काठमाडौं- बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत नर्स विनिता ताम्राकार आफूले केयर गर्नुपर्ने सबै बिरामीलाई बुबा–आमा भनेर सम्बोधन गर्छिन्।
मुटुको समस्याका कारण अस्पताल भर्ना भएका बिरामीले पनि ताम्राकारलाई आफ्नै छोरीलाई जस्तै विश्वास गर्छन्। उनले गर्ने हेरचाहले बिरामी खुसी र सन्तुष्ट देखिन्छन्।
मुटु सम्बन्धी जटिल बिरामीहरुलाई उनका आफन्तले नर्सिङ स्टाफकै जिम्मामा छाडेका हुन्छन्। त्यसैले पनि सबै बिरामीलाई आफ्नै आमा–बुबा सम्झेर केयर गर्नुपर्ने नर्स ताम्राकारको मान्यता छ।
‘बिरामीका आफन्तले उहाँहरुको केयरको जिम्मा हामीलाई नै दिनुभएको हुन्छ,’ नर्स ताम्राकारले भनिन्, ‘त्यसैले हामीले बिरामीलाई हामी पनि उहाँकै आफन्त हो भन्ने विश्वास दिलाउनुपर्छ।’
आफूले उपचार तथा केयर गरेको बिरामी निको भएको हेर्ने चाहना सबै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई हुन्छ। तर क्रिटिकल अवस्थामा अस्पताल पुगेका कतिपय बिरामीको स्वास्थ्य उपचारकै क्रममा मृत्यु हुन्छ। बिरामीको अकल्पनीय मृत्यु हुँदा बिरामीका आफन्त त शोकमा पर्छन् नै, ती नै बिरामीलाई बचाउन दिनरात उनीहरुको उपचार तथा केयरमा खटिएका चिकित्सक तथा नर्सहरुको मन पनि अमिलो हुन्छ।
बिरामीको मृत्यु हुँदा शोकमा परेका आफन्तलाई काउन्सिलिङ गर्नु स्वास्थ्यकर्मीको दायित्व हुन्छ। तर कहिलेकाहीँ आफूले लामो समयसम्म केयर गरेका बिरामीको अकल्पनीय मृत्युले नर्स ताम्राकार आफैं भावविह्वल हुन पुग्छिन्।
‘आफूले प्रत्यक्ष निगरानी गरिरहेको बिरामीको मृत्यु हुँदा हामीलाई आफ्नै आफन्त गुमाएजस्तो नरमाइलो लाग्छ, कति पटक हामी पनि बिरामीका आफन्तसँगै रोएका छौं,’ ताम्राकारले त्यो पल सम्झिँदै गर्दा उनका आँखा आँसुले भरिएको थियो।
बिरामीको मृत्युले रोएको त्यो पल नर्स ताम्राकारले विस्तृतमा यसरी सुनाइन्ः
कोही बिरामीको मृत्यु हुँदा हामीलाई एकदमै नराम्रो लाग्छ। आफैंले केयर गरिरहेको बिरामीको मृत्यु हुँदा आफन्त नै गुमाएजस्तो लाग्छ। आँखाबाट आसु नै आउँछ। मुटुका बिरामीको मृत्युदर बढी नै छ, कतिपय बिरामीको उपचार गराउँदागराउँदै मृत्यु हुन्छ। युवा अवस्थामा बिरामीको मृत्यु भयो भने रुन मन लाग्छ।
७ वर्ष अगाडिको कुरा हो। त्यतिबेला म सिसियुमा ड्युटी गर्थें। एक जना ५७ वर्षका बुबा हुनुहुन्थ्यो। उहाँलाई हार्ट अट्याकको समस्या थियो। अस्पतालमा ल्याएको २ दिनमा म्यासिभ हार्ट अट्याक भएर उहाँको मृत्यु भयो।
