काठमाडौं– ‘आइसियुमा भर्ना हुने प्रत्येक बिरामी र आइसियु बाहिर बसेका बिरामीका कुरुवा हाम्रा आफन्त हुन्,’ राष्ट्रिय ट्रमा सेन्टरकी आइसियु इन्चार्ज कल्पना कटुवालको मुल मन्त्र हो यो।
यही मन्त्र कल्पना आफ्ना नर्सिङ स्टाफलाई सिकाउँछिन् र बिरामीका आफन्तलाई पनि बुझाउँछिन्।
‘आइसियुमा प्रत्येक बिरामीका लागि एक जना नर्स २४सै घण्टा खटिनुहुन्छ, यहाँ भर्ना भएपछि उहाँ तपार्इंको मात्र होइन, हाम्रो पनि आफन्त हो। बिरामी सोचेर होइन, आफ्नै परिवार सोचेर उहाँको केयर गर्नेछौं,’ कल्पना आइसियु बाहिर चिन्तामा झोक्राइरहेका बिरामी कुरुवालाई काउन्सिलिङ गर्छिन्।
उनको यो कार्यशैलीले आइसियु बाहिर बसेका बिरामी कुरुवाहरुले ढुक्कको श्वास लिन्छन्।
आइसियुमा भर्ना हुने बिरामीसँग भावनात्मक सम्बन्ध राखेर काम गर्नुपर्ने कल्पनाको बुझाइ छ।
‘आइसियुमा भर्ना हुने बिरामीको केयर गर्न बिरामी र बिरामी कुरुवाको भावनासँग जोडिनै पर्छ, भावनात्मक सम्बन्ध नभई हामीले बिरामीलाई केयर गर्न सक्दैनौं,’ कल्पनाले भनिन्, ‘आइसियुमा नयाँ बिरामी आउने बित्तिकै हामी बिरामीका आफन्तलाई काउन्सिलिङ गर्छौं।’
कल्पना आफ्ना मातहतमा काम गर्ने नर्सिङ स्टाफलाई बिरामीको केयरमा कुनै कसर नराख्न निर्देशन दिन्छिन्।
अस्पतालमा ड्युटीको समयमा मात्र होइन, ड्युटी सकेर घर गइसकेको अवस्थामा पनि उनी आफ्नो जिम्मेवारी बिर्सिन्नन्।
बिरामीलाई आवश्यकता पर्दा उनको फोन जुनसुकै समयमा पनि खुला हुन्छ।
‘मेरो ड्युटी समय सकियो भनेर घरमा गएर ढुक्कले बस्न सकिँदैन,’ कल्पनाले भनिन्, ‘बिरामीलाई कुनै समस्या भए रातको समयमा पनि ड्युटीमा खटिने नर्सहरुले फोन गर्नुहुन्छ। फोन उठाएर केके गर्ने भनेर नर्सिङ स्टाफहरुलाई सिकाउँछु।’
विभिन्न समस्याका गम्भिर अवस्थाका बिरामीहरु आइसियुमा भर्ना भएका हुन्छन्। कतिपय बिरामीहरु महिनौंसम्म आइसियुमा उपचारत हुन्छन्। अचेत तथा अर्धचेत अवस्थामा आइसियुमा भर्ना भएका बिरामीलाई आफ्नै आफन्तले जस्तै माया र केयर गर्नुपर्छ भन्ने मान्यता कल्पनाको छ। त्यसैले त दसैं, तिहार जस्ता चाडपर्व तथा बिरामीको जन्मदिनलाई कल्पना र उनी मातहतमा रहेका नर्सिङ स्टाफहरु आइसियुभित्रै विशेष सचेतना अपनाउँदै सेलिब्रेट गर्छन्।
‘दसैं–तिहारमा हामी बिरामीलाई टीका लगाइदिन्छौं, यसरी टीका लगाइदिँदा उहाँहरुका आफन्तको सहमति पनि लिन्छौं,’ नर्स कल्पनाले भनिन्, ‘बिरामीका आफन्तले आइसियुमा भएका बिरामीको जन्मदिनबारे जानकारी दिनुभयो भने केक काटेर जन्मदिन पनि मनाइदिन्छौं, क्रिटिकल अवस्थाका बिरामीले बोल्न नसके पनि त्यसरी सेलिब्रेट गर्दा खुसी भएको भाव व्यक्त गर्नुहुन्छ।’
