, प्रेसरलगायत दीर्घरोगका ११ प्रकारका औषधि उत्पादन गर्ने तयारी भइरहेको उनले जानकारी दिए। ती औषधि उत्पादनमा आएपछि कम्पनीको नाफा अझ बढ्ने उनको विश्वास छ।
ती नयाँ औषधि बजारमा ल्याउन करिब तीनदेखि चार महिना लाग्ने उनले बताए। आगामी वर्ष २० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य रहेको पनेरुको भनाइ छ। उक्त बिक्रीबाट हुने नाफा भने अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको उनले बताए।
३६ प्रकारका अत्यावश्यक औषधि उत्पादनको सरकारी तयारी
नेपाल औषधि लिमिटेडबाट ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी सरकारले गरेको छ।
आगामी दुई वर्षभित्र उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधिसमेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।
अत्यावश्यक औषधिको आपूर्ति सकेसम्म स्वदेशमै उत्पादन गर्ने तयारीमा सरकार रहेको उनको भनाइ छ।
‘निश्चित रूपमा यति नै बजेट विनियोजन भएको भन्ने अवस्था छैन,’ उनले भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नै नेपाल औषधि लिमिटेडको क्षमता विस्तार गर्न निर्देशन भएकाले यो विषय कार्यान्वयनमा जानेमा हामी विश्वस्त छौं।’
तत्कालका लागि नेपाल औषधि लिमिटेडले उत्पादन गरेका औषधि स्वास्थ्य मन्त्रालयले खरिद गर्ने सम्झौता भइसकेको महाप्रबन्धक पनेरुले बताए।
अत्यावश्यक औषधि उत्पादनका लागि बजेट विनियोजन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको भए पनि नेपाल औषधि लिमिटेडलाई कति बजेट विनियोजन हुने हो भन्नेबारे हालसम्म आधिकारिक जानकारी प्राप्त नभएको पनेरुले बताए।
अत्यावश्यक औषधिमध्ये २५ प्रकारका औषधि उत्पादनका लागि बजेट छुट्याइएको भनिए पनि हालसम्म आधिकारिक पत्र प्राप्त नभएको उनले बताए।
‘हामीले २४ करोड रुपैयाँ बजेट माग गरेका छौं,’ उनले भने, ‘केही दिनअघि स्वास्थ्यमन्त्रीसँग छलफल भएको थियो। उहाँ सकारात्मक हुनुहुन्छ।’
हाल १४ प्रकारका उत्पादन बजारमा
कुनै समय एक सय प्रकारका औषधि उत्पादन गरिरहेको नेपाल औषधि लिमिटेडले हाल १४ प्रकारका औषधि उत्पादन गरिरहेको छ। सिटामोल, जीवनजल, फोलिक एसिड, हेमोडायलासिसका लागि आवश्यक तरल पदार्थ, ग्लिसिरिनलगायतका औषधि तथा सामग्री हाल उत्पादन भइरहेको पनेरुले बताए।
सरकारी खरिद ऐनअनुसार निजी औषधि कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्दा विगतमा नेपाल औषधि लिमिटेड घाटामा रहेको उनले बताए।
नेपाल सरकारको स्वामित्वमा रहेको संस्था भएकाले घाटामा रहे पनि लिमिटेडले विगतदेखि नै आधारभूत औषधिको उत्पादन निरन्तर गर्दै आएको उनको दाबी छ।
सिटामोल र जीवनजल नेपाल औषधि लिमिटेडका स्थापित ब्रान्ड हुन्। यद्यपि, निजी औषधि कम्पनीहरूले ठूलो छुट र विभिन्न स्किम उपलब्ध गराएका कारण लिमिटेडको सिटामोलले बजारमा प्रभावकारी प्रतिस्पर्धा गर्न सकेको थिएन।
हाल दुई सत्रमा गरी दैनिक ३ लाख २० हजार ट्याब्लेट सिटामोल उत्पादन भइरहेको छ।