ती बुबाको उपचारको क्रममा मृत्यु भइसकेको थियो, उहाँको छोरीले हाम्रो हात समातेर ‘मेरो बुबालाई बचाइदिनूस्’ भन्दै रुनु भयो। त्यतिबेला त्यहा भएका हामी सबै नर्सिङ स्टाफ उहाँसँगै रोयौं। हार्ट अट्याक भएका कतिपय बिरामी सुरुमा हाँसिरहेका, बोलिरहेका हुन्छन् तर कतिबेला अट्याक आउँछ, मृत्यु हुन्छ थाहा नै हुँदैन। बिरामी कुरुवाले त हाम्रो विश्वासमा छोड्नु भएको हुन्छ। त्यस्तो बेला हामीले बिरामीको अवस्था बाहिर रहेका बिरामी कुरुवालाई जानकारी मात्र दिएका हुन्छौं।
बिरामी निको भएर घर फर्किंदाको खुसी
नर्स ताम्राकार २०६३ सालदेखि बाँसबारीमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत छिन्। सुरुमा उनको ड्युटी सिसियुमा थियो।
सिसियुमा भर्ना हुने बिरामीहरु धेरैजस्तो हार्ट अट्याक भएर स्वास्थ्य अवस्था जटिल भएका हुन्थे। यस्तै आकस्मिक अवस्थामा आउने बिरामीलाई पनि उनीहरुको स्वास्थ्य अवस्था अनुसार अन्य वार्डमा भर्ना गरिन्छ। त्यसैले नर्स ताम्राकारले बिरामी निको भएर घर फर्किदा मिल्ने खुसी प्रत्यक्ष देख्न भने कम नै पाइन्।
‘आफूले केयर गरेको बिरामी निको भएर घर फर्किदा खुसी लाग्छ नै। तर बिरामी डिस्चार्ज हुँदाको खुसीको पल मैले कम देख्न पाएँ,’ उनले भनिन्, ‘किनकी मैले केयर गरेका बिरामी सिसियुबाट नर्मल वार्डमा सारेर स्वास्थ्य अवस्था ठिक भएपछि पठाइन्छ, त्यहा अर्को नर्सिङ स्टाफ खटिनुहुन्थ्यो।’
आफूले १०–१२ दिनसम्म सिसियुमा केयर गरेका बिरामी पछि नर्मल वार्डबाट डिस्चार्ज भएको सुन्दा खुसी लाग्ने उनले सुनाइन्।
‘बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त हुँदै गएपछि सिसियुबाट अर्को वार्डमा सारिन्छ, त्यो बिरामी अर्को वार्डका नर्सिङ स्टाफलाई जिम्मा लगाउन जाँदा आफूले पहिला हेरेको बिरामीलाई पनि भेट्थें,’ उनले सुनाइन्, ‘उहाँहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न मन लाग्थ्यो, अनि आफूले हेरेको बिरामी डिस्चार्ज हुनुभयो वा भएन भनेर त्यहाँको डिपार्टको नर्सिङ साथीहरुलाई सोध्थें, डिस्चार्ज भएको थाहा पाएपछि खुसी लाग्थ्यो।’
इन्चार्ज भएपछि जिम्मेवारी अझै बढेको छ
नर्स ताम्राकार अहिले गंगालाल अस्पतालको आकस्मिक सेवा विभागको नर्सिङ इन्चार्जको रुपमा कार्यरत छिन्। अहिले उनी बिरामीको केयरमा मात्र होइन, सबै बिरामीलाई केयर गर्ने सबै नर्सिङ स्टाफहरुलाई काउन्सिलिङ गर्ने, जिम्मेवारीहरु दिने र उनीहरुको समस्या समाधानका लागि पहल गर्ने काम समेत गर्छिन्।
‘अहिले बिरामीको केयर गरेर मात्र पुग्दैन, सबै नर्सिङ स्टार्फको जनशक्तिको व्यवस्थापन पनि गर्नुपर्छ,’ उनले भनिन्, ‘इज्चार्ज भएपछि अझै जिम्मेवारी थपिएको छ।’
कसरी आइन् नर्सिङ क्षेत्रमा
भोजपुरमा २०४२ सालमा जन्मिएकी विनिता ताम्राकारले इटहरीको गोदावरी विद्या मन्दिरबाट २०५८ मा एसएलसी पास गरिन्।
