काठमाडौं – पछिल्लो ५५ दिनमा देशभर जापानीज इन्सेफलाइटिसबाट ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार असार र साउन महिनाको तथ्यांक विश्लेषण गर्दा देशभर ४६ जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएको छ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले असार र साउनको तथ्यांकअनुसार जापानीज इन्सेफलाइटिसबाट ९ जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।
उपलब्ध तथ्यांकअनुसार जापानीज इन्सेफलाइटिसबाट सबैभन्दा बढी मृत्यु कोशी प्रदेशमा भएको छ। कोशीमा मात्रै ६ जनाको मृत्यु भएको छ। झापामा ३ जना तथा इलाम, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको विभागको तथ्यांक छ।
यस्तै, मधेश प्रदेशमा ११ जना जापानीज इन्सेफलाइटिसबाट प्रभावित भएका छन्। बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट र सप्तरीमा संक्रमित भेटिएका छन्। मधेश प्रदेशका धनुषा र रौतहटमा १–१ जनाको मृत्यु भएको छ।
यसैगरी लुम्बिनी प्रदेशको दाङमा पनि जापानीज इन्सेफलाइटिसबाट १ जनाको मृत्यु भएको छ।
मृत्यु भएका तथा संक्रमितमध्ये अधिकांशले जापानीज इन्सेफलाइटिसविरुद्धको खोप नलगाएको डा. गौतम बताउँछन्। जापानीज इन्सेफलाइटिसबाट जोगिन खोपलाई प्रमुख सुरक्षात्मक उपायका रूपमा लिइन्छ।
चिकित्सकका अनुसार जापानीज इन्सेफलाइटिस संक्रमित लамखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। तर यो रोग संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन।
त्यसैले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनुका साथै लक्षित उमेर समूहका बालबालिकाले जापानीज इन्सेफलाइटिसविरुद्धको खोप अनिवार्य रूपमा लगाउनुपर्नेमा चिकित्सकहरूले जोड दिएका छन्।
५५ दिनकै अवधिमा ४६ जना प्रभावित हुनु र ९ जनाको मृत्यु हुनुले जापानीज इन्सेफलाइटिसको जोखिमप्रति उच्च सतर्कता अपनाउनुपर्ने देखाएको छ।
के हो जापानीज इन्सेफलाइटिस?
जापानीज इन्सेफलाइटिस भाइरसका कारण लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एक संक्रामक रोग हो। सुँगुर, हाँस जस्ता जनावरलाई टोकेको 'क्युलेक्स' नामक लामखुट्टेले मानिसलाई टोक्दा यो रोग सर्छ। यो रोग विशेषगरी कृषि पेसामा संलग्न मानिसहरूमा बढी देखिने गर्छ।
यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्छ। संक्रमण भएपछि कडा ज्वरो आउने, घाँटी कडा हुने, टाउको दुख्ने, जीउ काम्ने र छारेरोग जस्तै लक्षणहरू देखा पर्छन्।
कसरी जोगिने?
खोप लगाउने।
लामखुट्टेको टोकाइबाट बच्ने (झुलको प्रयोग गर्ने, झ्याल–ढोकामा जाली लगाउने)।
साँझ र बिहानीपख बाहिर निस्कँदा शरीर पूरै ढाक्ने गरी लामो बाहुला भएको लुगा लगाउने।
घरवरिपरि खाल्डाखुल्डीमा पानी जम्न नदिने।
सुँगुर, बँगुर र पन्छी पाल्ने ठाउँलाई घरभन्दा टाढा र सफा राख्ने।
लामखुट्टे भगाउने धुप वा क्रिमको प्रयोग गर्ने।
कडा ज्वरो आउने, टाउको दुख्ने वा बेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्तै अस्पताल जाने।