२०४७ सालमा वीर अस्पतालबाट स्टाफ नर्सको रुपमा प्रवेश गरेकी कल्पनाले बिरामीको केयरमा आफ्नो जीवन समर्पित गरेको ३० वर्ष भइसकेको छ।
कल्पना २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि वीर अस्पतालबाट छुट्टै अस्पतालको रुपमा स्थापना भएको ट्रमा सेन्टरमा आइसियु वार्डमा नर्सिङ इन्चार्जको रुपमा कार्यरत छिन्।
आमा बिरामी भएर वीर अस्पतालमा कुरुवा बस्दा नर्स बन्ने सपना पलायो
२०२७ साल जेठ २८ गते ललितपुर थसिखेलमा जन्मिएकी कल्पनाले ललितपुरको मंगलबजारमा रहेको आदर्श कन्या निकेतन गल्स स्कुलमा पढिन्।
२०४१ सालमा कल्पनाकी आमा बिरामी परेकी थिइन्। कल्पनाकी आमालाई वीर अस्पतालमा ल्याइयो। कल्पनाकी आमालाई थाइरोइडको समस्या थियो। उनलाई मेजर सर्जरी गरेर केही समय अस्पतालमा भर्ना नै गरेर राखियो। त्यतिबेला कल्पना कक्षा ८ मा पढ्दै थिइन्। उनी स्कुल नगई आमालाई अस्पतालमा कुर्न बुबासँगै वीर अस्पतालमा आएकी थिइन्।
त्यतिबेला वीर अस्पताल निकै सुन्दर थियो। आमालाई अस्पतालमा भर्ना गर्दा वीर अस्पताल आएकी कल्पनाले डाक्टर, नर्सले बिरामीको सेवा गरेको देखिन्। शान्त, सफा र सुन्दर वातावरण भएको वीर अस्पताल परिसरमा चिटिक्क परेर ओहोर–दोहोर गरिरहेका नर्सहरुलाई हेर्दै कल्पनाले मनमनै कल्पना गरिन्, ‘म पनि पछि यस्तै नर्स बन्नेछु।’
कल्पनाले २०४३ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरिन्। त्यतिबेला अहिलेको जस्तो इन्टरनेट, फोन, टेलिभिजनको सुविधा थिएन। एसएलसीको नतिजा आएको एक सातापछि गोरखापत्रमा आफ्नो नतिजा हेर्न पाएको कल्पनालाई अझै याद आउछ।
उनले भनिन्, ‘त्यतिबेला अहिलेजस्तो सहज थिएन, गोरखापत्रमा रिजल्ट हेर्नुपर्ने हुन्थ्यो, रिजल्ट भएको एक सातामा गोरखापत्रमा हेरेर प्रथम श्रेणीमा एसएलसी पास भएको थाहा पाएँ।’
न्याम्समै नर्सिङ अध्ययनदेखि ट्रमाको आइसियु इन्चार्जसम्म
एसएलसी पास गरेपछि बाबुआमाले कल्पनाको विवाह गरिदिने योजना बनाएका थिए। तर विवाहअघि नर्स बन्ने आफ्नो सपना रहेको उनले सुनाइन्। आर्मीका जागिरे कल्पनाका बुबा छोरीलाई नर्सिङ पढाउन सुरुमा सहमत थिएनन्। तर कल्पनाले जिद्धि गरेपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा पिसिएल नर्सिङको कोर्ष अध्ययनका लागि भर्ना गरिदिए।
‘एसएलसीपछि म नर्सिङ पढ्ने योजनामा थिएँ, घरमा चाहिँ विहेको कुरा चल्दै थियो,’ नर्स कल्पनाले भनिन्, ‘अहिले विहे गर्दिनँ, नर्सिङ पढ्छु भनेर सुनाएँ, बुबाले सुरुमा मान्नुभएन, पछि छोरीले पढ्छे भने हुन्छ भन्नुभयो।’
२०४४ सालमा पिसिएल नर्सिङ अध्ययनका लागि भर्ना भएकी कल्पनाले नर्सिङ पढ्न खर्च गर्नुपरेन। २०४७ सालमा पिसिएल नर्सिङको कोर्ष पूरा गरी लाइसेन्स निकालेर उनी वीर अस्पतालमा स्टाफ नर्सको रुपमा काम गर्न थालिन्।