एसएलसी पास भएपछि इटहरीकै एक कलेजमा म्यानेजमेन्ट पढ्न थालिसकेकी थिइन्। तर उनीसँगै पढेका साथीहरुले नर्सिङ अध्ययन गर्ने भनेर नर्सिङ अध्ययनको प्रवेश परीक्षाको फारम बोकेर ल्याए।
सबैले नर्सिङ पढ्ने भनेपछि उनको दिमागमा फ्लोरेन्स नाइटिंगेलको चित्र आयो। उनले सोचिन्, ‘पीडामा छटपटिरहेका बिरामीको केयर गरेर उनीहरुको सहारा बन्नु राम्रो काम हो।’
उनले पनि साथीहरुको लहलहैमा प्रवेश परीक्षाको फारम भरिन् र परीक्षा दिन काठमाडौं आइन्। साथीहरुले हौस्याएपछि नर्सिङ अध्ययनका लागि प्रवेश परीक्षा दिएकी ताम्राकारले मात्र प्रवेश परीक्षा पास गरिन्।
‘मेरो नर्सिङ पढ्ने सोच नै थिएन, म्याजेजमेन्ट पढ्न थालिसकेको थिएँ। साथीहरुले फारम ल्याएपछि भरें, परीक्षा दिएँ,’ ताम्राकारले भनिन्, ‘सायद नर्सिङ पढ्न लेखेको रहेछ, प्रवेश परीक्षामा अरु साथीहरुले नाम निकाल्न सकेनन्, मेरो नाम निस्कियो।’
प्रवेश परीक्षा पास भएपछि उनी भक्तपुरको श्रद्धा नर्सिङ क्याम्पसमा पिसिएल नर्सिङ अध्ययन गर्न भक्तपुर आइन्।
३ वर्षको पिसिएल नर्सिङ अध्ययन पूरा गरेपछि उनी विदेश जाने वा नेपालमै सेवा गर्ने दोधारमा परिन्। ताम्राकारका आमाबुबाले नेपालमै बसेर पनि नर्सिङ सेवालाई आफ्नो करिअर बनाउन सकिने सुझाव दिए। उनले नर्सिङ लाइसेन्स निकालेपछि काठमाडौंको पुरानो बानेश्वरमा रहेको भरोसा अस्पतालमा ८ महिना काम गरिन्।
परिवारको साथले यो क्षेत्रमा सक्रिय छु
नर्स ताम्राकारले नर्सिङ क्षेत्रमा करिअर सुरु गरेपछि २०६८ सालमा विवाह पनि गरिन्। अहिले उनको परिवारमा सासु–ससुरा श्रीमान् र छोरा छन्।
नर्स ताम्राकारलाई परिवारले उनको पेसामा सक्रिय रहन सधै प्रेरणा दिने गरेको उनी बताउँछिन्।
‘मेरो पहिलो प्राथमिकता बिरामीको केयर नै हो, मेरो परिवारले पनि मेरो कामलाई सपोर्ट गर्नुहुन्छ,’ उनले भनिन्, ‘परिवारको साथ र सहयोगले नै मैले आफ्नो कार्यक्षेत्रलाई निरन्तरता दिन पाइरहेको छु।’
मुटुरोगीकै सेवामा निरन्तरण रहने छु
नर्स ताम्राकार गंगालाल अस्पतालमा कार्यरत रहेको १४ वर्ष भइसकेको छ। सुरुमा नर्सिङ क्षेत्रमा सेवा गर्ने उद्देश्य मात्र लिएकी उनलाई अहिले मुटुरोगीको सेवामा खटिन मनपर्छ। मुटुका बिरामीको केयरमा खटिँदाखटिँदै उनको मुटुले पनि यही क्षेत्रलाई माया गर्न थालिसकेको छ। नर्स ताम्राकारले आफ्नो नर्सिङ क्षेत्रको यात्राभरि मुटुरोगकै बिरामीको केयरमा खटिने संकल्प समेत गरिसकेकी छिन्।
‘मुटुसँग मुटुको कनेक्सन हुन्छ भनिन्छ, मलाई पनि यो क्षेत्रमा काम गर्दागर्दै मुटुरोगीको मुटुसँग मेरो मुटु जोडिएको महसुस हुन्छ,’ नर्स ताम्राकारले हाँस्दै भनिन्, ‘यो क्षेत्र नै भिजिसकेको छु, बिरामीको मुटुकै केयर गरेर यो क्षेत्रबाट बिदा हुन्छु होला।’