काठमाडौं - सामान्यतया किशोरी अवस्थामा पुगेपछि महिलामा महिनावारी सुरु हुन्छ। शारीरिक परिवर्तन र विकासमध्ये महिनावारी पनि एक हो।
महिनावारी हुँदा तल्लो पेट दुख्नु सामान्य नै मानिन्छ। तर, सबै महिलामा पेट दुखाईको किसिम सामान्य खालको हुँदैन। कसैलाई त्यो पीडा असह्य किसिमको हुन्छ।
कुनै पनि महिला महिनावारी भएकै कारण उसको दैनिकीमा प्रभाव पार्छ भने त्यो दुखाई असामान्य खालको भएको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका सिनियर कन्सल्ट्यान्ट गाइनोकोलोजिस्ट डा कीर्तिपाल सुवेदीले बताए। दुखाईको कारण पत्ता लगाएर समयमै गरिएको उपचारले समस्या समाधान हुने उनको भनाइ छ।
महिनावारी हुँदा पेट किन दुख्छ? कारण के के छन्? कसरी बच्ने? लगायत विषयमा हामीले डा सुवेदीसँग कुराकानी गरेका छौं। डा सुवेदीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
महिनावारी हुँदा पेट किन दुख्छ?
– महिनावारी हुँदा पेट दुख्ने समस्या धेरैजसो महिलामा देखिने गरेको छ।
– महिनावारी हुँदा पेट दुख्नुको विशेषगरी दुई वटा कारणहरु हुन्छन्।
– केही महिलामा दुखाईको यकिन कारण पत्ता लगाउन सकिँदैन।
– शरीरमा भएको बनावट र खराबीका कारण, पाठेघरमा मासु तथा ट्युमर पलाउँदा पेट दुख्न सक्छ।
– कुन किसिमको दुखाई हो, त्यो समस्याको कारण पत्ता लगाएर उपचार गर्नुपर्छ।
महिनावारीमा हुने कस्तो खालको पेट दुखाई सामान्य र कस्तो असामान्य हो?
– कुनैपनि महिलालाई महिनावारी भएकै कारणले दैनिक काम गर्न समस्या भयो भने असामान्य पेट दुखाई भनेर बुझ्न सकिन्छ।
– सामान्य खालको पेट दुखाई प्रायःजसो सबै महिलालाई हुने गर्छ।
महिनावारीमा हुने पेट दुखाई कम गर्न विभिन्न किसिमका औषधिको सेवन गर्ने चलन पनि छ। यो कत्तिको ठिक हो?
– कुन औषधि कति मात्रामा खाँदैछौं भन्ने कुराले पनि धेरै फरक पार्छ।
– मिर्गौलालाई असर गर्ने खालको ‘पेन किलर’ कम प्रयोग गर्न हामी सल्लाह दिन्छौं।
– महिनवारी हुँदा धेरै नै पेट दुख्छ भने औषधि खाएर बस्नु भन्दा पनि चिकित्सकको परामर्शमा जानुपर्छ।
यस किसिमले आफूखुशी औषधिको सेवन गरिरहँदा भविष्यमा कस्तो खालको समस्या निम्त्याउन सक्छ?
– दुखाई कम गर्न सेवन गरिने पेन किलरले शरीरमा धेरै नै असर गर्छ।
– कुन पेन किलर, के कुराको लागि, कति मात्रामा खाने भन्नेमा भर पर्छ।
– आफूखुशी सेवन गरिने औषधिले गम्भीर खालको ग्याष्ट्रिकदेखि अल्सर हुन सक्छ भने मिर्गौला फेल हुने सम्भावना हुन्छ।
महिनावारीमा हुने पेट दुखाई कम गर्न कस्तो किसिमको खानपान र व्यवहार हुनुपर्छ? खानपान महिनावारीमा हुने पेट दुखाईसँग कत्तिको सम्बन्धित विषय हो?
– खानपानले यसमा खासै फरक पार्दैन।
– सबैभन्दा महत्वपूर्ण विषय भनेको महिनावारीमा हुने पेट दुखाई कस्तो किसिमको हो भन्ने बुझ्नुपर्छ।
– एकदम धेरै दुखाई भएको छ भने चिकित्सकको सल्लाह अनुसार औषधिको सेवन गर्न सकिन्छ।
– खानपान र रहन सहनमा परिवर्तन गर्दैमा दुखाई कम हुन्छ भन्ने हुँदैन।
अन्त्यमा यहाँको सुझाव के के छन्?
– महिनावारीबारे परिवारमा खुलेर कुरा गर्न आवश्यक छ।
– महिनावारीको दुखाई सामान्य हो या असामान्य भनेर छुट्याउन आवश्यक छ।
– चिकित्सकको सल्लाह अनुसार समस्याको पहिचान गरी उपचारमा जानु नै सबैभन्दा उत्तम विकल्प हो।