उनले स्टाफ नर्सको रुपमा काम गरेर पाएको पहिलो कमाइ आफ्नी आमालाई दिइन्।
‘त्यतिबेला पढ्न खर्च लागेन, पढाइ सकिएपछि पनि सजिलै जागिर पाइयो,’ कल्पनाले भनिन्, ‘पहिला–पहिला भोलेन्टियर राख्ने चलन नै थिएन, पहिलो तलब ११ सय पाएको थिएँ, त्यो पैसा आमालाई दिएँ।’
कल्पनाले २०६६ सालमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गएर एक महिनाको आइसियु स्पेसल ट्रेनिङ पनि लिइन्। ट्रेनिङ सकिएलगत्तै उनले न्याम्समै बिएन पढ्ने अवसर पाइन्।
कल्पनाले २०६८ सालमा वीर अस्पतालमा बिएन नर्सिङ अध्ययन पनि पूरा गरिन्।
२०७२ सालको भूकम्पपछि उनी वीर अस्पतालबाट राष्ट्रिय ट्रमा सेन्टरको आइसियु वार्डमा नर्सङ इन्चार्जको रुपमा कार्यरत छिन्।
३० वर्ष नर्सिङ क्षेत्रमा सक्रिय कल्पना अस्पतालमा आउने बिरामीहरुलाई आफ्नै आफन्तलाई जस्तै माया र हेरचाह गर्छिन्। उनको केयरबाट प्रभावित भएका कतिपय बिरामीहरु कल्पनालाई आफ्नै परिवारका सदस्य जस्तै मान्छन्।
अस्पतालमा भर्ना भएर उपचारपछि घर फर्किएका कतिपय बिरामीहरु फलोअपका लागि अस्पतालमा आउँदा कल्पनाको हालखबर बुझ्न मात्रै भए पनि भेट्न आइपुग्छन्।
उपचार पाएर घर फर्किसकेका बिरामीले पछिसम्म पनि आफूलाई सम्झिँदा कल्पना आफ्नो पेसाप्रति सन्तुष्ट र आनन्द महसुस गर्छिन्।
‘आइसियुमा उपचार पाएर घर फर्किसकेका बिरामी र उनका आफन्तहरु फलोअपमा आउँदा तपाईंको हालखबर बुझ्न यहाँ पनि आएको भन्दै भेट्न आइपुग्नुहुन्छ,’ कल्पनाले भनिन्, ‘बिरामीले पछिसम्म पनि सम्झिरहँदा खुसी र आनन्द लाग्छ। बिरामीको सेवा गर्दा सधैं गर्व लाग्छ।’
बिरामी केयर गर्न कहिल्यै विरक्त लागेन
ट्रमा सेन्टरमा आइसियुमा भर्ना हुने अघिकांश बिरामी अचेत तथा अर्धचेत अवस्थामा हुन्छन्। हेड इन्जुरी, अल्कोहोलिक बिरामीहरु अर्धचेत अवस्थामा नर्सिङ स्टाफलाई थुक्ने, लात्तिले हान्ने गरेका घटना पनि नर्स कल्पनाले भोगेकी छन्। यस्ता बिरामीको केयरमा खटिन धेरै गाह्रो पनि हुन्छ। तर अर्धचेत अवस्थाका बिरामीले गर्ने यस्तो व्यवहार देखेर कल्पना कहिल्यै रिसाइनन्।
‘हेड इन्जुरी भएका, अल्कोहोलिक कतिपय बिरामीले त हामीले लात्तिले हान्छन्, थुकिदिन्छन्,’ कल्पनाले भनिन्, ‘हेड इन्जुरीको केसमा सेन्सलेस हुन्छ, हामीलाई नराम्रो गरेको कुरा उहाँहरुलाई थाहै हुँदैन, यस्तो कुरामा हामी दुःख मान्दैनौं, अनकन्सस बिरामीले गरेको व्यवहारमा दुःख मान्नु पनि हुँदैन।’
बेवारिसे भएर कोही मर्न नपरोस् जस्तो लाग्छ
राष्ट्रिय ट्रमा सेन्टरमा बेवारिसे अवस्थाका बिरामीहरुलाई घाउचोट लागेर वा गम्भीर अवस्थामा प्रहरीले ल्याएका हुन्छन्। त्यस्ता बिरामी देख्दा कल्पना सोच्छिन्, ‘कुनै ठाउँमा हिँड्दै गर्दा दुर्घटना परें भने म पनि यस्तै बेवारिसे अवस्थामा हुन्छु कि!’
बेवारिसे बिरामी उपचारका लागि ल्याइँदा उनीहरुलाई आफन्तलाई जस्तै केयर गर्छिन्। प्रहरीसँग उनको पहिचान खोज्ने प्रयासमा पनि उनी जुट्ने गर्छिन्।
‘कुनै बेवारिसे बिरामी देख्दा मलाई साह्रै दुःख लाग्छ, त्यस्ता बिरामीको पहिचान नखुलेसम्म मलाई छटपटी भइरहन्छ, प्रहरीलाई उनको पहिचानको विषयमा के भइरहेको छ भनेर म सोधिरहन्छु,’ कल्पनाले भनिन्, ‘कुनै पनि बिरामीले बेवारिसे अवस्थामा मर्न नपरास् जस्तो लाग्छ।’
नर्सहरु श्रम शोषणमा परेको सुन्दा दुःख लाग्छ
नर्स कल्पनाले नर्सिङ अध्ययन पूरा गरेपछि कुनै अस्पतालमा भोलेन्टियर भएर काम गर्नुपर्ने अवस्था आएन। उनी नर्सिङ क्षेत्रमा प्रवेश गर्दैगर्दा निकै कम नर्सिङ जनशक्ति भएकाले पनि उनले श्रम शोषण सहनुपर्ने अवस्था थिएन। तर आजभोलि नर्सिङ जनशक्तिले भोलेन्टियर भएर काम गर्नुपर्ने, न्यून तलबमा काम गर्नुपर्ने, श्रम शोषणमा परेको लगायतका घटना आइरहेका हुन्छन्। नर्सिङ जनशक्ति श्रम शोषणमा परेको सुन्दा कल्पनालाई नरमाइलो लाग्छ।
‘हामीले त निःशुल्क पढ्न पायौं, अहिले त लाखौं खर्च हुन्छ। मनैदेखि नर्स बन्छु भनेर यो क्षेत्रमा आउनुभएकाहरुले भोलेन्टियर गर्नुपरेको सुन्दा मलाई दुःख लाग्छ,’ कल्पनाले भनिन्, ‘सरकारले सबैलाई न्याय हुनेगरी नर्सिङ जनशक्तिको तलब तोकिदिनुपर्छ, अस्पतालहरुले पनि सरकारले तोकेको तलब–भत्ता दिनुपर्छ।’
नर्स छुच्चा हुन्छन् भन्ने भ्रम कम हुँदै गएको छ
अस्पतालमा भर्ना भएका बिरामीलाई २४ घन्टा नै नर्सिङ जनशक्तिले सेवा गरिरहेका हुन्छन्। बिरामी उपचारका लागि भर्ना भएपछि सबैभन्दा धेरै समय नर्सिङ जनशक्तिकै निगरानीमा रहन्छन्।
तर, कहिलेकाहीँ नर्सहरुले बिरामीलाई गर्ने व्यवहार र हेरचाह राम्रो नभएका गुनासा पनि आउँछन्। केही घटनाकै आधारमा कतिपय मानिसले त सबै नर्सलाई नै छुच्चा हुन्छन् भन्ने धारणा समेत बनाउँछन्।
तर, वास्तविकतामा नर्सले कहिल्यै पनि बिरामी र तिनका आफन्तलाई नराम्रो व्यवहार गर्न चाहँदैनन्। त्यसैले नर्स छुच्चा हुन्छन् भन्ने सोचाइ गलत भएको कल्पनाको तर्क छ।
कल्पनाले भनिन्, ‘आजभोलि यस्तो भ्रम कम हुँदै गएको छ, हामीले नर्सलाई बिरामीको सेवामा खटाउँदा नै बिरामी र तीनका आफन्तलाई ठूलो स्वर नगर्नु, आफ्नै आफन्तलाई जस्तै केयर गर्नु भनेर सिकाउँछौं।’
नर्सहरुले राम्रो बोली–व्यवहार गरे बिरामी र तिनका आफन्तले पनि आफूहरुलाई सम्मान दिने भएकाले नर्सिङ स्टाफले मनैदेखि सेवाभावले काम गर्नुपर्ने कल्पना बताउँछिन्।
उनले भनिन्, ‘नर्सहरुले पनि हरेक बिरामी, हरेक बिरामी कुरुवा र सबै व्यक्तिलाई सेवाभावले व्यवहार गर्नुपर्छ।’
सेवाभावले नर्सिङ क्षेत्रमा आउनेका लागि यो क्षेत्र राम्रो छ
लामो समयदेखि नर्सिङ क्षेत्रमा सक्रिय कल्पना सेवाभाव लिएर नर्सिङ पढ्न चाहने नयाँ पुस्तालाई नर्सिङ क्षेत्र राम्रो भएको बताउँछिन्। नर्सिङ शिक्षा विदेश जानका लागि मात्र नभएको उनको तर्क छ।
‘सेवाभाव बोकेर नर्सिङ पढ्छु, नर्सिङ क्षेत्रलाई नै आफ्नो करिअर बनाउँछु भनेर सोच्नेका लागि यो क्षेत्र राम्रो छ, नर्सिङ पढ्नूस्,’ कल्पनाले भनिन्, ‘यो क्षेत्र विदेश जाने सहज माध्यम मात्र होइन, नेपालमै पनि नर्सको महत्व दिन प्रतिदिन बढ्दै गएको छ।’